‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात उपाधि होडबाट बाहिरिएको लखनउसँग भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सको सामना गर्दै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ६४औँ खेल हो । आईपीएलको यो संस्करणमा प्ले–अफ चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेको छ । त्यसैले लिग चरणमा खेलिन बाँकी खेलले कुन टोली कुन स्थानमा रहेर प्ले–अफ चरणमा पुग्ने भन्ने कुराको मात्र टुङ्गो लगाउने छ ।
गुजरात र लखनउ दुवैले आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । गुजरात प्ले–अफ चरणमा पुगिसकेको छ भने लखनउ यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । गुजरात हाल अङ्क तालिकाको पहिलो स्थानमा आसीन छ ।
गुजरातले १२ खेलबाट १८ अङ्क बटुलेको छ । गुजरातले नौ जित र तीन हारको नतिजा निकोलेको छ । त्यसैले गुजरात बिहीबारको खेलमा लखनउलाई हराउँदै तालिकामा आफ्नो स्थान अझ मजबुत बनाउने धुनमा रहने छ ।
अर्कोतिर, लखनउले जारी सिजनको आईपीएलमा मिश्रित प्रदर्शन गरेको छ । लखनउ हाल १२ खेलबाट १० अङ्क बटुल्दै तालिकाको सातौँ स्थानमा आसीन छ । लखनउले पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।
जारी सिजनको आईपीएलमा गुजरात र लखनउ दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो । त्यसैले बिहीबार गुजरातको टोली लखनउसँग अघिल्लो हारको बदला लिने धुनमा पनि रहनेछ ।
आईपीएलको इतिहासमा हालसम्म लखनउ र गुजरातबिच कुल ६ खेल खेलिएको छ । त्यसमध्ये सुरुका चार खेलमा गुजरातले लखनउलाई हराएको थियो । पछिल्ला दुई खेलमा भने लखनउले गुजरातलाई पराजित गरेको छ ।
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हालसम्म गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबिच एकपटक मात्र भिडन्त भएको छ । त्यो खेलमा गुजरातले लखनउलाई हराएको थियो ।
जारी सिजनको आईपीएलमा गुजरातका ब्याट्सम्यान र बलर दुवैले अब्बल प्रदर्शन गर्दै आएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यान र बलरको सूचिमा पनि गुजरात टाइटन्सकै खेलाडी पहिलो स्थानमा आसीन छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा साई सुदर्शन पहिलो स्थानमा छन् । उनले १२ खेलमा कुल ६ सय १७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
यो सूचिमा दोस्रो स्थानमा पनि गुजरातकै ब्याट्सम्यान छन् । शुभमन गिलले १२ खेलमा कुल ६ सय एक रन बनाएका छन् । यस क्रममा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । यो सिजन सर्वाधिक विकेट लिने बलरको सूचिमा गुजरातका प्रसिद्ध कृष्णा पहिलो स्थानमा छन् । उनले १२ खेलमा २१ विकेट लिएका छन् ।
यसैगरी, लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले १२ खेलमा कुल चार सय ५५ रन बनाएका छन् । यस क्रममा उनले चार अर्धशतक प्रहार गरेका छन् ।
लखनउका लागि सर्वाधिक विकेट लिने बलर दिग्वेश राठी हुन् । उनले १४ विकेट लिएका छन् । तर, बिहीबारको खेलमा दिग्वेश टोलीमा रहने छैनन् । उनी एक खेलको प्रतिबन्धमा परेका छन् । यो सूचिको दोस्रो स्थानमा शार्दुल ठाकुर छन् । उनले १० खेलमा १३ विकेट लिइसकेका छन् ।
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको ४० खेल खेलिएको छ । त्यसमध्ये १९ खेलमा पहिले ब्याटिङ गर्ने टोली र २१ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।
यो स्टेडियममा हालसम्म खेलिएको खेलमा बनेको सर्वाधिक स्कोर भने पाँच विकेट गुमाएर दुई सय ४३ रन हो । यो स्कोर पञ्जाब किङ्सले यसै सिजनको आईपीएलमा गुजरात टाइटन्सविरुद्ध बनाएको थियो ।
गुजरात र लखनउबिच खेल हुने दिन बिहीबार अहमादाबादमा वर्षाको सम्भावना निकै कम रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाको सम्भावना २५ प्रतिशत रहेको बताइएको छ । तापक्रम भने २९ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ ।
गुजरात टाइटन्सको सम्भावित टोलीमा शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बट्लर (विकेटकिपर), शेरफन रदरफोर्ड, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, कागिसो राबडा, साई किशोर, मोहम्मद सिरजा, प्रसिद्ध कृष्णा र ईशान्त शर्मा रहेका छन् ।
लखउन सुपर जायन्ट्सको टोलीमा ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), मिचेल मार्श, एडेन मारक्रम, निकोलस पुरन, आयुष बडोनी, अब्दुल समाद, शार्दुल ठाकुर, रवी बिश्नोई, आकाश दीप, आवेश खान र विलियम ओ’रुर्क रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकप्रति उत्तरदायी नहुने संरचना धरासायी हुन्छ : मेयर लामा
-
विल ज्याक्सले फालेको ‘सही’ बललाई अम्पायरले किन ‘नो बल’ घोषित गरे ?
-
भारतीय उच्चायोगका एक कर्मचारीलाई पाकिस्तानले दियो देश छोड्न आदेश
-
माओवादीसँग एकता गर्ने विषयमा महिन्द्र नेतृत्वको नेसपामा विवाद
-
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
-
कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह