बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
खेलकुद

सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो

आइतबार, २८ वैशाख २०८२, १२ : ४५
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । इङ्ल्यान्ड फुटबल संघ (एफए) ले महिला फुटबल प्रतियोगितामा ट्रान्सजेन्डर खेलाडीले सहभागिता जनाउन नपाउने निर्णय गरेको छ । आगामी जुन १ तारिखदेखि कुनै पनि ट्रान्सजेन्डर खेलाडीले महिला फुटबल प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

त्यसअघि महिला फुटबल प्रतियोगितामा ट्रान्सजेन्डर खेलाडीले पनि भाग लिन पाउँथे । एफएको पछिल्लो निर्णयलाई लिएर इङ्ल्यान्डको फुटबलमा मिश्रित प्रतिक्रिया आएका छन् । केही फुटबल विश्लेषक यो निर्णय सही भएको बताउँछन् ।  केही फुटबल विश्लेषकले भने एफएको यो निर्णयको आलोचना पनि गरेका छन् । तर, इङ्ल्यान्डकी एक युवा फुटबल खेलाडीले भने एफएको निर्णय उपयुक्त भएको धारणा राख्दै केही समयअघि आफूले भोग्नु परेको पिडादायी क्षणको स्मरण गरेकी छन् । 

१७ वर्षीया युवा फुटबल खेलाडी सेरिस भानले ट्रान्सजेन्डर खेलाडीकै कारण आफ्नो खेलजीवन बर्बाद भएको बताएकी छन् । उनी भन्छिन्, ‘मेरो दोष यतिमात्र थियो कि मैले एक प्रतियोगिताका क्रममा उनलाई सोधेकी थिएँ, के तिमी पुरुष हौ । त्यही एउटा प्रश्नले मेरो खेलजीवन बर्बाद भयो ।’

एक खेलका क्रममा सेरिसले आफ्नो प्रतिद्वन्द्वी टोलीकी एक खेलाडीलाई ‘के तिमी पुरुष हौ ?’ भनेर प्रश्न गरेकी थिइन् । त्यसपछि यो विषयले यति उग्र रुप लियो कि, एफएले सेरिसमाथि ६ महिना लामो प्रतिबन्ध नै लगायो ।  खासमा सेरिसले जसलाई प्रश्न गरेकी थिइन, ती ट्रान्सजेन्डर खेलाडी थिइन् । घटना सन् २०२४ को जुलाईको हो । घरेलु प्रतियोगिताहरुमा सेरिसले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । छिट्टै नै उनले राष्ट्रिय टोलीबाट खेल्ने सपना बोकेकी थिइन् । 

त्यो घटना हुँदा सेरिस लंकाशायरमा स्थानीय एक टोलीबाट खेलिरहेकी थिइन् । खेल सुरु हुनुअघि उनले विपक्षीको टोलीमा ठ्याक्कै पुरुषको अनुहारसँग मिल्ने एक खेलाडी देखिन् । त्यसपछि ती खेलाडीलाई उनले प्रश्न गरेकी थिइन, ‘के तिमी पुरुष हो ?’ ‘मलाई लाग्यो उनी पुरुष खेलाडी हुन् । विपक्षी टोलीले महिला र पुरुषको संयुक्त टोली मैदानमा उतारेजस्तै लाग्यो । म आफ्नो सुरक्षाको बारेमा पनि सचेत थिएँ । तर, त्यही एउटा प्रश्नले मेरो खेलजीवन मै तहसनहस पारिदियो,’ सेरिस भन्छिन् । 

सेरिसले यस विषयमा म्याच रेफ्रीसँग गुनासो गरेकी थिइन् । ‘मैले प्रश्न उठाएपछि विपक्षी टोलीकी कप्तानले आएर मलाई उनी ट्रान्सजेन्डर खेलाडी भएको बताइन् । त्यसपछि उनले मलाई रेफ्रीसामु प्रश्न उठाएकोमो चेतावनी पनि दिइन्,’ सेरिसले करिब एक वर्षअघिको त्यो घटना सम्झिइन् । 

त्यसपछि सेरिसको विषयमा एफएमा उजुरी प¥यो । सामान्य छानबिनपछि एफएले उनीमाथि ६ महिनाको प्रतिबन्ध लगायो । ‘मविरुद्ध लागेको आरोपमा एक वर्षसम्म अनुशन्धान भयो । न्यायालयमा मुद्दा पनि चल्यो । यसबिचमा मैले ठुलो मानसिक यातना भोग्नुपर्यो । प्रतिबन्धका कारण मैले प्रतियोगिता पनि खेल्न पाइँन । देशका लागि खेल्ने मेरो सपना क्षणभरमै भताभुङ्ग भयो,’ उनी भन्छिन् । 

अहिले आएर न्यायालयको हस्तक्षेपपछि एफएले महिलाको प्रतियोगितामा ट्रान्सजेन्डर खेलाडीले सहभागिता जनाउन नपाउने निर्णय गरेको छ । ‘यो निर्णयले राहत त दियो तर, मेरो खेलजीवनमा समाप्त पारिसकेपछि, मलाई डिप्रेसनमा पुर्याएपछि,’ सेरिस भन्छिन् ।

सेरिसले अपार्याप्त र गलत सूचनाका आधारमा कारवाही गर्ने एफएले आफूसँग माफी माग्नुपर्ने धारणा पनि व्यक्त गरेकी छन् ।  ‘अहिलेआएर एफए आफैले ट्रान्सजेन्डर खेलाडीलाई महिलाको प्रतियोगितामा सहभागी हुनबाट रोक लगाएको छ । एफएको यो निर्णयले मेरो भत्किएको सपनालाई जोडन सक्दैन । त्यसैले यसका लागि एफएले मसँग माफी माग्नु पर्छ,’ उनी भन्छिन् । 

वर्षौँदेखि एफएले ट्रान्सजेन्डर (पुरुषबाट महिला बनेका व्यक्ति) लाई महिला प्रतियोगिता खेल्ने अनुमति दिँदै आएको थियो । तर, यसका लागि ट्रान्सजेन्डर खेलाडीको टेस्टोस्टेरोनको स्तर भने कम हुनु आवश्यक थियो । यो विषय सधैं विवादित बन्दै आएको थियो । 
तर, यसै महिनाको प्रारम्भमा सर्वोच्च न्यायालयले महिलाको कानुनी परिभाषा जैविक लिङमा आधारित भएको फैसला सुनाएपछि एफए पनि आफ्नो निर्णय सच्याउन बाध्य भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप