वाकीटकीले चुस्त बनाएको छ सिद्धार्थ मावि

वीरगन्ज । ‘वाकीटकी’ अर्थात् हिँड्दै कुरा गर्न मिल्ने एक प्रकारको सञ्चार साधन । यो शब्द सुन्नासाथ प्रायःले प्रहरी तथा सुरक्षा निकाय सम्झिन्छन् । अर्थात् कालो रङको पुरानो मोडलको हातेफोनजस्तो ।
तर पछिल्लो समय यस्ता ‘सेट’ सरकारी विद्यालयमा पनि प्रयोग भएको देखिएको छ । स्कुलको शैक्षिक अवस्था सुधार्न र अनुशासन कायम राख्न वीरगञ्जस्थित एक विद्यालयले यस्तो प्रविधि प्रयोगमा ल्याएको छ ।
प्रविधिको प्रयोगले शिक्षामा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेको हो, वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालय । प्रहरीले प्रयोग गर्ने ‘वाकीटकी’ यो विद्यालयका शिक्षकहरूले प्रयोग गरिरहेका छन् ।
९ महिनादेखि विद्यालयले ‘वाकीटकी प्रणाली’ बाट शैक्षिकका साथै व्यवस्थापनका गतिविधि गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक विनोद मेहता आफ्नो कार्यकक्षमा बस्दै वाकीटकीमार्फत कक्षाकोठाहरूमा भइरहेको शिक्षण गतिविधिबारे ब्रिफिङ लिइरहन्छन् ।
उनका अनुसार वाकीटकीमार्फत कुनै कक्षामा शिक्षक अनुपस्थित भए, कक्षा अनियमित भयो, वा अन्य समस्या देखापरे त्यसबारे सोधपुछ गरेर समाधान गरिने गरिएको छ । प्रधानाध्यापक मेहता भन्छन्, ‘हामीसँग अहिले ६ वटा वाकीटकी छन्, तत्काल केही आवश्यक शिक्षकलाई तथा सुरक्षा गार्डलाई उपलब्ध गराएका छौँ ।’
स्कुल परिसर करिब २ बिघामा छ, बिल्डिङ पनि धेरै छन् । त्यसकारण गेटमा र आवश्यक व्यक्तिलाई पहिला उपलब्ध गराइएको उनले बताए । प्रशासनसँग एउटा केन्द्रीय सेट रहेकाले कुनै पनि समस्या तत्काल जानकारी हुने र तुरुन्त समाधान हुने उनी बताउँछन् ।
कस्तो पर्दै छ प्रभाव ?
विद्यालय प्रशासनका अनुसार वाकीटकीले खासगरी अनुशासन, समयपालन र कक्षाको प्रभावकारिता बढाइरहेको छ । प्रधानाध्यापक मेहताका अनुसार यसको प्रयोग गर्न थालेपछि विद्यालयमा शिक्षक समयमै कक्षामा पुग्ने गरेका छन् । प्रअ मेहता थप्छन्, ‘विद्यार्थीको अनुशासनमा पनि सुधार आएको छ, शिक्षक पनि यसैका कारण अझ जिम्मेवार बनेका छन् । पठनपाठन अवरोध नभई निरन्तरता कायम हुनुका साथै समस्या समाधान ढिलासुस्ती हुँदैन । जुन यसको प्रत्यक्ष फाइदा हो ।’
अनुपस्थित शिक्षक वा आकस्मिक अवस्थाको सूचना तुरुन्तै व्यवस्थापन टिमलाई पुग्ने हुँदा यसको फाइदै फाइदा रहेको उनले बताए । ‘प्रविधिको प्रयोगले सूचना प्रवाहलाई मात्र सहज बनाएको छैन, पारदर्शिता र जवाफदेहिता पनि सुनिश्चित गरेको छ,’ उनले बताए ।
त्यस्तै विद्यालय शिक्षक छोटेलालले पनि आफूहरूले पहिला सोच्नै नसकेको काम वाकीटकीबाट भइरहेको बताए । ‘यसको प्रयोगले अनुशासित र गतिशील बनाएको छ, अब हरेक शिक्षकको भूमिका प्रत्यक्ष देखिन्छ,’ उनले यसको फाइदाबारे भने ।
अभिभावकको पनि सकारात्मक प्रतिक्रिया
सिद्धार्थ माविका अभिभावकहरूले पनि वाकीटकी प्रयोगपछि कक्षाकोठामा नियमित पठनपाठन भइरहेको बताएका छन् । ‘अहिले कक्षा छुट्दैनन्, शिक्षकहरू बढी गम्भीर देखिन्छन्,’ अभिभावक खुर्सेद आलमले भने, ‘छोराछोरीले घरमा विद्यालयको अनुशासनको कुरा गर्छन्, यो परिवर्तन साँच्चै प्रेरणादायी छ ।’
सरकारी वा सामुदायिक विद्यालयहरूमा प्रविधिको प्रयोग एकदमै न्यून छ । तर सिद्धार्थ माध्यमिक विद्यालयले भने सानो लगानीमा ठुलो प्रभाव पार्न सकेको देखिएको छ । वाकीटकी कुनै महँगो प्रविधि नभएको तर यसले ल्याउने प्रभाव भने निकै ठुलो भएको प्रअ मेहता तर्क गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्