मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ

मङ्गलबार, ०९ असार २०८३, १७ : ०५
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार रहेकी सविता कार्कीलाई पक्राउ गरेको छ ।
  • कार्कीले चारित्रिक विल्डर्स प्रा.लि. दर्ता गरी बनावटी कागजातहरू तयार पारेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यवसाय र परियोजना खडा गरेकी थिइन् ।
  • साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते कार्कीलाई ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा विगत १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने तत्कालीन 'चारित्रिक विल्डर्स प्रा.लि.' की सञ्चालक सविता कार्की रहेकी छिन् । सीआईबीको विशेष टोलीले उनलाई मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले आफ्नो नाममा चारित्रिक विल्डर्स प्रा.लि. दर्ता गरी बनावटी कागजातहरू तयार पारेकी थिइन् । उनले क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यवसाय र परियोजना खडा गरेकी थिइन् ।

सोही परियोजनाका आधारमा कर्जा निकासा गर्न सफल भएकी उनले उक्त रकम सम्बन्धित परियोजनामा लगानी नगरी कर्जाको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल राष्ट्र बैंकको जाहेरीले नेपाल सरकार वादी भएको यस बैंकिङ कसूर मुद्दामा कार्की दोषी ठहर भएकी हुन् ।

साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते नै कार्कीलाई ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन् । पक्राउ परेकी कार्कीलाई आइतबार नै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप