सर्लाहीमा दलित – गैरदलितको सहकार्यमा सीताराम महायज्ञ
- सरोज यादव
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२ स्थित बबरगन्ज पर्ती बजारमा जातीय समावेशिताको अनुपम उदाहरण प्रस्तुत गर्दै दलित र गैरदलित समुदायले संयुक्त रूपमा ‘सीताराम महायज्ञ’ आयोजना गरेका छन् । सामाजिक समरसताको यो प्रयास धार्मिक आस्थाभित्र एकताको गहिरो सन्देश बोकेर अघि बढिरहेको छ ।
सवरी कुटी हनुमान मन्दिर परिसरमा सञ्चालन भइरहेको महायज्ञमा सहभागी सबैलाई जातका नाममा कुनै अवरोध छैन । होमका क्रममा चरु हाल्ने कार्यमा मुसहर जस्ता परम्परागत रूपमा पछाडि पारिएका दलित समुदायका व्यक्तिहरू सक्रिय रूपमा सहभागी छन् ।

महायज्ञको नेतृत्व पासवान समुदायका मनोज पासवानले गरिरहेका छन् भने आयोजनाको संरचना नै समावेशी छ—१० जना दलित र ५ जना गैरदलित सदस्य मिलेर समिति निर्माण गरिएको छ । चरु हाल्ने जिम्मा दलित र गैरदलित दुवै समुदायका तीन–तीन जना व्यक्तिलाई दिइएको छ ।
महायज्ञमा सहभागी बिघु माझी, शिवजी माझी, चलित्तर दास, रामप्रताप महतो, रामवीर राय र रामनन्दन महतो जस्ता व्यक्तिहरूले जातीय भेदभावको अनुभूति नभएको बताएका छन् । “यहाँ सबै काम समान रूपमा बाँडिएको छ, म दलित हुँ भन्ने अनुभूति नै छैन,” बिघु माझीले सुनाए ।

महायज्ञ सञ्चालनका लागि स्थानीयको चन्दा र बैरागीहरूद्वारा सङ्कलित रकम समावेश गरिएको छ । कुल १ लाख ३० हजार रुपैयाँमा कार्यक्रम सञ्चालन भइरहेको हो । यज्ञ स्थलमा रामायण पाठ गरिरहेका मिश्रीलाल साहले जातीय भेदभावको सोच मेटाउने उद्देश्यले यस्तो यज्ञले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार दलित साधुसन्तको अगुवाइमा महायज्ञ सञ्चालनमा छ । स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, र जनसमुदायको संयुक्त सहमतिमा आयोजक समिति गठन गरिएको हो । गाउँपालिकाले कार्यपालिका बैठकमार्फत ३१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

अध्यक्ष महतोका अनुसार चन्द्रनगर गाउँपालिका मधेस प्रदेशमै पहिलो पटक दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्ने पालिका भएकोले यस्ता सामाजिक गतिविधिहरूले नीति र व्यवहार दुबैमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
चैत २० गतेदेखि सुरु भएको महायज्ञ चैत २९ गतेसम्म सञ्चालन हुने छ । महायज्ञले जातीय सद्भाव, धार्मिक आस्था र सामाजिक एकतालाई एकैथलोमा जोडेर सन्देशमूलक अभ्यास प्रस्तुत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण