भारत–पाकिस्तान ‘तनाव’ कम गर्न नेपालले खेल्न सक्छ यस्तो भूमिका

काठमाडौँ । छिमेकी मुलुक भारत–पाकिस्तानबिच भइरहेको तनावलाई लिएर नेपालको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाले चासो र चिन्ता प्रकट गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले छिमेकी दुई देशबिचको द्वन्द्व र त्यसका नकारात्मक प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले आवश्यक सुरक्षा र सतर्कता अपनाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसदहरुको यस्तो चासोपछि सभामुख देवराज घिमिरेले चासोलाई सम्बोधन गर्न तथा भारत–पाकिस्तान तनावका कारण नेपालीको सुरक्षालगायतमा पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
‘भारत र पाकिस्तानबिच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, सभामुख घिमिरेले बैठकमा निर्देशन दिए ।
यसअघि सांसदहरू शिशिर खनाल, शेरबहादुर कुँवर र सरस्वती सुब्बा लगायतले भारत पाकिस्तान द्वन्द्वबाट नेपालमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सरकारलाई रुलिङ गर्न आग्रह गरेका थिए ।
‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको हैसियतले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्छ’, रास्वपा सांसद खनालको भनाइ छ । उनले परराष्ट्र मन्त्रालयले ढिलै भए पनि वक्तव्य निकालेर सार्वजनिक गरेको आतंकवादविरुद्धको अडानको स्वागत गर्दै थप भने, ‘भारत पाकिस्तानबिच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्नसक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्नसक्ने प्रभावको आकलन गरी योजना निर्माणको माग गर्दछु ।’
उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको भन्दै उद्धार सुरक्षाको पहल गर्न माग समेत गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत पाकिस्तान तनावले दक्षिण एसियामा अशान्तिको सङ्केत देखिएको भन्दै नेपाल कुनै पनि आतङ्कवाद र गतिविधिका विरुद्धमा रहेको बताए ।
‘भारत पाकिस्तान द्वन्द्वबाट आइपर्ने समस्याबाट हामीले सतर्कता अपनाउनुपर्छ’, कुँवरको भनाइ छ ।
सांसद सरस्वती सुब्बाले भारत पाकिस्तान तनावको असर दक्षिण एसियामा देखिन थालेको र नेपालमा थप प्रभाव पर्न सक्ने बताइन् ।
‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सिमाना,सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग संवाद गर्नुपर्छ’, सुब्बाको भनाइ छ ।
अर्का सांसद राजेन्द्र पाण्डेले भारत र पाकिस्तानबिच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेकोतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिँदै सार्क राष्ट्रको अध्यक्षको हैसियतले पनि भारत र पाकिस्तानबिच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताए ।
नेपालले खेल्न सक्छ भूमिका
पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल भारत पाकिस्तान तनाव अन्त्य गर्न प्रत्यक्ष रूपमा संलग्न हुने नेपालको अवस्था कम भए पनि कूटनीतिक माध्यमबाट वार्ताबाट समस्याको समाधान खोजौँ भन्न सक्नुपर्ने बताउँछिन् ।
‘हामी प्रत्यक्ष रूपमा संलग्न हुनसक्ने अवस्था कमै देखिन्छ । यद्यपि छिमेकी मुलुकमा द्वन्द्व हुनुहुँदैन । यसको कूटनीतिक तवरले नै समाधान खोजिनुपर्छ भनेर भन्न सक्नुपर्छ’, उनले रातोपाटीसँग भनिन्, ‘हामी सार्क राष्ट्रको अध्यक्ष भएको हैसियतले पनि कम्तीमा सार्क राष्ट्रहरूमा हामीले वार्तामार्फत समस्या समाधान गरौँ, बरु हामीले सक्ने सहयोग गर्न तयार छौ भन्नुपर्छ ।’
परराष्ट्र विज्ञ विजयकान्त कर्ण नेपालले शान्तिको सन्देश दिन सक्नुपर्ने बताउँछन् ।
‘दक्षिण एसियाका यी दुई देश बिचमा भिडन्त लम्बिँदै गयो भने त्यसको असर नेपालमा पर्छ । पहलगामको घटनापछिको स्थिति ठिक छैन’, कर्णले भने, ‘जुन ढंगले गतिविधिहरू भइरहेका छन् त्यसले शान्तिको अवस्था समाप्त भएको छ, अवस्था भिडन्ततिर गइरहेको छ । यो अवस्थामा नेपालले शान्तिको सन्देश दिन सक्नुपर्छ ।’
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले दुई देशबिचको द्वन्द्व मिलाउन नेपालले नै मध्यस्थता गर्ने वा भूमिका खेल्नुपर्छ भन्ने आशा भए पनि हामी व्यवहारिक हुनुपर्ने तर्क गर्छन् ।
‘द्वन्द्व रोक्न मध्यस्थता वा प्रमुख भूमिका नै खेले हुन्थ्यो नेपालले भनेर सोच्नु नराम्रो होइन’, आचार्यले रातोपाटीसँग भने, ‘तर हामीले आफ्नो सरोकार र भूमिका निर्वाह गर्नुपर्छ ।’
त्यसका लागि नेपालले आफ्नो चासो र सरोकार व्यक्त गर्दै कूटनीतिक माध्यमबाट दुवै देशसँग सम्पर्क स्थापित गर्न सक्नुपर्ने बताए ।
‘भारत पाकिस्तानलाई चाहिने र ठुलो सम्बन्ध भएका ठुलाबडा देशहरूले पनि भनिरहेका छन् कि द्वन्द्व नचर्काओ, युद्ध र तनावलाई कम गर्दै जाओ भनिरहेकै छन्’, उनले भने, ‘सबैको प्रयासमा हाम्रो प्रयास पनि जोडाउनुपर्छ ।’
क्षेत्रीय तनावको अवस्थामा नेपालले पहिला आफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्ने आचार्यको सुझाव छ । ‘देश र आफ्ना नागरिकको हित पहिला हेर्नुपर्छ । व्यापारमा कति असर पर्छ, आपूर्ति र सीमालगायतलाई हेर्नुपर्छ’, आचार्यले समस्या कम गर्न आफ्नो चासो उनीहरूलाई भन्नुपर्ने बताए । पहलगाममा नेपाली नै मरिएको भन्दै त्यसबाहेक अन्तर्राष्ट्रिय उडान लगायतमा असर पर्न थालिसकेकाले सतर्क भएर आफ्नो सरोकार व्यक्त गर्नुपर्ने आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गरिँदैछ सलमानलाई बहिस्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?