शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सिमेन्ट कंक्रिट सडकलाई सरकारले उच्च प्राथमिकतामा राखोस्

मङ्गलबार, १३ जेठ २०८२, ०९ : ५९
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • नेपालमा सिमेन्ट कंक्रिट सडक कालोपत्र सडकको तुलनामा दिगो, सस्तो र इन्धन बचत गर्ने अध्ययनले देखाएको छ।
  • निर्माण व्यवसायीका अनुसार, सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सके सडक निर्माण सस्तो हुने र कंक्रिट सडक बनाउन सकिन्छ।
  • कंक्रिट सडक निर्माणका लागि आवश्यक सिमेन्ट र डन्डीमा नेपाल आत्मनिर्भर छ, र यसले विदेशी मुद्राको बचत र रोजगारी सिर्जना गर्छ।

काठमाडौँ । नेपालमा सिमेन्ट कंक्रिट सडक (ढलान सडक) भन्दा कालोपत्र सडक (बिटुमिन सडक) शतप्रतिशतजस्तै छ । कंक्रिट सडकहरू नगण्य रूपमा मात्रै निर्माण हुँदैछन् । तर कालोपत्रभन्दा सिमेन्ट सडक दीर्घकालीन रूपमा सस्तो र टिकाउ हुन्छ ।   

कालोपत्र सडक बिटुमिन, गिटी बालुवा मिश्रण गरेर बनाइन्छ । कंक्रिट सडक भने कंक्रिट, बालुवा मिश्रण गरेर सडक बनाउँछौँ । सडक बनाउने क्रममा कम्प्याक्सन करिब दुई वटैलाई उस्तै दिनुपर्छ । 

अहिले झण्डै ९८ प्रतिशत सडकको कम्प्याक्सन चाहिन्छ भन्ने भए त्यसलाई हामी त्यति नै कम्प्याक्सन दिन्छौँ । सिमेन्ट कंक्रिट सडकमा कंक्रिटमा डन्डी पनि राखेर निर्माण गर्नुपर्ने हुन्छ । यसको फरक बिटुमिनबाट बन्ने र सिमेन्टबाट बन्ने भन्ने मात्र हो । 

नेपालमा करिब ५० करोड बोरा सिमेन्ट उत्पादन छ । हाम्रो खपत करिब १६ करोड बोरा छ । यो हिसाबले हामी ३२/३२ करोड बोरा सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा छौँ । हामीले कंक्रिट सडक बनाउने हो भने खपतको त कुरै छोडौँ, अझ पनि निर्यात गर्न सक्ने अवस्थामा छौँ । त्यसकारण यसलाई पूर्ण रूपमा कानुन बनाएर पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने सिमेन्टमा कुनै समस्या छैन । 

आजभन्दा ७/८ महिनाअघि ४००/५०० हाराहारी मूल्य पर्ने सिमेन्ट अहिले ८०० हाराहारी पुर्‍याइएको छ । कार्टेलिङ नै गरेर उच्च मूल्यवृद्धि गरिएको छ  । नेपालमा सिमेन्टको मूल्य बढेकाले निर्माण क्षेत्र प्रभावित छ । यसकारण सरकारले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्ने हो भने ३५० देखि ४०० रुपैयाँ प्रतिबोरा हाराहारीमा सिमेन्ट उत्पादन गर्न सक्छौँ । यो मूल्यमा सिमेन्ट प्राप्त भए सस्तो लागतमा नै कंक्रिट सडक निर्माण गर्न सक्छौँ ।

नेपालमा १३ लाख मेट्रिक टन डन्डीको वार्षिक खपत छ । उत्पादन ३० लाख मेट्रिक टन बराबर गर्न सक्ने हाम्रो क्षमता छ । डन्डी र सिमेन्ट दुवैमा आत्मनिर्भर छौँ । यसो भएमा कंक्रिट सडक निर्माणका लागि बाहिरको भर पर्नु पर्दैन ।

सिमेन्टको उत्पादन बढाउनै पर्दैन । कंक्रिट सडक निर्माणका लागि वार्षिक थप १० करोड बोरा भए पुग्छ । डन्डीमा पनि १३ लाख मेट्रिक टन खपत हुन्छ भने ३० लाख मेट्रिक टन उत्पादन नै छ । पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने आयात गर्नुपर्ने स्थिति आउँदैन । 

  • के छन् फाइदा ?

सिमेन्ट कंक्रिट र बिटुमिनको सडकको तुलना गर्दा तत्कालको लागतअनुसार ठुला सडकमा तीन गुणा बढी लाग्छ । साना सडकहरूमा भने लागत उस्तै पर्ने देखिन्छ । 

ठुला सडकमा सुरुवातमा तीन गुणा बढी लागत लागे पनि दीर्घकालीन रूपमा सस्तो पर्न जान्छ । विदेशतिर बिटुमिन सडक १० देखि १५ वर्ष टिकेको देखिन्छ । नेपालमा ५ देखि १० वर्ष टिक्दैन । त्यसकारण पनि बिटुमिन सडकभन्दा कंक्रिट सडक टिकाउ हुन्छ । सिमेन्ट कंक्रिट सडक कम्तीमा ३० वर्ष टिक्छ । 

अहिले खर्च बढी देखिए पनि दीर्घकालीन रूपमा सिमेन्ट सडक एकदमै सस्तो पर्छ । मर्मत खर्च पनि कम लाग्छ । मर्मत खर्च कम आउने भएपछि लागत कम हुने देखियो । साथै कंक्रिट सडकमा गाडी गुड्दा १० देखि १५ प्रतिशत इन्धन बचत हुने अध्ययनले नै देखाएको छ । चिल्लो सतह हुने भएकाले गाडीको रफ्तार बढ्न जान्छ । 

बिटुमिन सडकको तुलनामा कंक्रिट सडक सबै हिसाबले सस्तो पर्न गएको देखिन्छ नेपालमा दुई लाख मेट्रिक टन बिटुमिन खपत छ । यसको आयातमा करिब वार्षिक १४ अर्ब बराबर बाहिरिने गरेको छ । बिटुमिनसँगै पिच सडक निर्माणका लागि फ्युल खर्च आउँछ । 

  • कंक्रिट सडकलाई प्राथमिकता दिने नीति आवश्यक 

अब हामीले कालोपत्र सडक विस्थापन गरेर कंक्रिट सडक निर्माण गर्ने हो भने वार्षिक ३० अर्ब बराबर रकम बचत हुन्छ । र त्यो ३० अर्ब जोगिनु भनेको हाम्रो सिमेन्ट, डन्डी, कंक्रिट फ्याक्ट्रीको उत्पादन वृद्धि हुनु हो । 

जसका कारण देशमा रोजगारी सिर्जना हुन्छ । हाम्रो मुलुकले शतप्रतिशत बिटुमिन आयात गर्नुपर्ने स्थिति छ । यो आयात प्रतिस्थापन गर्न सक्यौँ भने मात्रै पनि दुर्लभ विदेशी मुद्रा पनि बचाउन सकिन्छ । र स्वदेशी श्रम, सीप र वस्तु प्रयोग गरी विकास निर्माणका कार्य गर्न सकिन्छ । 

ब्राण्डेड वस्तु किन्दा महँगो पर्छ तर लामो समय टिक्छ । हामीले सस्तो खालको उही वस्तु पनि किन्न पाइन्छ । तर सस्तो वस्तु छोटो समयमै बिग्रिन्छ । अब सरकारले यो वर्ष १० किलोमिटर सडक निर्माण गर्नुपर्ने छ भने ३ किलोमिटर बनाउने तर कंक्रिट सडकलाई प्राथमिकता दिनुपर्छ । 

आजभन्दा १५ वर्ष अगाडि करिब २ किलोमिटर कंक्रिट सडक बनाएको थिएँ । त्यो अहिले पनि जस्ताको तस्तै छ । मर्मत सम्भार पनि गर्नुपरेको छैन । ५०/६० टनका गाडी गुडिरहँदा पनि मर्मत गर्नुपरेको छैन । बिटुमिन सडक मैले धेरै बनाएको छु, त्यस्ता सडक ५/६ वर्षमै बिग्रिएर पुनर्निर्माण गर्नुपरेको छ । 

  • अन्तर्राष्ट्रिय अभ्यास 

विकसित मुलुकहरूमा कंक्रिट सडक धेरै पहिलादेखि प्रचलनमा आएको हो । छिमेकी राष्ट्र भारतको उदाहरण लिँदा, त्यहाँ कंक्रिट सडकलाई उच्च प्राथमिकतामा राखिएको देखिन्छ । भारत संसारकै सबैभन्दा ठुलो सडक सञ्जाल भएको राष्ट्र हो, जहाँ करिब ६८ लाख किलोमिटर सडकहरू छन् । हालसालै उसले दिल्लीदेखि मुम्बईसम्मको मुख्य एक्सप्रेसवे निर्माण गरेको छ, जसमा कंक्रिटलाई प्राथमिकता दिइएको छ ।

यसैगरी चीनमा पनि कंक्रिट सडक उच्च प्राथमिकतामा रहेको छ, र अमेरिका तथा युरोपेली मुलुकहरूमा समेत कंक्रिट सडकप्रतिको रुचि बढ्दै गएको देखिन्छ ।

नेपालले भने शतप्रतिशत बिटुमिन तथा पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ, जबकि नेपाल दक्षिण एसियामै चुनढुंगाको हिसाबले अग्रस्थानमा रहेको मुलुक हो । यस्तो अवस्थामा नीति निर्माण गर्दा सिमेन्ट कंक्रिट सडकलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । यसले सडक टिकाउ, दीर्घकालीन रूपमा सस्तो हुने मात्र होइन, विदेशी मुद्राको बाहिरिने क्रम पनि रोक्छ । साथै स्वदेशमै रोजगारी सिर्जना हुने अवसर पनि बढ्छ ।

  • दुर्घटनाको जोखिम

कालोपत्र सडक राति कालो देखिने भएकाले बढी दुर्घटना हुने सम्भावना हुन्छ । कंक्रिट सडक भने अलिकति उज्यालो देखिने भएकाले रातको समयमा सुरक्षित महसुस गरिन्छ । यद्यपि कालोपत्र सडक लचिलो हुने भएकाले दिनमा केही कम दुर्घटना हुने सम्भावना देखिन्छ भने कंक्रिट सडक कडा हुने भएकाले चिप्लिने खतरा हुन सक्छ । तर समग्रमा हेर्दा बिटुमिनको तुलनामा कंक्रिट सडक सुरक्षित देखिन्छ । 

  • पर्यावरणमैत्री विकल्प

बिटुमिन उत्पादन प्रक्रिया वातावरणका लागि हानिकारक छ । यसले कार्बन उत्सर्जन गर्छ र उत्पादनका क्रममा उच्च ऊर्जा खपत हुन्छ । बिटुमिन पेट्रोलियम पदार्थको मिश्रणबाट बनेको हुँदा दीर्घकालीन रूपमा वातावरणलाई असर पुर्‍याउँछ ।

हाल ईभी (इलेक्ट्रिक सवारी) प्रयोग बढ्दो क्रममा छ, जसले ध्वनि प्रदूषण न्यून बनाएको छ । अबको २० वर्षभित्र ८० प्रतिशतभन्दा बढी सवारी साधन ईभी हुने सम्भावना छ । यस्तो अवस्थामा कंक्रिट सडकबाट हुने भनिएको ध्वनि प्रदूषणप्रति चिन्ता लिनुपर्ने अवस्था देखिँदैन ।

  • चुनौती र बेफाइदा

नेपालमा एक निकायसँग अर्को निकायको समन्वयको कमी एउटा प्रमुख समस्या हो । सडक बनेपछि खानेपानी, विद्युत् वा दूरसञ्चार संस्थाहरूले पुनः सडक खनेर पाइप बिछ्याउने काम गरिरहन्छन् । कंक्रिट सडक बनेपछि यसो गर्नु असम्भवप्रायः हुन्छ । त्यसैले सडक निर्माणअघि नै खानेपानी, ढल, विद्युत्, दूरसञ्चार आदिसँग समन्वय गरी सम्पूर्ण पूर्वाधार व्यवस्थापन गर्नुपर्छ । 

यसका लागि सरकारले ‘वान डोर सिस्टम’ मार्फत विकास प्राधिकरण गठन गरी समन्वयात्मक रूपमा योजना बनाउनुपर्छ । कालोपत्र सडक खनेर तत्काल मर्मत गर्न सकिन्छ, तर कंक्रिट सडक काट्न र मर्मत गर्न गाह्रो हुन्छ । त्यसैले जहाँ कंक्रिट सडक बनाउने योजना छ, त्यहाँ पूर्वाधारको पूर्वानुमानसहित पूर्वतयारी हुनुपर्छ । 

त्यस्तै अर्को चुनौती भनेको कंक्रिटको दीर्घकालीन डिस्पोजल हो । सिमेन्टको आयु अधिकतम ५० वर्ष मानिन्छ । त्यसपछि सडक हटाउने वा पुनःप्रयोग गर्ने प्रविधिको आवश्यकता पर्छ । यस विषयमा अहिले विश्वभर अध्ययन भइरहेको छ । 

(लामिछाने निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमोद लामिछाने
प्रमोद लामिछाने
लेखकबाट थप