गंगालालमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।
‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौँ,’ कार्यकारी निर्देशक मल्लले भने । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्षको वर्ष पुस महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ ।’
सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरूसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिम्मेवारीसमेत तोकेको छ ।
‘स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य सुरु गरेका छौँ ।’
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण