आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

औद्योगिक क्षेत्रको विकासका लागि उद्योगीहरू पनि जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री लामा

शुक्रबार, १६ जेठ २०८२, १८ : ३७
शुक्रबार, १६ जेठ २०८२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले औद्योगिक क्षेत्रको दिगो विकासका लागि उद्योगी व्यवसायीहरू स्वयं जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

उद्योग सङ्घ मकवानपुरको ४६ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले उद्योगी उद्यमीहरूको संगठन धेरै भएपनि ती सबैले वास्तविक हित नगरेको टिप्पणी गरे ।

मुख्यमन्त्री लामाले सम्पूर्ण उद्योगी व्यवसायीहरूको हकहितमा काम गर्ने एउटा बलियो र साझा सङ्गठनको आवश्यकता औँल्याउँदै अधिकार प्राप्त गर्न उद्योगीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले राज्यले लगानी गरेका केही योजनाबाट अपेक्षित प्रतिफल नआएको उल्लेख गर्दै दुग्ध पाउडर प्लान्ट र शीत भण्डारण केन्द्रमा प्रदेश सरकारले गरेको लगानीले सोचे अनुरूप उपलब्धि हासिल गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले युवाहरूको विदेश पलायन रोक्न ‘स्टार्टअप’ को अवधारणा नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिइन् । 

स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने र व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाउनेतर्फ सरकारले कानुनी सुधार गरेको उनको भनाई थियो । उनले सिन्धुली र नुवाकोटमा नमुना औद्योगिक ग्राम सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिइन् ।

सङ्घका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग सङ्घ मकवानपुरद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । उक्त अवसरमा साना, मझौला र ठुला उद्योग श्रेणीअनुसार शुभ डेरी इन्डस्ट्री प्रा.ली., नेपाल पास्ता फुड प्रा.ली. र नेपाल इकरात इन्जिनियरिङ कम्पनीलाई सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप