कृषि मन्त्रीका ११ महिना, दुध किसानले अझै पाएनन् भुक्तानी

समाचार सारांश
- विश्व दुग्ध दिवस हेटौँडामा मनाइयो, जसमा किसानको भुक्तानीको विषय मुख्य रह्यो। मन्त्रीले किसानको भुक्तानी दिन नसकेकोमा दुःख व्यक्त गरे।
- मन्त्रीका अनुसार, डीडीसीमार्फत करिब एक अर्ब र समग्र किसानलाई ३-४ अर्ब भुक्तानी दिन बाँकी छ। उनले भुक्तानीका लागि पहल गर्ने आश्वासन दिए।
- कार्यक्रममा दुग्धजन्य पदार्थको मौज्दात र बजार व्यवस्थापनको कुरा उठ्यो। निजी क्षेत्रले भुक्तानीको प्रतिबद्धता जनाए भने भुक्तानी नपाएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरे।
काठमाडौँ । ‘दुधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ भन्ने मुलनाराका साथ विश्व दुग्ध दिवस मनाइएको छ । सरकारले यस वर्षको विश्व दुग्ध दिवस आइतबार बागमती प्रदेशको हेटौँडामा मनाएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएसनलगायत विभिन्न संघ संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लागेको बताए ।
दुग्ध विकास संस्थान (डीडीसी) मार्फत मात्र झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए । समग्र किसानलाई तीनदेखि चार अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको पनि उनले बताए । उनले भने, ‘किसान इमानदार छन्, तर हामी इमानदार हुन सकिरहेका छैनौँ, जबसम्म पैसा तिर्न सक्दैनौँ तबसम्म हाम्रो इमानदारीको मूल्य छैन ।’ मन्त्री अधिकारीले मसान्तसम्म किसानको भुक्तानीका लागि आवश्यक पहल गर्ने आश्वासनसहितको दाबी गरे ।
मन्त्री अधिकारीले आफू मन्त्री बनेपछि किसानका पक्षमा केही गर्न सकिन्छ भनी सोच लिएर काम गरेको तर अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख गरेको कार्यक्रमबाहेक अरू केही गर्न नपाएको आफैसँग गुनासो गरे । ‘आगामी बजेट कार्यान्वयन हुने वेलासम्म म बस्छु कि बस्दिनँ, तर म नभए पनि किसानको पैसा तिर्न नसकेको जीवनभर नराम्रो सम्झना भएर रहनेछ,’ उनले भने ।
किसानलाई १५ दिनभित्र दुधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको उनले स्वीकार गरे । ‘हामी बोलेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयनमा पुर्याउन पनि प्रयत्न गरेका छौँ,’ मन्त्री अधिकारीले भने ।
दुग्धजन्य पदार्थको मौज्दात बढ्दै गएको तर बजार व्यवस्थापन हुन नसकेकाले यस्तो अवस्थामा सबै निकायको सहकार्य उनले खोजेका थिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले दुध किसानले भुक्तानी नपाएको विषयमा धेरै बहस र चासो देखिएकाले केही समयमै यसको समाधान हुने दाबी गरे । निजी क्षेत्रले पनि भुक्तानीमा गम्भीर चासो देखाउनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रका कतिपय उद्योगले एक महिनाभित्र बाँकी भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरिसकेका उनले जानकारी दिए ।
डीडीसीका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले संस्थानले किसानको भुक्तानी गर्न नसकेको स्वीकार गरे । उनले मौज्दात उत्पादन निर्यातको विकल्पको रूपमा प्रयोग गरेर किसानलाई राहत दिन सकिने सम्भावना भने रहेको बताए ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले किसानको भुक्तानीमा देखिएको समस्या विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीको कारण भएको दाबी गरे । केही डेरी उद्योगले बाध्यतावश भुक्तानी दिन नसकेको बताएका उनले केहीले भने जानाजानी बेवास्ता गरेको स्वीकार गरे ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानले बेचेको दुधको पैसा अझै पाउन नसक्नु दुःखद भएको बताएका थिए । सरकारसँग अपिल गर्दै कुन–कुन उद्योगले कति भुक्तानी गर्न बाँकी राखेका छन् भन्ने विवरण सार्वजनिक गरिनुपर्ने उनले माग गरे ।
त्यस्तै कार्यक्रममा दुध किसान, पत्रकारदेखि व्यवसायीलाई सम्मान गरिएको थियो भने अतिथिलाई दुग्धजन्य पदार्थको मायाको चिनो प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानले फर्काएन राखेपको पत्रको जवाफ, अर्को पत्र काट्ने तयारी
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक
-
सुदूरपश्चिम : सोडारीविरुद्ध मुद्दा चलेसँगै को बन्छ एकीकृत समाजवादी संसदीय दलको नेता ?
-
प्रधानमन्त्री ओली म्याग्दीकाे नारच्याङमा, के छ कार्यक्रम ?
-
सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षसँग छलफलमा सभामुख
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की