पोखरामा बन्यो दीर्घकालीन पुनः स्थापना केन्द्र

पोखरा । पोखरामा दीर्घकालीन पुनः स्थापना केन्द्र निर्माण भएको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ३३ पुष्पबस्तीमा निर्माण भएको केन्द्रको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
पुनः स्थापना केन्द्र सञ्चालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबिच समझदारी भए पनि कार्यान्वयनमा ढिलो भएको थियो ।लामो अन्योलपछि केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।
घर–परिवार तथा समाजबाट समस्या भोगेका किशोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको उद्धार गरी केन्द्रमा राख्ने योजना छ ।
हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनः स्थापना केन्द्र सञ्चालनमा आएको सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।
‘केन्द्र सञ्चालनमा गण्डकी सरकारबाट कुनै समस्या रहँदैन । आवश्यक बजेट व्यवस्थापन पनि सोही अनुसार हुन्छ,’ उनले भने ।केन्द्रको निर्माणमा प्रदेश सरकारको ७० प्रतिशत र पोखरा महानगरको ३० प्रतिशत लगानी छ ।
उद्घाटनपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । ‘यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुनेछ,’ उनले भने, ‘सुरुमा सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा समस्या भएको थियो । अब त्यस्तो समस्या छैन ।’
पुनः स्थापना केन्द्र सञ्चालनको छुट्टै कार्यविधि तयार गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फण्डकै कारण योजनाहरू अलपत्र पर्न नहुने बताए ।
प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने उनको भनाई छ । पुनः स्थापना केन्द्र निर्माणमा प्रदेश सरकारले २ करोड लगानी गरिसकेको छ भने पहिलो तला विदेशी संस्थाको सहयोगमा निर्माण भएको हो । जमिन चाहिँ पोखरा महानगरपालिकाको मातहतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सहुलियतमा धानको बीउ
-
१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो
-
गाजामा करिब ११ हजार क्यान्सर रोगीलाई उपचारको अभाव
-
मध्यविन्दु अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने निर्णय
-
थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा