बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालमा फिनटेन

किन आइरहन्छ भुक्तानी प्रणालीमा बारम्बार समस्या ?

मङ्गलबार, ३० वैशाख २०८२, १० : ३१
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । दुई साताअघि नबिल बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा समस्या देखियो । बैंकको एन–बैंक एपमार्फत हुने भुक्तानी अवरुद्ध हुँदा २/३ दिनसम्म मोबाइल बैंकिङ नियमित हुन सकेन । 

सुरुका दिनमा छोटो–छोटो अवधिका लागि सेवा अवरुद्ध हुने देखिएको समस्या गत सोमबार भने निरन्तर १६ घण्टासम्म सेवा अवरुद्ध भएको थियो । एप्लिकेसनमार्फत हुने कारोबार रोकिएपछि सामाजिक सञ्जालमा बैंकको निकै आलोचना भएको थियो । 

यो समस्यालाई बैंकले ‘एउटा अनपेक्षित घटना’ भनेको छ । एक्लिकेसनमा समस्या देखिएलगत्तै सबै टिम परिचालन गरेर समाधानको प्रयास भए पनि यसका लागि समय लागेको बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा बताउँछन् । ‘समस्या समाधान भए पनि यो के कारणले भएको थियो भन्ने यकिन कारण खुल्न बाँकी छ,’ उनले भने । 

केही समयअघि फोनपेको सिस्टममा पनि यस्तै समस्या आएको थियो । सो सिस्टममा समस्या आउँदा उक्त नेटवर्कसँग आबद्ध बैंक तथा वित्तीय संस्थाको तथा उक्त सेवा सञ्चालकसँग आबद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल एप्लिकेसनबाट हुने कारोबार रोकिएको थियो । पछिल्लो समय ईसेवाको सिस्टममा पनि यस्तै समस्या देखिएको थियो । 

उल्लिखित दुई घटना पछिल्लो समय भुक्तानी प्रणालीमा देखिएका समस्याका उदाहरण हुन् । यीबाहेक अन्य बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवाप्रदायकको सिस्टम वेलावेलामा अवरुद्ध हुँदै आएको छ । 

खासगरी सिस्टम अपडेट तथा अपग्रेड गर्दा बैंकहरूले पूर्वसूचना दिएरै सिस्टम ‘सटडाउन’ गर्ने बताउने गरेका छन् । प्राविधिक समस्या देखिँदा भने सूचना दिएर सिस्टम डाउन भएका उदाहरणहरू छन् । 

प्राविधिक सेवामा समस्या आउनसक्ने विषयलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले कस्तो अवस्थामा ग्राहकलाई कसरी जानकारी गराउने भन्ने सम्बन्धमा व्यवस्था गरेको छ । 

नेपालमा इन्टरनेटकै कारण भुक्तानीमा सबैभन्दा ठुलो समस्या यही नै हो । इन्टरनेट सेवामा भएको गुणस्तरको कमीका कारण कारोबारमा यस्ता समस्या आउने गरेका छन् ।

जसअनुसार २ घण्टाभन्दा कम समयसम्म सिस्टम अवरुद्ध हुनुलाई सामान्य रूपमा लिनुपर्ने र त्योभन्दा धेरै समय बन्द हुनुलाई भने राष्ट्र बैंक र ग्राहकलाई उपयुक्त माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डित बताउँछन् । 

सिस्टम अपडेट गर्दा सकेसम्म पिक टाइममा नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको र यसलाई सेवाप्रदायकले समेत सकभर पालना गरिरहेको कार्यकारी निर्देशक पण्डितको भनाइ छ । 

  • भुक्तानी प्रणालीमा समस्या आउनुको कारण 

सूचना प्रविधि (आईटी) तथा फिनटेक क्षेत्रसम्बद्ध विज्ञहरू नेपालमा भुक्तानी प्रणालीमा समस्या आउनुमा मुख्यतः  दुई वटा कारण देख्छन् । इन्टरनेट नेटवर्कमा नेपालको परनिर्भरता र भुक्तानी प्रणालीमा फरक–फरक माध्यमको कनेक्सन नै मुख्य समस्या भएको उनीहरू बताउँछन् । 

नेपाल अहिले पनि इन्टरनेटमा पूर्ण रूपमा परनिर्भर छ । त्यतिमात्रै होइन, नेपालमा आउने सबै इन्टरनेटको एकल बिक्रेता भारत हो । भारतीय दुई कम्पनीहरू टाटा र एयरटेलबाट नेपालमा सबै इन्टरनेट ब्यान्डविथ आउने गरेको छ । यो माध्यम बन्द भएको अवस्थामा जतिसुकै उत्कृष्ट प्रविधि भए पनि सेवा अवरुद्ध हुन्छ । 

नेपालमा इन्टरनेटकै कारण भुक्तानीमा सबैभन्दा ठुलो समस्या यही नै हो । इन्टरनेट सेवामा भएको गुणस्तरको कमीका कारण कारोबारमा यस्ता समस्या आउने गरेका छन् । त्यस्तै भुक्तानीको समस्यालगायत कारण ब्यान्डविथ सप्लाई हुन नसकेर देशभरकै इन्टरनेट अवरुद्ध भएको अवस्थासमेत पनि छ । यस्तो अवस्थामा भुक्तानी सेवा स्वतः अवरुद्ध हुन्छ ।  

दोस्रो कारण भनेको भुक्तानी प्रणालीमा विभिन्न च्यानलको प्रयोग हुनु हो । एउटा भुक्तानी प्रणाली पूरा हुन दर्जनौँ पक्षले एकैपटक राम्रोसँग काम गरेको हुनुपर्छ । इन्टरनेट, बिजुली, भुक्तानीकर्ता संस्था, प्राप्तकर्ता संस्था, भुक्तानी सेवा सञ्चालक, दूरसञ्चार सेवाप्रदायकदेखि ग्राहकसम्म यसमा संलग्न हुने गरेको पाइन्छ । प्रत्येक क्षेत्रभित्र समेत विभिन्न पक्ष समावेश हुन्छन् । 

समस्या जुनसुकै कारणले भए पनि यसको ‘अल्टिमेट भिक्टिम’ ग्राहक नै हुन्छ । त्यसबाहेक सेवा प्रदायक प्रत्येक संस्थासमेत यसबाट पीडित हुन्छन् ।

उदाहरणका लागि इन्टरनेटका लागि मात्रै ब्यान्डविथ सेवा प्रदायक, डाटा सेन्टर, इन्टरनेट सेवा प्रदायकदेखि ग्राहकसम्म संलग्न हुन्छन् । यी विभिन्न च्यानलमध्ये कुनै एक च्यानलले काम गर्न नसक्दा पनि सेवा अवरुद्ध हुने अवस्था आउने नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टमका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं काठमाडौँ फिनटेकका संस्थापक सञ्जीव सुब्बा बताउँछन् । 

एउटा सानो समस्याले सम्पूर्ण प्रणालीमा कस्तो समस्या पार्छ भन्ने कुराको एउटा अनुभूति सुब्बासँग छ । केही वर्षअघि उनी नेप्सको सीईओ भएकै समयमा नेपालमा हुने भिजा कार्डमार्फत हुने भुक्तानी १० घण्टासम्म बन्द हुन पुग्यो । त्यसको कारण बुझ्दै जाँदा सबैलाई चकित पार्ने कुरा थाहा भएको थियो । 

सुब्बा भन्छन्, ‘पेमेन्ट बन्द भएपछि मैले सिंगापुरको पार्टीसँग कुरा गरेँ, सिंगापुरको पार्टीले भारतको पार्टीसँग कुरा गरेको रहेछ । बुझ्दै जाँदा बिहारको पटनामा एक जना मजदुरले गैँतीले जमिनमा खन्दा नेपाल आउने भूमिगत तार चुँडिन पुगेको रहेछ, त्यो पत्ता लगाउन मात्रै १० घण्टा लाग्यो, त्यतिवेलासम्म सिस्टम अवरुद्ध भयो ।’ 

सुब्बा आईटी क्षेत्रमा समस्या कहाँनेर हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँछन् । समस्या आएपछि यसको कारण पत्ता लगाउन धेरै समय लाग्ने समेत उनको भनाइ छ । त्यसैले समस्यालाई आउनै नदिनेभन्दा पनि आएको समस्यालाई दोहोरिन कसरी नदिने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड छ । 

  • ग्राहकले के गर्ने ? 

समस्या जुनसुकै कारणले भए पनि यसको ‘अल्टिमेट भिक्टिम’ ग्राहक नै हुन्छ । त्यसबाहेक सेवा प्रदायक प्रत्येक संस्थासमेत यसबाट पीडित हुन्छन् । नबिल बैंकमा देखिएको समस्यामा कारण मात्रै २ लाखभन्दा धेरै कारोबार हुन नसकेको बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्मा बताउँछन् । ‘हाम्रो क्युआरमार्फत दिनमै १४/१५ करोडको कारोबार हुन्छ । यसले ग्राहकलाई त समस्या हुने नै भयो, १६ घण्टासम्म समस्या आउँदा सबैभन्दा धेरै पीडा त हामीलाई भयो । 

समस्या आउने विषयलाई नकार्न सक्ने अवस्था नभएकाले एउटा ग्राहकले के गर्ने त ? धेरै वटा बैंकमा खाता खोल्नुपर्ने हो वा धेरै वटा सेवा प्रदायकसँग आबद्ध हुनुपर्ने हो ? वा अरू नै केही गर्नुपर्ने हो ? 

सामान्य रूपमा हेर्दा धेरै बैंकमा खाता भएर समस्या हटाउन सकिने जस्तो देखिए पनि समाधान भएकोमा भने सरोकारवालाहरू सहमत छैनन् । 

आईटीविज्ञ सुब्बा ‘मल्टिपल अप्सन’मा गएर ग्राहकले सबै समस्या हटाउन नसक्ने बताउँछन् । ‘ग्राहकले एउटा बैंकमा समस्या भयो भनेर अर्को बैंकमा खाता खोल्न सक्ला, तर इन्टरनेटमै समस्या आयो भने के गर्ने ? डाटा सेन्टरमा समस्या आयो भने के गर्ने ? बिजुली भइदिएन भने कसरी भुक्तानी गर्ने ? त्यसैले यो विषयमा ग्राहकभन्दा सेवाप्रदायक संस्था र सरकारले धेरै ध्यान दिनुपर्छ । 

नबिल बैंकका शर्मा पनि यो विचारसँग सहमत छन् । उनी बैंक आफैँले ग्राहकलाई पेमेन्ट एस्योर गर्न विभिन्न विकल्प खुला गर्ने गरेको बताउँछन् । 

‘डिजिटल पेमेन्टअन्तर्गत हामीसँग अहिले डेबिट कार्ड छ, क्रेडिट कार्ड छ, प्रिपेड कार्ड छ, मोबाइल बैंकिङ एप्लिकेसन छ, कनेक्ट आईपीएसमार्फत पनि कारोबार हुन्छ । ईसेवा, आईएमई, खल्ती, नमस्ते पेजस्ता मुख्य सेवा प्रदायकसँग पनि सिस्टम इन्टिग्रेटेड छ,’ शर्मा भन्छन्, ‘गत हप्ता एन–बैंक एप डाउन हुँदा पनि कार्डबाट भुक्तानी भइरहेकै थियो, कनेक्ट आईपीएसबाट भुक्तानी गर्न समस्या थिएन, वालेटमा लोड गर्न पनि समस्या भएको थिएन । त्यसैले बैंकले दिने फरक–फरक सेवाको प्रयोग गरेर पनि समस्यालाई ‘एभोइड’ गर्न सकिन्छ । 

  • भुक्तानी सेवा सुदृढ गर्न सरकारले गर्नैपर्ने काम

नेपालमा अहिलेसम्म डिजिटल कारोबारमा भएका विकास निजी क्षेत्रकै लगानीको आधारमा अडिएको देखिन्छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा सञ्चालन तथा अन्य फिनटेक कम्पनीले पूर्वाधार तथा अध्ययन अनुसन्धानमा गरेको लगानीका कारण नेपाल अहिलेको अवस्थामा आइपुगेको सुब्बा बताउँछन् । यो अवस्थासम्म आइपुग्दा नेपाली कम्पनी तथा जनशक्ति विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । 

तर नेपालभित्रको सेवा गुणस्तरीय बनाउन र सुरक्षाको प्रत्याभूतिसमेत गराउन भने अब सरकारको लगानीको आवश्यकता भएको उनको भनाइ छ । यसका लागि डाटा सेन्टर, सेन्ट्रल केवाईसी र एपीआई सिस्टममा सरकारको लगानी चाहिने उनी तर्क गर्छन् । 

‘हामी पहिला फिजिकल इन्फास्ट्रक्चरको कुरा गथ्र्यौं, अब डिजिटल पब्लिक इन्फाट्रक्चर (डीपीआई) मा ध्यान दिनुपर्ने भएको छ,’ उनले भने, ‘अहिले फिनटेक कम्पनीहरूको डाटा छरिएका छन् । सबैले डाटा सेन्टरमा लगानी गर्दा लागत पनि महँगो पर्दै आएको छ ।’ 

सरकारले आफ्नो लागि त हेटौँडा र सिंहदबारमा डाटा सेन्टर बनाए पनि त्यतिले मात्र नपुग्ने उनले बताए । ‘एकीकृत डाटा सेन्टर बनाएर त्यसमा निजी क्षेत्रलाई एक्सेस दिनुपर्छ,’ सुब्बा भन्छन्, ‘सेन्ट्रल केवाईसीका लागि राष्ट्रिय परिचयपत्र तयार भइसकेको छ । यसको सूचनालाई बैंकिङ सिस्टमसँग इन्टिग्रेटेड गर्ने गरी काम गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप