सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘गर या मर’ को अवस्थामा राहत शिक्षक

सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने

आइतबार, २८ वैशाख २०८२, १६ : ३४
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । राहत शिक्षकहरूले सम्झौता अनुसारको माग मुद्दाहरू समावेश भएर विद्यालय शिक्षा ऐन जारी नभएको खण्डमा कडा आन्दोलनको चेतावनी दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले विगतमा आफ्नो पेसागत स्थायित्वका लागि गरिएको सम्झौता अनुसार शिक्षा ऐन जारी नगरेको खण्डमा गर या मर को आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

केन्द्रीय समितिको बैठकले शिक्षा उपसमितिले आफ्ना माग सम्बोधन नगरेमा शिक्षक महासङ्घले निर्णायक आन्दोलनको घोषणा गर्नेमा विश्वस्त रहेको जनाएको छ । 

त्यस्तो नगरेको खण्डमा राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा ‘गर वा मर’ को आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । सम्भावित घटनाक्रमलाई ध्यानमा राखी सबै पालिका समिति, जिल्ला समिति र प्रदेश समितिले छलफल गरी सबैलाई हरेक हिसाबले उच्च तयारीमा राख्ने निर्णय गरेको हो । 

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २९ दिन लामो सडक आन्दोलन चलेको थियो । गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म सडक आन्दोलन तथा शैक्षिक हड्ताल गरेका थिए । वैशाख १७ गते शिक्षा मन्त्रालय र महासङ्घबिच ९ बुँदे सहमति हुनुका साथै असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता भएको थियो । 

आफूसँग गरिएको सहमति अनुसार ऐन जारी नहुने सम्भावना देखिएको भन्दै महासङ्घले समेत सरकारलाई आन्दोलनको चेतावनी दिएको छ । राहत शिक्षकहरूले भने महासङ्घले आन्दोलनको नेतृत्व नलिएको खण्डमा आफैँ ‘गर या मर’ को आन्दोलन गर्ने चेतावनी दिएको हो ।

विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकको स्थायी व्यवस्थापनको सन्दर्भमा तीव्र लबिङ गर्ने समेत निर्णय गरेको छ । शिक्षा उपसमितिले विगतमा भएका सहमति र सम्झौता अनुसार मागलाई सम्बोधन नगर्ने गरी प्रतिवेदन तयार गरेमा सशक्त आन्दोलनको घोषणा गर्न शिक्षक महासङ्घलाई आह्वान गर्ने समेत निर्णय गरेको हो । 

पेसाको हत्या हुन नदिन न्यायिक लडाइँको मोर्चामा सबै राहत शिक्षकलाई अनिवार्य उपस्थिति हुनुपर्ने परिस्थितिलाई ध्यानमा राखेर स्थानीय सरकार, सङ्घ सङ्गठनहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक, विद्यार्थी, प्रधानाध्यापक र समुदायसँग समेत बसेर आन्दोलनको आवश्यकता, औचित्य र परिणामले ल्याउने उपलब्धि र त्यसको प्रभावको विषयमा जानकारी गराउने समेत निर्णय गरेको हो । 

त्यस्तै आफ्नो पदीय र सांगठानिक जिम्मेवारी विपरीतको कार्य गरेको भन्दै ४ जनालाई जिम्मेवारीबाट समेत हटाएको छ । दाङ जिल्ला सह–अध्यक्ष विष्णु खत्री, केन्द्रीय सदस्य चन्द्रप्रकाश पाण्डेय, बागमती प्रदेश अध्यक्ष जीवन तिमिल्सिना  र बागमती प्रदेश सह–अध्यक्ष निरब ढकाललाई पदबाट हटाउने निर्णय गरेको हो ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप