महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?

समाचार सारांश
- महेश बर्तौला, पहिलो पटक सांसद बनेर प्रमुख सचेतकको भूमिकामा छन्।
- बर्तौलाले केपी ओलीलाई खुसी पार्ने आफ्नो कार्यशैलीबारे बताए।
- संसदीय मर्यादा र सरकारको भूमिकाबारे बर्तौलाको धारणा प्रस्तुत छ।
- अन्तर्वार्तामा संसद र सरकारका विभिन्न समसामयिक विषयहरूमा छलफल गरिएको छ।
संसदीय दलमा प्रमुख वा मुख्य सचेतक निकै महत्त्वपूर्ण जिम्मेवारीको पद हो । पहिलो पटक प्रतिनिधि सभाका सांसद बनेका महेश बर्तौला अहिले यही महत्त्वपूर्ण पदमा रहेर भूमिका निर्वाह गरिरहेका छन् । शब्द तौलिएर नरम भाषामा विचार व्यक्त गर्ने बर्तौला २०७९ को निर्वाचनमा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदमा सबैभन्दा कम उमेरका थिए– उपनिर्वाचनबाट सुहाङ नेम्वाङ संसदमा प्रवेश गर्नुअघिसम्म ।
अनेरास्ववियुबाट राजनीतिमा सक्रिय बर्तौला २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । उनले आफ्नै राजनीतिक गुरु एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए ।
झण्डै आफ्नो उमेर बराबरको अवधिसम्म सांसद नै भइसकेकाहरूको पनि नेता भएर संसदमा काम गर्दाको अनुभव बर्तौलासँग कस्तो छ ? एमाले सांसदहरू जिल्ला जाँदा होस् या अन्यत्र जाँदा, संसदमा बोल्न नै किन नहोस्, मुख्य सचेतक बर्तौलाको स्वीकृति लिनुपर्छ र उनले नचाहँदा बोल्ने पालो नदिन पनि सक्छन् । यसको अनुभव कस्तो छ ? पहिलोपटक सांसद बनेका बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गर्न संसदीय दलका नेता केपी ओलीलाई कसरी मनाए ? ओलीलाई खुसी पार्ने बर्तौलासँग के त्यस्तो बुटी छ ?
यस्ता विविध विषयमा बर्तौलासँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, बर्तौलासँग गरिएको कुराकानीको सम्पादित अंश–
- अध्यक्ष केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला वा बुटी छ ?
कर्मबाटै, गतिशीलताबाटै हामीले आफ्नो अस्तित्व निर्माण गर्ने हो । काम गर्ने, निरन्तर लगनशीलताका साथ अघि बढ्न चाहने वा दृढताका साथ भूमिकामा जोडिइरहने व्यक्तिहरूलाई पार्टी नेतृत्वले जिम्मेवारी दिन कञ्जुस्याइँ गर्नुहुन्न, जिम्मेवारी दिनुहुन्छ भन्ने उदाहरणको रूपमा पो लिएको छु मैले त ।
बिहानदेखि बेलुकासम्म नेताहरूको वरिपरि घुमेर, फोटो पोष्ट्याएर, जयजयकार गरेर मात्र एमालेमा जिम्मेवारी पाइँदैन ।
- झण्डै तपाईंकै उमेर बराबरको अवधि सांसद भइसकेकाहरूको पनि नेता भएर संसदमा काम गर्दा हेपाइ, खप्की कति खानु भएको छ ?
मलाई त फाइदा पो भएको छ । कहिलेकाहीँ काम बिग्रिहाल्यो भने पनि भर्खरका छन्, सिक्दै छन् भन्ने हिसाबले उहाँहरूबाट ‘एक्स्क्यूज’ पाएको छु । अलिकति राम्रो काम गरियो भने यी भाइहरू भर्खर आएका थिए, त्यही पनि राम्रो काम गरे भनेर त्यताबाट पनि पो लाभ भएको छ ।
- कुन सजिलो ? प्रतिपक्षी दलको प्रमुख सचेक कि सत्ता पक्षको ?
सत्तापक्षको हुँदा जवाफदेहीता बढी रहनुपर्छ । उसले सम्बोधन पनि गर्नुपर्छ । प्रतिपक्षीले खबरदारी मात्र गरे पुग्यो । प्रश्न उठाइदिए मात्र पुग्यो ।
सरकार फेरिएसँगै संसदमा स्थान पनि परिवर्तन हुन्छ । अनि अघिल्लो दिन ‘हो’ भनेको कुरा भोलिपल्ट ‘होइन’ भन्नुपर्दा र ‘होइन’ भनेको कुरा भोलिपल्टै ‘हो’ भन्नुपर्दा असजिलो लाग्दैन ?
पक्कै पनि असजिलो हुन्छ । तर केमा भनिएको छ भन्ने कुराचाहिँ हेर्नुपर्छ ।
- पछिल्लो समय कतिपय अवस्थामा सांसदहरूका कारण र कतिपय अवस्थामा सभामुखकै कारण संसदको गरिमा घटिरहेको भन्ने आरोप छ नि ?
यो प्रश्न बाहिर यसरी उठ्ने गरेको छ । हामी आफूले समीक्षाचाहिँ गर्नुपर्छ । सस्तो लोकप्रियताको क्यारेक्टरबाट बढ्ता निर्देशित हुने ढंगबाट हाम्रो संसद् अघि बढेको कुरा यथार्थ हो । तथ्य र प्रमाणले पुष्टि गर्न नपर्ने तर स्टण्टका लागि विषयहरू उठाउने गरिएको छ ।
- तपाईं सभामुखलाई आफू अनुकूल चलाउन खोज्नुहुन्छ । यतिसम्म कि सभामुखले रुलिङ गर्नुपर्ने कुरा पनि तपाईं आफैँले तलबाट भनिदिनुहुन्छ नि ?
झुट, कपोल्कल्पित कुरा हो । यस्तो कुरा गर्नु नै असंसदीय कुरा हो । हामी त सभामुखअन्तर्गतको पदाधिकारी हो । अझ मैले देख्दा त विपक्षीको भावना बढी बोकेर हिँड्नुहुन्छ । तर यो गुनासो होइन । परिस्थितिजन्य कुरा हो ।
- अहिलेको संसद् सरकारको छाया बनेको त सत्य हो नि ?
संसद् भनेको सरकारी विजनेशकै राफसाफ गर्ने निकाय हो । सरकारले विजनेश दिएन भने, सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन ।
सरकारको विधेयकमा होइन, हामी आफैँले विधेयक ल्याउनुपर्छ भन्ने हो भने त्यसै अनुसारको कानुनी प्रबन्ध गर्नुप¥यो । सरकारको उपस्थिति भएन भने संसदको कारबाही एक मिनेट पनि अघि जाँदैन । बुधबारको संसद बैठकमै अर्थमन्त्री ट्वाइलेट जाँदा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभयो ।
- अख्तियार विधेयक सरकारले नै रोकेको होइन ? अनि यो हस्तक्षेप होइन ?
राज्यका सबै अङ्गप्रति अविश्वास गर्ने, विश्वास, भरोसा टुटाउने र सबथोक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमात्र हो भन्नुभन्दा पनि सरकारको अविशिष्ट अधिकार रोक्ने कुरा किमार्थ राम्रो होइन ।
- सरकार चलाइरहेका ठुला दुई वटा दलसँग दुईतिहाइ नजिक सांसदको संख्या छ । गणपूरक संख्या नपुगेर बारम्बार संसद बैठक स्थगित हुन्छ । प्रमुख सचेतकलाई लाज लाग्नुपर्ने विषय होइन यो ?
सांसद पद आफैँमा उच्च जिम्मेवारी, उच्च नैतिकता बोकेको पद हो । संसदीय काम मेरो पहिलो प्राथमिकता हो भनेर हाम्रा माननीयहरूले राम्ररी बुझ्नुभएको छ ।
- २०७४ सालमा र अहिले ०८२ सालमा एउटै व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ केपी ओली । उहाँको लोकप्रियता त्यो बेलाभन्दा अहिले बढेको छ ?
हामी अहिले मिस इन्फरमेशन, डिस इन्फरमेशनको सिकार भएका छौँ । प्रधानमन्त्रीको गतिशीलता, ऊर्जा, मेहनत, काम गर्ने तरिकामा कुनै कमी आएको छैन । बरु बढेको छ ।
- प्रधानमन्त्रीको हस्तक्षेपका कारण विद्या भट्टराईको राजीनामा, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको राजीनामा, कुलमानको बर्खास्तगी पनि सरकारका राम्रै कामभित्र पर्छन् ?
राजीनामा दिएका मान्छेहरू सबैलाई सरकारसँग जोड्ने, बिसन्चो भएका सबै मान्छेहरूलाई सरकारसँग जोड्ने कुरा कति राम्रो हो ? काम गर्न सक्छु भनेर जिम्मेवारीमा पुग्ने अनि अलपत्र पारेर बिचैमा हिँड्ने भनेर कसैले प्रश्न गरिदियो भने के भन्ने फेरि ?
- कमल थापालाई सूर्य चिह्न दिएर निर्वाचन लडाउनुभयो । अहिले सरकारको नेतृत्व पनि एमालेले नै गरिरहेको छ । राजावादीको चहलपहल यही बेलामा बढेको छ । यो संयोगमात्र त होला नि ?
कमला थापाजीको सम्बन्धमा तपाईंलाई त्यो प्रश्न गर्ने सुविधा छ । यो प्रश्नको उत्तर दिन हामीलाई अप्ठ्यारो हो । कमल थापा अपवाद बने । अहिले फिल गर्दा त्यसो नभइदिएको भए राम्रो हुन्थ्यो । आजका दिनमा भन्छौँ ।
अन्तर्वार्ताको पूर्ण भाग भिडियोमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’