बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?

बिहीबार, ११ वैशाख २०८२, १६ : १२
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शङ्कास्पद गतिविधि गरेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अघिल्ला प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुग्ने भनेर फिर्ता पठाएको नक्सा पासको फाइल गुरागाईँले हाजिर भएको दोस्रो दिनमै आधिकारिक प्रणाली प्रयोग नगरी सदर गरेको दाबी गरेका छन् । 

‘सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ? महानगरको अरु महत्त्वपूर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै ? केही त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला ।  नगर प्रमुख र कार्यपालिकासँग प्रत्यक्ष जोडिएको विषयमा पनि ३ महिनापछि अरू कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने ? यति विधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण ?’

शाहले यो विषयमा कदम चालेर आफूले महानगरलाई १ अर्ब भन्दा ठुलो क्षति हुनबाट जोगाउन खोजेको दाबी गरेका छन् । 

उनले विवादमा तानिएको हिल्टनको नक्सा पास पनि गुरागाईँले नै उही दिन गरेको र यसमा पनि सचिवालयले अध्ययन गरिरहेको बताएका छन् । 

‘यसबाहेक थाहा नभएका कति गल्ती गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला । ....गल्ती गर्ने कसैलाई पनि छुट छैन महानगरमा’, शाहको भनाइ छ । 

उनले लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाज भएर मनाउन पाइयोस् भन्दै कटाक्ष समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप