आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने

बुधबार, १० वैशाख २०८२, १८ : ४३
बुधबार, १० वैशाख २०८२

हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधान र संघीयता कार्यान्वयनमा बाधा भइहरेको बताएका छन् । उनले संघीय संरचनामा संविधानमा व्यवस्था भएबमोजिम अधिकारको प्रत्यायोजन हुन नसक्दा समस्या भएको बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको महिला प्रहरी ब्यारेक भवनको बुधबार उद्घाटन गर्दै मन्त्री लामिछानेले संघीय सरकारले प्रहरी ऐन नबनाउँदा शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रहरीको सम्बन्धमा द्विविधा रहेको बताए । प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति, रणनीति, योजना स्पष्ट रुपमा पारिभाषित हुनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार संघीयताको सफल कार्यान्वयन र नागरिकहरूको गुणस्तरीय सेवा प्रवाहका लागि पनि प्रदेश प्रहरीको सम्बन्धमा सबै गम्भीर हुनुपर्छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशिलता र सेवा प्रवाहमा कमी गर्न नहुने उनले बताए । सोहीअअनुसार प्रदेश सरकारले लगानी गरिरहेको उनले दाबी गरे ।

मकवानपुरको हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको यस अस्पतालका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ । हालसम्म प्रदेश सरकारले प्रहरीको भौतिक पूर्वाधार निर्माणमा ३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ लगानी गरिसकेको उनले बताए । 

उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी भवन निर्माणका लागि १० करोड ४४ लाख रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप ३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महिला प्रहरी आवास सुविधाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा १ करोड ९५ लाख ७३ हजार रुपैयाँ लागतमा महिला ब्यारेक भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । व्यारेक भवन निमार्णका लागि २०८० असोज ८ गते रौतहटको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुरबिच निर्माण सम्झौता भई काम थालिएको उनले बताए ।

५०४ वर्गमिटर क्षेत्रफलको तीनतले नवनिर्मित ब्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीले आवासीय सुविधा रहने उनले बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा गरी मकवानपुरमा ९४ जना महिला प्रहरी कर्मचारी कार्यरत रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप