बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
सरुवामा मनपरि

‘शक्तिशाली’ सहसचिवलाई सीडीओ बनाउन कार्यविधि लत्त्याउँदै गृहमन्त्री

सोमबार, १९ जेठ २०८२, १७ : २६
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले कार्यविधि मिचेर शक्तिशाली सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीमा खटाएको आरोप लागेको छ।
  • कार्यविधि विपरीत 'क' वर्गका जिल्लाबाट अर्को 'क' वर्गमा सरुवा र पहिलो पटक नै 'क' वर्गमा पोस्टिङ गरिएको पाइएको छ।
  • यस निर्णयमा सोर्सफोर्सको प्रयोग भएको र अन्य सहसचिवहरूले राम्रो जिम्मेवारी नपाएको गुनासो गरेका छन्।

काठमाडौँ । शक्तिशाली सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउनका लागि गृहमन्त्री रमेश लेखकले कार्यविधि लत्त्याइरहेको पाइएको छ । 

गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९’लाई लत्त्याएर शक्तिशाली सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीमा खटाइरहेको पाइएको हो । 

कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) ‘घ’ ‘क’वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारी भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन’ भन्ने वाक्यांश उल्लेख छ । 

तर यस्तो कार्यविधि विपरीत सरुवा हुने सहसचिवमा गणेश अर्याल, धर्मेन्द्र मिश्र र इन्द्रदेव आचार्य छन् । यी सबै ‘क’ वर्गको जिल्लाबाट अर्को ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका हुन् । अर्याल रुपन्देहीबाट पर्सा, मिश्र कैलालीबाट सुनसरी र यादव चितवनबाट मोरङमा सरुवा भएका हुन् । 

रुपन्देहीबाट सरुवा भएर पर्सा पुगेका अर्याल २०८१ कात्तिक १२ गते पर्साको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् । 

त्यस्तै मिश्र कैलालीबाट सरुवा भएर ०८१ पुस २६ गते सुनसरीको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् । यादव चितवनबाट सरुवा भएर मोरङ पुगेका यादवले ०८१ पुस २४ गते मोरङमा प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर गरेका थिए । 

कार्यविधिमा ‘क’ वर्गका जिल्ला भनेर यकिन गरिएका जिल्ला:

CDO ranking

त्यस्तै कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) (क) मा ‘राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउँदा अनुसूची बमोजिम ‘ख’ वा ‘ग’ वर्गको जिल्लामा खटाइनेछ’ भन्ने उल्लेख छ । 

तर, दुई शक्तिशाली सहसचिव त्यो प्रावधान लत्त्याएर पहिलो पटक नै ‘क’ वर्गको जिल्लामा पोस्टिङ भएका छन् । सहसचिवमा प्रतिस्पर्धामा नाम निकालेका धर्मराज जोशीको पहिलो पोस्टिङ नै बाँके जिल्लामा भएको छ । बाँके ‘क’ वर्गको जिल्ला हो । जोशी लेखक गृहमन्त्री भएको केही समय निजी सचिव भएर पनि काम गरेका थिए । 

त्यस्तै अर्का शक्तिशाली सहसचिव पौडेलले पहिलो पोस्टिङ नै चितवन पाएका छन् । अहिले गृह मन्त्रालयमा अतिरिक्त समूहमा दर्जनभन्दा बढी सहसचिव छन् । ती मध्येका एक सहसचिवले शक्तिशालीले कार्यविधि लत्त्याएर पनि राम्रा जिल्ला पाइरहेको तर आफूलाई जिम्मेवारी दिउँ न त भन्दा पनि नपाएको गुनासो गरे । 

उनले रातोपाटीसँग भने, ‘यहाँ के कार्यविधि चल्नु, सोर्सफोर्स नै चल्छ । नेताका दाहिना सहसचिवले ‘क’ बाट ‘क’मा प्रमुख जिल्ला अधिकारी पड्काइरहेका छन् । हामी जिम्मेवारी लेऊ न त भन्दा पनि दुई महिनादेखि बरन्डामा थन्किएका छौँ ।’

यसबारे मन्त्रालयका सम्बन्धित अधिकारीले प्रतिक्रिया दिन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप