२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली

समाचार सारांश
- एमाले झन्डै साढे ३ महिनापछि दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ, जसले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुनेछ।
- पार्टीले जेठ महिनाभित्र विधान संशोधनका लागि सुझाव संकलन गर्नेछ, सदस्यता नवीकरणको काम वैशाखमा सम्पन्न गरिसकेको छ।
- विधान महाधिवेशनमा विभिन्न प्रस्तावहरू पेश गरिनेछन् र पार्टीका नीतिहरू बनाइनेछन्, सुझावका आधारमा प्रतिवेदन तयार हुनेछ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको संकेत अनुसार, पार्टीले २०८२ सालभित्रै ११औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
काठमाडौँ । नेकपा एमाले झन्डै साढे ३ महिनापछि हुने दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ । परिस्थिति प्रतिकुल नबनेको खण्डमा विधान महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी एमालेको छ ।
आगामी भदौ २० गतेदेखि २२ सम्म दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको एमालेले उक्त महाधिवेशनको तयारीस्वरुप जेठ महिनाभित्र विधान संशोधनका लागि सुझावहरू संकलन गर्ने जनाएको छ ।
२०८२ साल वैशाख महिनाभर पार्टी सदस्यता नवीकरणको काम गरेको एमालेले जेठ महिनाभर विधान संशोधनका लागि सुझाव संकलन गर्नेछ ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सचिवालयको निर्णयअनुसार विधान महाधिवेशनका कामहरू भइरहेको बताए । उनले सदस्यता नवीकरण र अनलाइन अपडेटका लागि तल्ला कमिटीहरूलाई प्रदेशमा पठाउन वैशाख महिनाको समय दिएको र प्रदेशले जेठ १५ भित्र केन्द्रमा पठाइसक्न सर्कुलर भएको बताए ।
सदस्यताको कामसँगै जेठ महिनामा विधान संशोधनका लागि सुझाव संकलन हुँदै जाने अधिकारीको भनाइ छ ।
पार्टी कमिटीहरुबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएकाले सुझाव संकलन विधान महाधिवेशन अन्त्रगतकै काम भएको केन्द्रीय सदस्य नीरज आचार्यको भनाइ छ ।
‘विधान महाधिवेशनमा विभिन्न प्रस्तावहरु पेस गरिन्छ । राजनीतिक, सांगठानिक र विधानसँग सम्बन्धित प्रस्ताव तयार गर्न बैठक बसेर उपसमितिहरू गठन हुन्छन्’, आचार्यको भनाइ छ ।
दुई राष्ट्रिय महाधिवेशनको बिचको समयमा विधान महाधिवेशन गर्ने एमालेको वैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार ०८२ भदौमा विधान महाधिवेशनको मिति तय गरेको हो । यसअघि एमालेले दसौँ राष्ट्रिय महाधिवेशन २०७८ साल मंसिरमा सम्पन्न गरेको थियो भने विधान महाधिवेशन सोही सालको असोज १५ देखि १७ गतेसम्म गोदावरीमा सम्पन्न गरेको थियो । विधान महाधिवेशनका प्रतिनिधिहरू अघिल्लो राष्ट्रिय महाधिवेशनकै कायम रहने भएकाले प्रतिनिधि छनोट गरिरहनु नपर्ने एमालेले जनाएको छ ।
‘विधान महाधिवेशन भनिए पनि मूलत: यो नीति महाधिवेशन हो । यस महाधिवेशनले पार्टीका सबै नीतिहरू बनाउँछ’, आचार्यले रातोपाटीसँग भने, ‘वैशाख मसान्तसम्म पार्टी सदस्यता नवीकरण अपडेट गर्ने काम भएको छ अव असार मसान्त अर्थात् जेठ महिनाभित्र विधानमा गर्नुपर्ने संशोधन र लागेका विषय पार्टी कमिटीहरूलाई सुझावका रूपमा दिन अघिल्लो सचिवालय बैठकले भनिसकेको छ ।’ उनका अनुसार कमिटीहरूले काम गर्दा देखिएका समस्यालाई सुझावका रूपमा दिनेछन् ।
सुझावहरू आइसकेपछि विधान सम्बन्धी प्रतिवेदन लेखनको काम गर्ने एमालेले जनाएको छ ।
प्रत्येक ५ वर्षमा हुने एमालेको राष्ट्रिय महाधिवेशन २०७८ मा सम्पन्न भएकाले ०८३ मंसिर भित्र ११ औँ राष्ट्रिय महाधिवेशन गर्नुपर्ने सुविधा सो पार्टीलाई छ । पहिलो विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको २ महिना अघिमात्र गरेको एमालेले यस पटक भने निर्धारित समयभन्दा १५ महिनाअघि नै विधान महाधिवेशन गर्न लागेकाले राष्ट्रिय महाधिवेशन समेत अघि सर्नसक्ने एमाले नेता कार्यकर्ताहरूको बुझाइ छ ।
‘राष्ट्रिय महाधिवेशन केही महिना पनि अघि हुनसक्छ । तर मिति तय भैसकेको छैन’, आचार्यले भने, ‘विधान महाधिवेशन पछिमात्र पार्टीले छलफल गरेर राष्ट्रिय महाधिवेशनका बारेमा मिति तय गर्छ ।’
२०८२ सालभित्रै राष्ट्रिय महाधिवेशन हुनसक्ने सम्भावनालाई इन्कार गर्न नसकिने आचार्यको बुझाइ छ ।
- ८२ मै महाधिवेशनको मुडमा ओली
एमाले नेताहरूका अनुसार ११ औँ राष्ट्रिय महाधिवेशनबारे पार्टी कमिटीमा अहिले नै कुनै छलफल भैसकेको छैन । तर एमाले अध्यक्ष ओलीले आफूनिकट नेताहरूसँग अनौपचारिक कुरा गर्दा २०८२ मै राष्ट्रिय महाधिवेशन गर्नुपर्ने अवस्था आउने संकेत गरिसकेका छन् । सोही अनुसार विधान महाधिवेशनको पनि चाँडै मिति तोकिएको हो ।
‘अध्यक्षले प्रस्ट भनिसक्नुभएको त छैन । तर उहाँको मुड ८२ सालभित्रै ११ औँ राष्ट्रिय महाधिवेशन गर्नेतर्फ देखिन्छ’,एमाले केन्द्रीय सचिवालयका एक पदाधिकारी भन्छन्,‘०८३ सालको सुरुबाटै ०८४ मा हुने स्थानीय र संसदीय चुनावमा सिङ्गो पार्टी लाग्नुपर्ने भएकाले पनि केही महिना अघि नै ११ औँ राष्ट्रिय महाधिवेशन गर्नुपर्ने आवश्यकता महसुस भएको हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा