बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
ब्याजदर

निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?

७ खर्ब ८५ अर्ब निक्षेपमा बैंकले दिँदैनन् ब्याज
सोमबार, २९ वैशाख २०८२, १३ : २२
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फत् सो बराबरको रकम संकलन भएका हुन् । यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले औसत ब्याजदर ३.३९ प्रतिशत ब्याज दिँदै आएका छन् । 

त्यस्तै, यो अवधिमा मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यसमा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । अहिले तीन महिनाभन्दा कम अवधिको मुद्दती खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दतीमा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । यो खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् । 

त्यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यो निक्षेपको  औसत ब्याजदर ४.६८ प्रतिशत रहेको देखिन्छ । एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ । यसमा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ । २ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ७ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यस्तो मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ । 

त्यस्तै, ब्याज पाउने संस्थागत बचत खाताको रूपमा रहेको कल डिपोजिटमा ४ खर्ब २ अर्ब ८१ करोड निक्षेप छ । यो खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा कुल निक्षेपको १० प्रतिशत भन्दा धेरै राख्न नपाउने र यस्तो ब्याज साधारण बचत खाताको न्यूनतम ब्याजदरको आधाभन्दा धेरै हुन नहुने भएकोले यसमा कम ब्याज देखिएको हो । ब्याज पाउने प्रकृतिको खातामा १ अर्ब ८६ करोड निक्षेप छ, त्यसमा २.३४ प्रतिशत ब्याजदर रहेको छ । 

यीबाहेक नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट ३ खर्ब ९२ अर्ब ६५ करोड, चल्ती खातामा ३ खर्ब ५० अर्ब ८५ करोड, मार्जिन खातामा ४१ अर्ब ७ करोड र ब्याज नपाइने अन्य खातामा ७२ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस अनुसार बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८५ अर्ब रुपैयाँ बराबरका निक्षेपमा कुनै पनि ब्याजदर प्रदान नगर्ने गरेको देखिएको छ । यो झन्डै कुल निक्षेपको १३ प्रतिशत हो । 

  • यसरी घट्दैछ औसत ब्याजदर 

चैत मसान्तसम्मको औसत तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने ब्याजदरको औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ । यस्तो लागत पछिल्लो वर्ष निरन्तर घट्दै गएको देखिन्छ । फागुन महिनामा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ । 

यसअघि २०७९ पुसमा यस्तो औसत लागत ८.५१ प्रतिशत थियो । त्यो समयमा ३ महिना अवधिको मुद्दती खाताको ब्याजदर नै ११.४३ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप