भीम रावलको टिप्पणी : ओली र उनका गुटले जबजको धज्जी उडाए

समाचार सारांश
- डा. भीम रावललाई एमालेबाट निष्कासन गरिएको थियो, उनले पार्टीको नीति विपरीत काम गरेको आरोप लागेको थियो।
- रावलले एमालेबाट बाहिरिएपछि 'मातृभूमि जागरण अभियान' चलाए, तर पछि गुमनाम बनेको प्रश्न उठ्यो।
- रावलले केपी ओलीको नेतृत्वमा पार्टीमा निरंकुशता बढेको र सत्ताको दुरुपयोग भएको आरोप लगाए।
- रावलले वर्तमान गठबन्धन सरकारको काम गर्ने शैली र देशको दिशाहीनतातर्फ चिन्ता व्यक्त गरे।
वामपन्थी राजनीतिमा ५१ वर्ष सक्रिय रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावललाई पार्टीले पुस १० निष्कासन गर्यो ।
चितवनको सौराहामा भएको नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिएका रावलमाथि पार्टीको नीति, सिद्धान्त, अनुशासन विपरीत काम गरेको आरोप लगाइएको थियो ।
र सचिवालय बैठकले उनलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो । पार्टीभित्र नेतृत्वको गलत क्रियाकलापको विपक्षमा खरो उभिने नेता रावलले एमालेबाट बाहिरिएपछि ‘मातृभूमि जागरण अभियान’ चलाए । तर पछि फेरि उनी गुमनामझैँ छन् ? उनका आगामी योजना र पछिल्ला राजनीतिक गतिविधिबारे रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन्-
- एमाले बनाउन ५१ वर्ष ऊर्जाशील समय खर्चिनुभयो । तर जीवनको उत्तरार्द्धतिर घरबाटै निष्कासित हुनुभयो नि ?
समाजवाद ल्याउने, देशको स्वाधीनतालाई बलियो बनाउने, प्रतिस्पर्धी विश्वमा नेपालीले शिर ठाडो पारेर हिँड्न सक्ने, देशको जनशक्ति, प्राकृतिक साधन र स्रोत मुलुकको सर्वोपरि हितमा परिचालित गर्न सक्ने यी जुन परिकल्पना गरेका थियौँ । तदनुसार नीति तथा कार्यक्रम कम्युनिस्ट पार्टीको तर्फबाट २००६ सालदेखि अगाडि सारिएको थियो ।
वर्तमान नेतृत्वले ती सम्पूर्ण कुरा छोड्यो । खासगरी केपी ओलीजी पार्टी अध्यक्ष बनिसकेपछि उहाँले राजनीति भनेकै केवल पदमा पुगेर शक्ति र सत्ताको उपभोग गर्नका लागि हो भन्ने दिशातर्फ लानुभयो । परिणामस्वरुप चरम स्वार्थ बोकेका, अवसरमा लागेका, अनेकौँ अपराध कर्ममा लागेर आफ्नो सुरक्षा खोज्नेहरू जताततै देखिन थाले । देशका लागि इमानदारीताका साथ सत्य तथ्यमा उभिएर काम गर्नेहरूलाई कसैलाई पाखा लगाइयो, कतिलाई जिम्मेवारीबाट किनारा लगाइयो । मजस्ता मान्छेहरू कारबाहीमा प¥यौँ, कारण यही हो ।
- केपी ओली नेतृत्वमा आएपछि पार्टी र सत्तामा निरङ्कुश चरित्र हाबी हुँदै गएको हो ?
यो नकारात्मक कुरा कसैले विकसित गरेको होइन, उहाँको क्रियाकलापले सिर्जना गरेको अवस्था हो । पहिलो, ओली नेतृत्वमा आएपछि पार्टीभित्र निरङ्कुश चरित्र देखाएको आरोप छ । दोस्रो, सत्तामा पुगेपछि ओली नेतृत्वको गठबन्धन सरकार तानाशाहीतर्फ गइरहेको छ भन्ने आम रूपमा प्रश्न उठेको छ ।
त्यतिवेला माधव नेपाल महासचिव भइरहँदा र त्यसपछि झलनाथ खनाल नेतृत्वमा आउँदा ओलीजीले छाया केन्द्रीय समिति बनाएर देशव्यापी रूपमा गुटबन्दी गर्नुभएको थियो । एमालेभित्र संगठित चरम गुटबन्दी कसैको थियो भने, त्यो ओलीजीको थियो । तर त्यो वेला माधव र झलनाथ स्वयं निकै सहनशील भएर उहाँका सबै कुराहरू सुन्नुभयो ।
ओलीजीले गुटबन्दी गरेको कुरा माधव र झलनाथ दुवै जनालाई थाहा थियो । त्यो कुरा बुझेर पनि पार्टीभित्र फरक मतको रूपमा ग्रहण गर्दै अभिव्यक्त गर्ने अवसर दिनुभयो । ओलीजीलाई कुनै पनि अवसरबाट वञ्चित गर्न दिनुभएन । महाधिवेशनमा हारजित कार्यकर्ताका हातका कुरा हुन् । ओली पनि कुनै वेला हार्नुभएको थियो । मैले पनि हारेको थिएँ । अरूले पनि हारेका छन् । तर अहिले आएर ओली क्रमशः पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री बन्नुभयो । पहिला आफूले आन्तरिक लोकतन्त्रको पक्षमा गरेका कुरा उहाँ आफैले धुजाधुजा बनाइहाल्नुभयो ।
अरूले केही नगरी देखेको कुरा भन्ने, पार्टीलाई विधिबाट चलाउनुपर्छ, देशको संविधानबमोजिम राज्य सञ्चालन गर्नुपर्छ, व्यक्तिगत निहित स्वार्थलाई प्रश्रय दिने काम गर्न हुँदैन भनेर विचार राख्नेहरूलाई उहाँले सहन गर्न सक्नुभएन । उहाँ दलभित्र पनि फरक मत सुन्न नचाहने, तथ्य सत्य औँल्याएको देख्न नचाहने, व्यक्तिगत प्रशंसा र भक्तिभाव गर्ने कुरालाई प्रिय ठान्दै जानुभयो । त्यसकारण पार्टीभित्र विराटनगर, ताप्लेजुङ, पर्वत, अछाम, चितवन, धुनषालगायत कैयौँ ठाउँमा मानिसलाई उम्मेदवार हुन दिइएन । जबरजस्ती नाम घोषणा गरिएका छन् । कति ठाउँमा कार्यकर्ताबिच कुटाकुट भएको छ । कैयौँ ठाउँमा रुँदै अधिवेशनबाट बाहिरिएका छन् । यो राजनीतिक दलभित्र ओलीजीको चरम निरङ्कुश र स्वेच्छाचारी व्यवहार हो ।
जनताको बहुदलीय जनवादले प्रत्येक कार्यकर्तालाई चुन्ने र चुनिन पाउने अधिकार दिनुपर्छ भन्ने मान्यता राख्छ । मदन भण्डारीको शब्दमा भन्ने हो भने पार्टीको नेतृत्व गर्ने व्यक्तिले कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ । देश चलाउने व्यक्तिले जनताबाट अनुमोदित हुनुपर्छ । प्रतिस्पर्धाको राजनीतिबाट जानुपर्छ ।
मार्क्सवाद भनेको खोपाको देवता होइन । ओली र उहाँका गुटले अहिले जबजको धज्जी उडाएका छन् । यसको प्रतिविम्ब राज्य सञ्चालनमा परेको छ । त्यसको पछिल्ला केही तथ्यगत उदाहरण गभर्नरको पदबारे हो ।
नेपालको कानुनबमोजिम पद समाप्त हुनु एक महिना अगाडि सिफारिस समिति गठन भएर व्यक्तिको नाम सिफारिस गरेर सरकारले नियुक्त गरिसक्नुपर्छ । विश्वव्यापी रूपमा गभर्नर पद एक दिन पनि खाली हुनु हुँदैन भन्ने मान्यता छ । तर अहिले गभर्नर तिम्रो मान्छे हुने कि मेरो मान्छे हुने भन्नेमा कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबिच लडाइँ भइरहेको छ ।
देउवा जो पटक पटक प्रधानमन्त्री हुनुभयो । तर कहिल्यै प्रधानमन्त्री हुनुभएको औचित्य साबित गर्न सक्नुभएन । त्यस्तै ओली पनि चौथो पटक प्रधानमन्त्री हुनुभयो । उहाँले पनि औचित्य पुष्टि गर्न सक्नुभएको छैन । यी दुई जनाको बिचमा मोलमोलाइ चलिरहेको कुरा छताछुल्ल भइसक्यो ।
हुँदाहुँदा राष्ट्र बैंकको निमित्त गभर्नर स्वयंले चरम राजनीति भयो अब जेसुकै गर हामी आफ्नो काम र कर्तव्यतिर लाग्छौँ भनेर अभिव्यक्ति सार्वजनिक रूपमा सुन्यौँ ।
यस्तै प्रहरी, सेना लगायत सुरक्षा निकायमा पनि एक दिन पनि पद रिक्त हुन नहुने संसारभरको मान्यता छ । सुरक्षा यति संवेदनशील विषय हो, त्यसलाई मध्यनजर गरी त्यहाँ काम गर्नेहरूको धैर्यता, योग्यता र क्षमताका आधारमा तत्काल पूर्ति गर्नुपर्छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कैयौँ दिनदेखि पद रिक्त छ । कतिपय मानिसलाई आफू अगाडि आउन चलनचल्तीको भाषामा चलखेल गर्ने समय दिएको देखिन्छ । भ्रष्टाचारको कुरा एकपछि अर्को अनेकौँ काण्ड आइराखेका छन् । आफ्ना व्यक्तिलाई बयान नै नलिई मुद्दा बुझाइदिने, आफूलाई मन नपर्ने व्यक्तिलाई नभएको कुरामा फसाइदिनेजस्ता गतिविधि हामीले देखेका छौँ ।
यस्ता गतिविधिले अहिलेको स्थिति सिर्जना भएको हो । यो कसैले बनाइदिएको होइन, बाहिरबाट उद्देश्यमूलक ढंगले बदनाम गर्न खोजेको होइन । उहाँका गतिविधिका कारण जनतामा नकारात्मक धारणा विकसित भएको हो ।
- केन्द्रीय समिति बैठकअघि तपाईँमाथि कारबाही भयो, डा.विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि निलम्बन गरियो । भित्री उद्देश्य के रहेछ ?
त्यसको पहिलो कारण ओलीमा निरङ्कुश स्वेच्छाचारी र तानाशाही प्रवृत्ति नै हो । उहाँमा त्यो प्रवृत्ति चरम रूपमा विकसित हुँदै गएपछि फरक मतलाई सहन नगर्ने, आलोचना सुन्न नचाहने, तथ्य सत्य कुरा कसैले औँल्याएको देख्न नचाहने चरित्रको उपज हो ।
दोस्रो कारण, ओलीलाई खुसी पारेर राजनीतिक दलको सम्पूर्ण शक्ति पनि हत्याउने, देशव्यापी रूपमा कार्यकर्तालाई अधिवेशनमा प्रतिस्पर्धामा जान नदिएर केन्द्रबाट आफ्ना भक्तहरूलाई टीका लगाइदिएर विभिन्न पदमा व्यवस्थापन गरेर भोलि आफ्नो पद सुरक्षित गर्न उद्धत व्यक्तिहरूको गतिविधिले पार्टीभित्र आफ्ना दृष्टिकोण राख्नेमाथि प्रहार गर्ने मूल कारण हो । जो कम्युनिस्ट पार्टीको द्वन्द्ववाद र जबज मान्यताविपरीत छ ।
कम्युनिस्ट सिद्धान्तले पार्टीभित्र फरक मत हुन्छ, फरक मतको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छ । कुनै वेला आफ्नो विचार जिल्लासम्म प्रेषित गर्न पाइन्थ्यो । आत्मा आलोचना गर्नुपर्थ्यो । यी सबै अहिले एकादेशका कथा भइसक्यो ।
मलाई पार्टीबाट निष्कासन गर्नु, बिन्दा र उषाकिरणलाई ६ महिनाका लागि निलम्बन गर्नु, कोशीका प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीलाई निलम्बन गर्नु, हालसालै ताप्लेजुङ लगायत पूर्वतिर कयौँ व्यक्तिलाई कारबाही गर्ने धम्की दिनु, अछाम, कैलाली लगायत विभिन्न जिल्लामा आलोचना गर्नेलाई पार्टीबाट निष्कासन गर्नु निरङ्कुश, तानाशाहीको साथै नेतृत्वमा सामन्ती प्रवृत्ति हो ।
यस्ता प्रवृत्तिले कम्युनिस्ट पार्टीको द्वन्द्ववाद, जनताको बहुदलीय जनवादको मात्रै उल्लङ्घन गरेको छैन, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारको पनि उल्लङ्घन गरेको छ । संविधानले प्रत्येक नागरिकलाई लेख्ने, बोल्ने, सभा सम्मेलन गर्ने, संगठन बनाउने अधिकार दिएको छ । अश्लील गालीगलौजको भाषा प्रयोग गर्नुभएन तर तथ्य कुरा त बोल्न पाइन्छ नि ।
वर्तमान गठबन्धनका प्रधानमन्त्री ओलीजी, सरकारका र दलभित्रका कतिपय गतिविधि संविधानले प्रत्याभूत अधिकारविरुद्ध छन् । पञ्चायत कालमा निरंकुशताविरुद्ध काठमाडौँको खुलामञ्चलगायत विभिन्न ठाउँमा गतिविधि गरेका थियौँ । अहिले बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्र भनेको छ खुलामञ्चमा कार्यक्रम गर्न पाइँदैन । के तन्त्र हो यो ? म अहिलेका प्रधानमन्त्रीलगायत विभिन्न दलबाट प्रधानमन्त्री भएकाहरूलाई सोध्न चाहन्छु– खुलामञ्चमा किन ताल्चा लगाएको ? पहिलो उदाहरण यही हो ।
दोस्रो, हिजो पञ्चायतविरुद्ध हामीले ठुलठुला आन्दोलन गर्यौँ । त्यसको अर्थ ठुला पदमा बस्ने मानिसले क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने होइन । सहकारीमा मात्रै दुई खर्ब ७० अर्ब भ्रष्टाचार भएको छ । त्यसका अघिकांश मानिस कांग्रेस र एमालेसँग जोडिएका छन् । देशको रकम विदेशमा पुर्याउने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, देशको संस्कृति खत्तम गरेर होली वाइनलाई टाउकोमा चढाउने, देशको सिमाना अतिक्रमण र तराईका जिल्लाहरू डुबान हुँदा कुनै मतलब नराख्ने, बिचौलिया र दलाललाई प्रश्रय दिन भनेर व्यवस्था परिवर्तन गरेको होइन ?
यसले गर्दा जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गरेको जुन प्रणाली हो, त्यसअनुसार काम नहुँदा जनतामा चरम वितृष्णा देखिएको छ ।
- निष्कासन भएपछि तपाईंले मातृभूमि जागरण अभियान चलाउनुभएको थियो । तर पछिल्लो समय गुमनाम हुनुभयो । के गरिरहनुभएको छ ?
म चुप लागेर बसेको छैन । केही समयअघि विभिन्न जिल्लासहित प्रवासमा समेत भेलाहरू आयोजना गरेँ । जहाँजहाँ म गएँ, त्यहाँ मातृभूमि जागरण अभियानको संगठन निर्माण गर्दै गएँ । थुप्रै मानिसले एमाले परित्याग गरे । त्योक्रम अहिले पनि जारी छ ।
म बाहिरै भएको वेला काठमाडौँमा केही तरङ्ग उत्पन्न भए । एकातर्फ व्यवस्थाविरुद्ध आन्दोलन गर्नेहरू र अर्कातर्फ उहिलेको प्रतिकारजस्तो निर्णय गर्नेहरू देखा परे । त्यो प्रकारको द्वन्द्वमा मैले केही समय भेला स्थगित गर्न उचित ठानेँ । त्यसैले म राजनीतिक कार्यक्रममा प्रत्यक्ष रूपमा देखा नपरेको हो ।
तैपनि यस अवधिमा काठमाडौँमा धेरै मानिससँग छलफल गरेको छु । यो देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डताको रक्षाका लागि देशका जनशक्ति, प्राकृतिक साधन र स्रोत जनताको कल्याणका लागि सदुपयोग गर्न, अहिलेको बेथिति, भ्रष्टाचार र मनपरी समाप्त गर्न कसरी अगाडि बढ्ने भन्नेमा मेरो छलफल जारी छ ।
केही समयपछि जिल्लातिर जान्छु । जनताबिच संगठन विस्तार र गतिविधि गर्ने सम्बन्धमा सोचिरहेको छु । समाजका विभिन्न तप्काबाट साथ दिने आश्वासन पाएको छु । समाजका सबैको साथ लिएर अगाडि बढ्ने मैले दृढता लिएको छु ।
- वामपन्थी एकता गरेर जानुहुन्छ कि आफ्नै नेतृत्वमा कुनै विचारधारा बढाउनुहुन्छ ?
अहिले कम्युनिस्ट पार्टीका शीर्ष तहमा बस्नेहरू, राजनीति बागडोर लिनेहरूले नै कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाए । नेकपाको दुई तिहाइलाई पनि प्रतिनिधिसभा विघटन गर्नेदेखि दुई पार्टीलाई अलग गर्ने स्थिति सिर्जना गरेर समाप्त पारे ।
अहिले दुई दर्जन कम्युनिस्ट पार्टी छन् नेपालमा । समाजवाद, न्याय र समानताको हित, विकास र समृद्धिको आकाङ्क्षा बोकेर जो व्यक्तिहरू कम्युनिस्ट पार्टीका पछि लागेका थिए, उनीहरूको त्यो भावनामाथि खेलेर शीर्ष नेताहरूले उल्टै कम्युनिस्ट जनमतलाई टुक्रा टुक्रामा विभाजित गरे ।
यी नेताहरूले नै प्रतिक्रियावादी, जनविरोधी र राष्ट्रघाती भनेकाहरू अहिले परम मित्र बनेका छन् । चाहे सत्ता गठबन्धनमा होस्, चाहे चुनावमा । तर एउटा कम्युनिस्ट पार्टीका नेता अर्को कम्युनिस्ट पार्टीका शत्रुजस्ता बनेका छन् ।
यसबाट के प्रस्ट हुन्छ भने नेपालमा साँचो अर्थमा समाजवाद ल्याउन चाहने, देशका लागि समर्पित भएर काम गर्न चाहने, मार्क्सवाद, लेनिनवाद, माओवाद वा माओ विचारधाराप्रति साँच्चिकै इमानदार भएर तदनुसार आफ्ना आचरण व्यवहार गर्ने कम्युनिस्ट पार्टी अब नेपालमा छैनन् ।
घोर अवसरवादी, सत्ताका लागि कम्युनिस्ट पार्टीलाई प्रहार गर्ने र त्यसलाई समाप्त गर्ने आफ्ना कार्यक्रम ल्याउने पनि मित्र बनेका छन् । त्यसकारण म त्यस्तो खालको ढोङ, अवसरवाद र जनतालाई धोका दिने पक्षमा छैन ।
अहिलेको संविधानअन्तर्गत नै हो सबैले काम गरेको । चाहे ओली, चाहे प्रचण्ड या माधव या जोसुकैले गरोस् । उहाँहरूले जतिसुकै मार्क्सवादको कुरा गरे पनि काम नेपालको संविधानअन्तर्गत नै गर्ने हो । अझ नेपालको संविधान ओली र देउवाले सीधै कुल्चिनुभएको छ । संविधानको धारा २६९ मा पार्टी बन्न निश्चित दर्शन, कार्यक्रम र नीतिमा चल्नुपर्छ भनेको छ । तर यसलाई कुल्चिएर विचार, सिद्धान्त नमिल्नेसँग हातेमालो गरेर जसरी नै खाने बाटो अवलम्बन गरेका छन् ।
विपरीत सिद्धान्तहरूको गठबन्धन बनाएर देश कुन विन्दुमा पुग्छ ? आर्थिक, राजनीतिक, सामाजिक दृष्टिकोणले देश कहाँ पुग्छ ? उहाँहरू प्रहरी, संवैधानिक निकायदेखि अदालतसम्म बाँडिचुँडी खाने बाटोमा लाग्नुभएको छ । ती सुशासनविरुद्ध घृणित क्रियाकलाप हुन् ।
यही संविधान जबसम्म रहन्छ यसो भन्नुको अर्थ कसैले यो संविधान फाल्छु भनिराखेका छन् । ओली र देउवा स्वयंले संविधान संशोधन गर्छु भनिराख्नुभएको छ । अहिलेकै गठबन्धनमा रहेका दलहरू संविधान बनेको दिन कालो दिवस भनेर संविधानमा आगो लगाइराखेका छन् ।), त्यतिवेलासम्म संविधानभित्र रहेर समाजवादउन्मुख लोक कल्याणकारी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने, प्राकृतिक स्रोत र साधन देशको हितमा लाग्ने आह्वानका साथ संगठन निर्माण गर्ने कुरामा म दृढ छु ।
- पछिल्लो समय ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्या भण्डारी देखिन थाल्नुभएको छ नि, कहीँ छनक पाउनुभएको छ ?
मैलै पनि यो विषयमा सञ्चारमाध्यममा पढेको र सुनेको हो । यसको अन्तर्य र खास स्थिति के हो भन्ने विस्तृत जानकारी छैन । जहाँसम्म वामपन्थी वा कम्युनिस्टहरूको बिचमा ध्रुवीकरणको प्रश्न छ, त्यो ध्रुवीकरण केका लागि हो ? मान्यता के हो ? सिद्धान्त के हो ? ध्रुवीकरणपछि गर्ने के हो ? त्यसलाई प्रस्ट पारेको मैले कतै देखेको छैन ।
मध्यराति देउवा र ओलीबिच भएको सात बुँदेमा संविधान संशोधनको कुरा थियो । ओलीजीले एमालेको बैठकमै २०८७ सालमा संशोधन हुन्छ भनेर धज्जी उडाइदिनुभयो । अहिलेसम्म ती दुई पार्टीले कुनै प्रस्ताव ल्याएका पनि छैनन् । त्यो फगत सत्ता प्राप्तिका लागि थियो भन्ने कुरा प्रस्ट भइसकेको छ ।
त्यस्तै पदमा पुग्न कसैले ध्रुवीकरणको कुरा गरेको हो भने औचित्य छैन । हैन, देशको अस्तित्वसमेत संकटमा परेको अवस्थाबाट जोगाउन, देशमा ठुलो मात्रामा जनशक्ति, धनको पलायन, साधन र स्रोतको दुरुपयोग, जलस्रोतमा विदेशीको हालीमुहाली, परराष्ट्र नीति विदेशीको अगाडि झुक्ने, लम्पसार पर्ने खालको छ ।
पञ्चशीलताको सिद्धान्तलाई पूरै लत्त्याएका छौँ । यस्ता खलाका नीति, गलत विचार र दृष्टिकोण छन् । यसलाई सच्चाएर जान्छौँ भनेर कम्युनिस्टहरू एक ठाउँमा आएको औचित्य हुन्छ ।
२४ वटा कम्युनिस्ट पार्टी छन् । ओली चार पटक प्रधानमन्त्री भइसके, त्यसको कुनै औचित्य छैन । नेकपाको दुई तिहाइ हुँदा त त्यसलाई धराशायी बनाउनुभयो । कम्युनिस्ट पार्टी विघटन गरेर नेपाली जनताका इच्छा र आकांक्षालाई आघात पुर्याउनुभयो । अहिले त कांग्रेससँग मिलेर खाइरहनुभएको छ ।
उहाँकै शब्दमा प्रतिक्रियावादीसँग मिलेर खाइरहनुभएको छ । यद्यपि अहिलेसम्म दक्षिणपन्थीहरू कम्युनिस्ट विरोधी हुन् भनेर एमालेको दस्ताबेजमा सच्याइएको छैन । कि त हामीले हिजो प्रतिक्रियावादी दक्षिणपन्थी भनेका ती कोही पनि होइनन्, अब उहाँहरूसँग सरकारमा गएर मिलीजुली पद बाँडेर खाने हो भनेर लेख्नोस् । यस्तै गर्ने हो भने ध्रुवीकरण वा एकताको कुनै औचित्य छैन ।
- गठबन्धन सरकारको १० महिनामा आम जनता सन्तुष्ट हुन सकेको देखिएन । यो सरकारले पनि काम गर्न सकेन भने देशको राजनीति कता जान सक्छ ?
वर्तमान गठबन्धन सरकार आर्थिक, राजनीतिक रूपमा कुनै गन्तव्यमा पुर्याउन भएको थिएन । गठबन्धनका केही व्यक्तिहरूले बाँडिचुँडी खान, केही पद लिन र आफूमाथि भएका मुद्दाहरूलाई थन्क्याउनका लागि भएको कुरा उहाँहरूले नै भन्नुभएको छ । त्यसैले यो सरकारले १० महिनामा केही गर्छ भन्ने कसैले अपेक्षा गरेकै थिएन । यही सरकारका कारण हो, नेपाल आर्थिक रूपमा ग्रे लिस्टमा परेको हो । देश कालोसूचीमा पर्न लाग्दासमेत देउवा र ओली गभर्नर पद हत्याउन लडाइँ गरिराखेका छन् । त्यसकारण यो सरकारले सुशासन दिन्छ भनेर कसले पत्याउने ?
बाँडिचुँडी खाने कुरामा नमिलेपछि गठबन्धन धराशायी हुन्छ । सरकार दुई तिहाइ भए पनि अल्पमतको भए पनि त्यसका दृष्टिकोण, नीति र सिद्धान्त मिल्यो भने काम गर्न सक्छ । स्वार्थमा टिकेको सुनिएर मोटाएको जस्तो हुन्छ । त्यसैले यो दुई तिहाइ हेर्दा एकदमै बलियो जस्तो देखिए पनि यो खोक्रो हो भन्ने कुरा गतिविधिले देखाउँछ ।
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार थियो । त्यो नेकपाजस्तो शक्तिशाली वामपन्थी सरकार पनि थिएन । न त कांग्रेस र एमालेजस्तो विपरीत ध्रुवका ठुला पार्टीको गठबजोडजस्तो थियो । तर निकै लोकप्रिय भएको थियो । त्यसको ब्याज एमालेले अहिलेसम्म खाइरहेको छ । त्यसकारण एकले अर्कालाई खाल्टामा हाल्ने सिद्धान्त लिएका एक ठाउँमा आएकालाई शक्तिशाली सरकार हो भन्ने औचित्य छैन ।
- त्यसो भए यो देश कता जाँदैछ ?
देश दिशाहीन, गन्तव्यहीन, आर्दशहीन, सिद्धान्तहीनतर्फ धकेलिँदैछ ।
- विकल्प के छ ?
यसको विकल्पमा देशभक्त सम्पूर्ण जनता एक ठाउँमा आएर भ्रष्टाचारी, दलाल, बिचौलियालाई पोस्ने सरकारका गलत क्रियाकलापविरुद्ध सडकमा आउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज