कोशी प्रदेश लगानी सम्मेलन सुरु

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र सङ्घीय वारेस बनेर सहजीकरण गर्ने बताए ।
उनले कोशी प्रदेश लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको दाबी गरे । कोशी प्रदेश लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको उनले बताए ।