भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पाकिस्तानबिचको तनावमा हात हालाहालको स्थिति अघि बढ्न हुँदैन भनेर आफूहरूले पनि भनेको बताएका छन् । साथै उनले सम्भावित लडाइँबाट दुवै देश पन्छिएकोमा धन्यवाद दिएका छन् ।
दुई देशबिच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका लागि बुद्धका उपदेशहरू आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको हात हालाहाल त भएको थियो, तर त्यो हात हालाहाल बढ्न पाएन’, प्रधानमन्त्रीले भने, ‘संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’
प्रधानमन्त्रीले आफूहरूले सुरुदेखि नै हात हालाहालको स्थिति विस्तार हुनुहुँदैन भनेर भनेको पनि बताए । ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ’, प्रधानमन्त्रीले भने, ‘उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रधानमन्त्रीले बुद्धको शान्तिको सन्देशको अर्थ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?