गाउँको अन्तिम चित्र

आउ न कवि भाइ, बस ।
तातो–चिसो?
होस् नलिएकै राम्रो ।
बरु भन के उज्यालो देख्यौ यो निरस पाखोमा ?
यी ढल्न आँटेका जगमा कुन शक्ति देख्यौ ?
चार हरिया पात हल्लिँदैमा
गाउँ शान्त हुन्छ र ?
के सुन्दर देख्यौ भन न
खहरेको गीत ? यसैले त हो खेतबारी बगाउने
बगाओस् बरु ! अब त खोस्रने ताकत पनि छैन पाखुरामा
त्यो डाँडो ? त्यही त हो रातभरि ढुङ्गा हान्ने छानामा
गुहुमुत पनि गन्हायो होला है तिमीलाई ?
घस्रने तडा छैनन् ज्यानमा
राष्ट्रिय सरकार, प्रचण्ड, ओली, देउवा, आरजु, भ्रष्टाचार...
रेडियो पनि के–के गलफत्ती गरिबस्छ !
भुँडी बाउँडिन्छ
आन्द्रै चुँडिएर मुखबाट फुत्त निस्किन्छ कि !
वाक्वाकी लाग्छ ।
कोही छैन कवि भाइ,
केही छैन ।
पानी ओसार्दा ओसार्दै
खोलै सुक्यो, ज्यानै गुमाई जहानले
पोहोरसम्म यही आँगनमा खेल्थी नातिनी
आँखैमा रिँगिराख्छे अझै
बर्खा लाग्यो कि उँभै रहन्छन् यी आँखा
बालख छोरीसितै आत्महत्या गरिन विधवाले
देश छाड्नेहरू आँगनमा थुकेर हिँडे
निधारमा घाउ बोकेर बाँचेको अश्वत्थामा जस्तो
धेरै भयो यो गाउँ बोकेर बाँचेको मै पनि
भोकै मर्छु, प्यासै मर्छु
लाग्छ — यो देशमा म रगत छाँदेर मर्छु ।
रुखबाट हाम फालूँ कि !
भीरबाटै कुदुँ ?
काइँ बाँचिजान्या हुँ कि लाग्दो ।
मेरा यी आँसुको पनि कविता हुन्छ र कवि भाइ ?
कि पानी मात्रै हो तिम्रो कविता ?
यी मक्किएका हाडका पनि कविता हुन्छन् कि ?
कि माटो मात्रै हो तिम्रो कविता ?
पर्ख न कवि भाइ,
केही दिन यतै बस न
आइफोनमा गाउँका तस्बिर खिचेर
कहाँ हिँड्न आँट्यौँ हतारहतार ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न