‘जात, धर्म, क्षेत्रीयता र भाषाका आधारमा मात्र गुटबन्दी भइरह्यो भने साहित्यको उन्नयन हुँदैन’

साहित्यकार भीष्म उप्रेतीका झन्डै दुई दर्जन कृति प्रकाशित छन्— नौवटा कवितासंग्रह, ११ वटा नियात्रा तथा निबन्ध संग्रह र एउटा उपन्यास । अंग्रेजी, जापानी, हिन्दी, सर्बियाली, फारसी, सिँहाला र टर्किस भाषामा समेत उनका कृतिहरू अनुदित भएका छन् ।
उनको पछिल्लो निबन्ध संग्रह हो, ‘जब हामी कुरा गर्छौं (२०८१) । उनै उप्रेतीलाई हामीले नौ प्रश्न राखेका छौँ ।
- हिजोआज केमा व्यस्त हुनुहुन्छ ? पछिल्लो समय लेखेको र पढेको कृतिको कुरा गर्नुपर्दा !
दैनिक काम–कारबाहीमा व्यस्त छु । पूर्णकालीन जागिर छ । त्यसबाहेक पढ्ने, लेख्ने, कहिलेकाहीँ स्थानीय तथा अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा सहभागी हुने यस्तै छ । म अहिले जीवा लामिछाने र एलबी छेत्रीका नयाँ यात्रा संस्मरणका किताब र भारतीय साहित्यकार डा. सबिता मोहनका कविताहरू पढिरहेको छु ।
- यहाँका कविता, निबन्ध, नियात्रा र उपन्यास गरी दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । वास्तवमा यहाँले किन लेख्नुहुन्छ ?
म सुरुमा रहरले लेख्थेँ । अभिव्यक्त हुनु स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक छ । यसका लागि मैले चित्रकलाको अभ्यास गरी हेरेँ, चित्त बुझेन । सङ्गीतको अभ्यास पनि गरी हेरेँ, चित्त बुझेन । त्यसपछि कविता लेखनमा आएँ । यसले मलाई आनन्द र सन्तुष्टि दियो । मानिसहरू नामले चिनिएको देख्दा, उनीहरूको सम्मान बढेको देख्दा मेरो बाल्यकालमा मलाई लोभ लाग्थ्यो । त्यसैले रहरले लेखेँ ।
नेपालमा बसेर, आत्मसम्मान कायम राखेर, अनावश्यक रूपमा नझुकेर, प्रकाशक र पत्रिकाका स्तम्भ हेर्ने पत्रकारहरूलाई खर्च र खुसामद नगरेर लेखक भइरहन सक्नु नै ठुलो सफलता हो । म आफू यस वर्गमा रहेकामा गर्व गर्छु ।
आजभोलि जिम्मेवारीबोधले लेख्छु । समाजमा अनेकौँ कुरा छन्— थितिहरू छन् बेथितिहरू छन्, राम्रा प्रभाव छन् नराम्रा प्रभाव छन्; सहजता, असहजता सबै छन् । राम्रा कुराहरूलाई बढाउन तथा जोगाउन सकियोस् भन्ने लाग्छ भने नराम्रा र बेथितिहरू घटेर जाउन्, नासिउन्, समाजमा असमानता र वर्ग भेद नहोस्; मानिसको जीवन सम्मानित होस् भन्ने लाग्छ । सकारात्मतालाई जगाउन र बढाउन लेख्नुपर्छ भन्ने लाग्छ । त्यसैले लेख्छु ।
- पछिल्लो समयको साहित्यिक बजार र बहसप्रति यहाँको धारणा के छ ?
पछिल्लो समयमा बजारतन्त्र हाबी भएको छ सबैतिर । घरमा मेहनतले, सबै भाँती पुर्याएर पकाएको सफा, शुद्ध खानेकुराले भन्दा मानिसहरूलाई रेस्टुरेन्टको फास्टफुड मन पर्छ अचेल; छोटो समयमा भइहाल्ने खालको । यही कुरो साहित्यमा पनि बढिरहेको छ । गम्भीर चिन्तनले भरिएका, जीवनबोधको अनुभूतिलाई गहिरो किसिमले लेखिएका गम्भीर रचनाभन्दा फास्टफुड टाइपका रचनाको चर्चा बढी भइरहेको देख्छु । प्रकाशकलाई पनि बिक्ने किताब निकाल्नु छ, चल्ने किताब निकाल्नु छ । पत्रकारहरू र स्तम्भकारका किताबले स्वाभाविक रूपले उनीहरूका पत्रिकामा बढी स्थान र चर्चाको अवसर पाउँछन् । त्यसैले पत्रकारिताको सहती भाषामा लेखिएका किताब बजारमा बढी आइरहेका छन् । पत्रिका र प्रकाशकले निरन्तर रूपमा मानिसहरूसम्म जे पुर्याइदियो, अन्ततः आम मानिसमा त्यसैको आदत हुने हो । अहिले गम्भीर साहित्य अलि छायामा छ, तर छ । छाया छोटो समयको अस्तित्वमा रहने हुनाले त्यो हटेपछि गम्भीर साहित्य देखिन्छ सतहमा ।
जातका आधारमा, धर्मका आधारमा, क्षेत्रीयताका आधारमा, भाषाका आधारमा मात्र गुटबन्दी भइरह्यो भने साहित्यको विस्तृत उन्नयन हुँदैन । साहित्यिक महोत्सवहरू भइरहेका छन् तर केवल एक दर्जन, डेढ दर्जन अनुहार मात्र छन् सबै महोत्सवमा । धेरैजसोमा त साहित्यको भन्दा पनि साहित्यलाई छुँदै नछोईकन अन्य विषयमा बहस बढी हुन्छ । समाजमा भएका, वातावरणमा भएका सबै पक्ष साहित्यका विषय हुन् । तिनलाई लेखनमा कसरी ल्याइएको छ ? तिनले मानिसको मानसमा सकारात्मकता भर्न कसरी योगदान गरेका छन् वा गर्न सकिन्छ ? समाजलाई र राष्ट्रलाई कसरी जोड्न सकिन्छ ? यस्ता विषयमा बहस अत्यन्तै नगण्य भएको अनुभव छ मेरो ।
- यहाँले विशेषतः कविता, निबन्ध तथा नियात्रा बराबरीजस्तो लेख्नुभएको छ, पहिले कविताकै चर्चा गरौँ । कविताप्रति यहाँको आकर्षण किन ?
साहित्यका विधामध्ये सधैँ मञ्च पाउने विधा कविता हो । सुरुमा मञ्चमा गएर उभिने र शब्द र भावमा डुबेर अभिव्यक्त हुन कविताको सहारा लिएँ । कतिपय अवस्थामा त वाचन गर्नेबित्तिकै पाइने वाहवाहले फेरिफेरि कविता लेख्न लोभ्याएको पनि हो । कवितामा पाइने शक्ति, कलात्मकता र नाजुकताले मलाई सधैँ मोहित गर्दछ । म यिनीहरू मसँग हुँदा एकदमै बाँचेको अनुभूत गर्छु । जिम्मेवारी बोधले कविता लेख्न थालेपछि कविता मेरा लागि मानिससम्म पुग्ने, आममानिसलाई आफ्नो कुरा भन्ने र उनीहरूमा सकारात्मकता हालिदिने, बेथिति र विसङ्गतिको विरुद्धमा जीवनप्रति अनुराग जगाउने बलियो हतियार कविता हो मेरो लागि । कविता मेरा लागि जीवनको अभिन्न हो अब ।
पत्रकारहरू र स्तम्भकारका किताबले स्वाभाविक रूपले उनीहरूका पत्रिकामा बढी स्थान र चर्चाको अवसर पाउँछन् । त्यसैले पत्रकारिताको सहती भाषामा लेखिएका किताब बजारमा बढी आइरहेका छन् । पत्रिका र प्रकाशकले निरन्तर रूपमा मानिसहरूसम्म जे पुर्याइदियो, अन्ततः आम मानिसमा त्यसैको आदत हुने हो ।
- अनि निबन्धप्रतिको आकर्षण किन ?
निबन्ध र कविताको नजिकको सम्बन्ध छ । आत्मपरक निबन्ध त कविताको विस्तारित रूपजस्तै देखिन्छ । जब उन्मुक्त भएर कवितामा पोखिँदा वा लेखिँदा त्यसको स्वरूप र बनावटले धान्दैन, तब निबन्ध लेख्छु । निबन्धमा खेल्नलाई, खुल्नलाई र तर्कवितर्क गर्नलाई बढी ठाउँ हुन्छ ।
- यहाँको बुझाइमा निबन्ध भनेको के हो ?
निबन्धले विचारको निर्माण गर्नुपर्छ, विचारको मन्थन गर्नुपर्छ । निबन्ध अभिव्यक्तिको कुशल माध्यम हो नै, ज्ञानको सिर्जना र प्रसार गर्ने साधन पनि हो । यो टेबल गफ पनि हो र मानिसहरूमा बौद्धिकताको कलात्मक प्रक्षेपण गर्ने औजार पनि हो ।
- आर्थिक हिसाबले लेखेर कति कमाउनुभयो वा गुमाउनुभयो ?
आर्थिक हिसाबले साहित्य लेखेर के कमाएँ भन्नु र ! किताबहरू पनि कहिले प्रकाशकले छापिदिए, कहिले आपैmँले खर्च गरेँ । हाम्रोमा वितरण व्यवस्था खत्तम छ । जसले वितरण गर्न लैजान्छ, उसले पैसा नै दिँदैन । कहिलेकाहीँ आइपुगेका केही पुरस्कारले भने केही आर्थिक भरथेग गरे । नेपालमा बसेर, आत्मसम्मान कायम राखेर, अनावश्यक रूपमा नझुकेर, प्रकाशक र पत्रिकाका स्तम्भ हेर्ने पत्रकारहरूलाई खर्च र खुसामद नगरेर लेखक भइरहन सक्नु नै ठुलो सफलता हो । म आफू यस वर्गमा रहेकामा गर्व गर्छु ।
उच्च कलात्मक निबन्धको आनन्द लिन चाहनेहरूले, मनभरि बेचैनी बोकेर भौँतारिएका र जीवनप्रतिको सकारात्मकता एवं प्रेमले भरिन चाहनहरूले, नेपाली साहित्यको निबन्धको पछिल्लो बान्की बुझ्न चाहनेहरूले मेरो यो किताब पढ्न आग्रह गर्छु ।
- यहाँको पछिल्लो निबन्ध संग्रह ‘जब हामी कुरा गर्छौं’ बारे कुरा गरौँ, पाठकलाई पढ्न सिफारिस गर्नका लागि यसमा के छ त्यस्तो ?
मेरो पछिल्लो कृति ‘जब हामी कुरा गर्छौं’ आत्मपरक निबन्ध संग्रह हो । यसमा गम्भीर एवं विशुद्ध निबन्धका साथै यात्रापरक निबन्धहरू गरी १८ वटा निबन्ध समावेश छन् । उच्च कलात्मक निबन्धको आनन्द लिन चाहनेहरूले, मनभरि बेचैनी बोकेर भौँतारिएका र जीवनप्रतिको सकारात्मकता एवं प्रेमले भरिन चाहनहरूले, नेपाली साहित्यको निबन्धको पछिल्लो बान्की बुझ्न चाहनेहरूले मेरो यो किताब पढ्न आग्रह गर्छु । मलाई विश्वास छ, मेरो यस किताबले तपाईंहरूलाई निराश बनाउँदैन, किनभने यसभित्रका कतिपय निबन्ध लेख्दा म आफैँ पनि आनन्दको उपल्लो तहमा पुगेर रमाएको छु ।
- आखिर जिन्दगी के रहेछ ?
यो अनुभूत गर्न सजिलो तर अभिव्यक्त गर्न कठिन प्रश्न हो । मानिसका आ–आफ्ना भोगाइ र बुझाइ हुन्छन् । मलाई लाग्छ, हामी सबै मानिस यहाँ जन्म लिएर आउनुको केही न केही उद्देश्य छ । हामीले जानेर वा नजानेर त्यो काम गर्नुपर्छ, गर्छौं र मात्र बिदा हुन्छौँ । मैले केही दिनअघि मात्र मञ्जुलदाइसँग अन्तर्वार्ता लिँदा यही प्रश्न सोधेको थिएँ । उहाँले उहाँकै गीतको हरफलाई टिपेर भन्नुभएको थियो, ‘जीवन भनेको के हो र, बाँच्दा गरेको काम न हो ।’ मलाई उहाँको जवाफ मन पर्यो ।