बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

आइतबार, २८ वैशाख २०८२, १६ : ४९
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

गीत हालै सार्वजनिक भएपनि नेपथ्यलाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । 

शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो । विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका  हुन् । 

पुरानो नेपाली चलचित्र ‘माइतीघर’ मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् ।

अमृतका अनुसार ‘भेडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । ‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबिच सन् २००८ मा एक पटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।’

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरै पटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे ।

अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए ।‘टप्पा’का सीमितताले गर्दा ती लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।

गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए ।‘कर्णालीमै आधारित नेपथ्यको सिर्जना ‘सा कर्णाली’ दुई दशकअघि भूषण दाहालकै शिल्पले सजाएको थियो,’ उनले भने, ‘यसलाई पनि उनले नै न्याय गर्न सक्ने हाम्रो विश्वास थियो । हालै त्यस भेगको यात्रा गरेर म्युजिक भिडियो तयार पारिएको छ ।’

नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन् । यस पटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे ।

समारोहमा शनिबार प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ । गीत हेर्न चाहने दर्शकले नेपथ्यको वेबसाइट जानुपर्ने हुन्छ । त्यहाँ यस गीतका लागि लिङ्क दिइएको छ, जसलाई थिचेपछि सोझै ‘गेटवे’ मा पुगिन्छ ।

त्यसमा बैङ्कको विवरण वा कुनै पनि ‘पे वालेट’ प्रयोग गरेर अर्डर गर्न सकिन्छ । पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप