शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीका ३३ विभाग झन्डै १ वर्षदेखि अपूर्ण

शुक्रबार, ०२ जेठ २०८२, १५ : ००
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन सम्पन्न गरेको एक वर्ष पुग्न लाग्दा पनि विभागहरूलाई पूर्णता दिन सकेको छैन।
  • पार्टीले गत माघमा ३३ वटा विभागका प्रमुख र उपप्रमुख तोकेको थियो तर ५ महिना बित्दा पनि विभागहरूले पूर्णता पाएका छैनन्।
  • पार्टीका नेताहरूले विभागलाई पूर्णता दिन ढिलाइ हुनुमा नेताहरूको अल्छीपना र संगठनलाई चुस्त बनाउने चासो नहुनुलाई कारण मानेका छन्।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन सम्पन्न गरेको झन्डै एक वर्ष पुग्न लाग्दा समेत मातहतका विभागलाई पूर्णता दिन सकेको छैन ।

२०८१ असार २१ गते दसौँ राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको पार्टीले सोही वर्षको माघ महिनामा ३३ वटा विभागका प्रमुख र उपप्रमुख तोकेको थियो । विभागीय प्रमुख र उपप्रमुख तोकेको ५ महिना बित्न लाग्दा पनि कुनै पनि विभागले पूर्णता नपाएको सो पार्टीका नेता कार्यकर्ताहरूले बताएका छन् ।

उपमहासचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराई एक दुई दिनभित्रै सबै विभागलाई पूर्णता दिने गरी काम भइरहेको बताउँछन् ।

‘एक दुई दिनभित्र सचिवालय बैठक बसेर सबै विभागलाई पूर्णता दिने तयारी भइरहेको छ । केही नामहरू दोहोरो तेहेरो परेकाले रुजु गर्दा समय लागेको मात्र हो’, भट्टराईले भने, ‘एक व्यक्तिको नाम दुई तीन वटा विभागमा नपरुन् भनेर हेर्ने काम भइरहेको छ ।’

नेकपा एकीकृत समाजवादीले गत माघ दोस्रो साता अपानि–४ जारी गर्दै ३३ वटा विभागको प्रमुख र उपप्रमुख तोकेको थियो । त्यसयता विभागीय प्रमुख र उपप्रमुहरुले आ–आफ्नो विभागको पूर्णताका लागि नेताहरूको नाम पार्टीलाई सिफारिस गरिसकेको जनाएका छन् ।

विधानतः प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र ३२ जना सदस्य रहने व्यवस्था छ । प्रमुख र उपप्रमुखले विभागमा रहने व्यक्तिहरूको सिफारिस गरेपछि सचिवालय बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ । विभागमा रहनेको नाम स्वीकृत भएपछि विभागको बैठक बसेर सचिव तोक्ने व्यवस्था छ ।

तर नेताहरूमा अल्छीपना र संगठनलाई चुस्त बनाउने चासो नहुँदा महाधिवेशन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि विभागहरूले पूर्णता पाउन नसकेको एक जना सचिवालय सदस्य बताउँछन् ।

‘पहिलो कुरा त पार्टीले यो बिचमा आन्दोलनमा समय खर्चेको छ । त्यसकारण पनि विभागलाई पूर्णता दिन केही समय लाग्यो’, ती नेताले भने, ‘बहाना जेसुकै भएपनि पार्टीमा काम गराइको गति सुस्त भएकै हो ।’

एकीकृत समाजवादीले गत चैत १ देखि रोजगारी र सुशासनका लागि भन्दै वैशाख २५ गतेसम्म पहिलो चरणको आन्दोलन गरिसकेको छ । अव दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारीमा रहेको पार्टीले विभागलाई पूर्णता नदिई आन्दोलन घोषणा गरे आन्दोलनको प्रभावकारितामाथि नै प्रश्न उठ्नसक्ने चिन्ता कतिपय नेताहरूको भनाइ छ ।

‘विभागहरूलाई पूर्णता दिँदा थप नेताहरूमा जिम्मेवारी बोध पनि बढ्छ । आन्दोलन पनि प्रभावकारी हुन्छ’, ती नेताले भने, ‘जिम्मेवारविना नेता कार्यकर्तालाई काम गर्ने जाँगर कम हुन्छ यो कुरा नेतृत्वले समयमै बुझ्न सकेन ।’

  • यस्ता छन् ३३ विभागीय प्रमुख र उपप्रमुख

सो पार्टीले स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनाललाई दिएको थियो भने उपप्रमुखको जिम्मेवारी वरिष्ठ नेताद्वय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई तोकेको थियो ।

सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाउँदा रामचन्द्र यादव उपप्रमुख भएका थिए भने विदेश विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमालले पाएका थिए । राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेत बन्दा उपप्रमुख प्रमोद शर्मा बनेका थिए । प्रचार विभाग प्रमुख उपाध्यक्ष प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईले उपप्रमुखको जिम्मेवारीमा छन् ।

सङ्घीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएका छन् ।

अर्थ योजना विभाग प्रमुखमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठले जिम्मेवारी पाएका थिए ।स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका, उपप्रमुखमा मिना लामा र डा.सीता ढुङ्गानाले जिम्मेवारी पाउँदा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा.वंशीधर मिश्र र उपप्रमुख राधा सिलवाल छन् ।

राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा. कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा. देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँलले जिम्मेवारी पाएका छन् । समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् ।

त्यस्तै उपभोक्ता हित विभाग प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी तथा श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी सुदेश पराजुलीले पाएका थिए । विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी शंकर पोखरेलले पाउँदा खानेपानी तथा सरसफाइ विभाग प्रमुख चिरञ्जीवी आचार्य छन् । त्यस्तै खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल तथा सहरी विकास विभाग प्रमुखको जिम्मेवारी कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापालाई जिम्मेवारी दिइएको छ ।

उद्योग वाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशीलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झा तोकिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप