सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
सहिद सप्ताह

गृह मन्त्रालयको तथ्याङ्कमा १४ हजार ६०८ सहिद

बुधबार, २१ फागुन २०८१, २१ : ००
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित झापा, सुखानी आन्दोलनका सहिदहरूको सम्झनामा माओवादी घटकहरूले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएका छन् । सरकारीस्तरमा भने माघ १६ मा सहिद दिवस मनाउने गरिएको छ ।

२०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि सोही वर्ष फागुन १४ गते प्रहरीले गोरखा पन्द्रङ्‍गका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । प्रहरीले गिरफ्तार गरेका आफ्ना शिक्षकलाई छुटाउन रम्तेल धर्नामा सहभागी भएका थिए ।

जनयुद्ध घोषणापछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको भन्दै माओवादीले रम्तेललाई प्रथम सहिद घोषणा गरेको थियो ।

प्रथम सहिद रम्तेलसँगै जनयुद्ध, जनक्रान्तिका सम्पूर्ण सहिद र सुखानीका सहिदहरूको सम्झनामा माओवादीले सहिद सप्ताह मनाउँदै आएको छ । यस अवसरमा हरेक वर्ष माओवादीले फागुन १४ देखि २१ गतेसम्म सहिद परिवार, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरूलाई सम्मानलगायतका कार्यक्रम गर्दै आएको छ ।

यो वर्ष बाँके, बर्दियालगायतका विभिन्न जिल्लामा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटवार्ता र कुराकानी गरेका थिए ।

  • कति छन् सहिद ?

गृह मन्त्रालयका अनुसार पछिल्लो पटक समेत थपिएका गरी सहिदको संख्या १४ हजार ६०८ जना छ । त्यसमा नेपाल नेपाल प्रहरीका एक हजार ४४८, नेपाली सेनाका एक हजार १८, राष्ट्रिय अनुसन्धानका २३ जना दिवंगत कर्मचारी सहिदको सूचीमा छन् । उनीहरूलाई सरकारले २०७५ माघ १० गते सहिद घोषणा गरेको थियो । 

c6eca2d5-bf80-4617-b09d-98619fa1007b

त्यस्तै २०७२ फागुन १९ गते घोषणा गरी सोही वर्षको चैत ३० गते राजपत्रमा प्रकाशित सहिद २२ जना, विभिन्न घटनामा परेका दुई जनालाई २०७७ चैत २३ गते सरकारले सहिद घोषणा गरी सोही महिनाको ३० गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

त्यसअघि सुरक्षा निकायका छुट सहिद भन्दै सरकारले २०७६ असार ३ गते ८७ जनाको नाम सहिदको सूचीमा राखेको घोषणा गर्दै २०७६ साउन २० मा उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको थियो ।

त्यसअघि २०६५ पुस ९ र २०६७ असार ९ मा जनआन्दोलनका क्रममा मृत्यु भएकाहरू ८ हजार ४७१ जनालाई सहिद घोषणा गरिएको थियो । उनीहरूको नाम २०७९ फागुन २९ मा राजपत्रमा प्रकाशित भएको थियो ।

पछिल्लो पटक भने सरकारले २०८० पुस २४ मा जनआन्दोलनसहित घटनाका २ हजार ६७४ जनालाई सहिद घोषणा गरी २०८० फागुन २४ मा उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको थियो ।

त्यसबाहेक विभिन्न समयमा मन्त्रिपरिषदबाट निर्णय भएका तर राजपत्रमा प्रकाशित नभएका ५८८ जनालाई समेत गृह मन्त्रालयले सहिदको सूचीमा राखेको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले १४ हजार ६०८ जना सहिद रेकर्डमा रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप