क्यानले फर्काएन राखेपको पत्रको जवाफ, अर्को पत्र काट्ने तयारी

समाचार सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) मा आर्थिक हिनामिनाको आरोप लागेपछि छानबिनका लागि क्यानलाई आवश्यक कागजात पठाउन राखेपले पत्राचार गरेको छ।
- राखेपले क्यानलाई ४८ घण्टाभित्र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो, तर एक साता बितिसक्दा पनि जवाफ आएको छैन।
- छानबिन समितिले एनपीएल आयोजनासम्बन्धी विभिन्न निर्णय र सम्झौताका कागजातका साथै आर्थिक पारदर्शितासम्बन्धी प्रश्नहरूको जवाफ मागेको छ।
काठमाडौँ । फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा आर्थिक हिनामिना भएको आरोपसहित परेको उजुरीका सम्बन्धमा छानबिन गर्न गठित समितिलाई आवश्यक कागजात उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएको औपचारिक पत्र पठाएको एक साता बितिसकेको छ ।
राखेपले जेठ १४ गते एनपीएलसँग सम्बन्धित आवश्यक कागजातहरू माग गर्दै क्यानलाई पत्र पठाएको थियो । राखेपले पठाएको पत्रमा क्यानलाई ४८ घण्टाभित्र आवश्यक कागजात र सोधिएको प्रश्नको जवाफ फर्काउन भनिएको थियो ।
क्यानलाई पठाइएको पत्रमा राखेपको कार्यकारी समिति सदस्य रञ्जना प्रधानको हस्ताक्षर रहेको छ । रञ्जना एनपीएलमा भएको भनिएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न गठित कार्यदलकी संयोजक पनि हुन् ।
क्यानद्वारा आयोजित एपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । गत पुस ६ गते सम्पन्न एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि चुमेको थियो ।
सोही प्रतियोगिताका क्रममा क्यानका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी परेको थियो । यस विषयमा अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते उजुरी परेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ र प्रचलित नेपाल कानुन विपरीत विदेशी संस्थाहरूसँग मिलेर क्यानका कार्यवाहक र कार्यकारिणीहरुले व्यापक हिनामिना र आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख गरिएको छ ।
त्यसपछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आर्थिक अनियमितताको विषयमा छानबिन गर्न जेठ ११ गते कार्यदल गठन गरेका थिए । युवा तथा खेलकुदमन्त्री राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पनि हुन् ।
सोही छानबिन कार्यदललाई एनपीएलसँग सम्बन्धित आवश्यक कागजात उपलब्ध गराइदिन राखेपले क्यानलाई पत्र पठाएको हो । राखेपले क्यानलाई ४८ घण्टाभित्र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो ।
तर, एक साता बितिसक्दा पनि क्यानबाट कुनै कागजात र पत्रको जवाफ प्राप्त नभएको जानकारी संयोजक प्रधानले दिइन् । ‘हामीले छानबिनका लागि आवश्यक पर्ने कागजात र केही प्रश्नको जवाफ माग गर्दै पत्र पठाएका हौँ । तर, अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन,’ प्रधानले भनिन् ।
मन्त्रालयद्वारा गठित छानबिन समितिका सचिव नारायण अर्यालले पनि क्यानले हालसम्म पत्रको जवाफ नफर्काएको जानकारी दिए । ‘हामीले जेठ १४ गते नै क्यानलाई औपचारिक रूपमा पत्र पठाएका थियौँ । ४८ घण्टाभित्र जवाफ पठाउन भनेका थियौँ । तर, अहिलेसम्म जवाफ आएको छैन,’ अर्यालले रातोपाटीसँगको कुराकानीमा भने ।
सचिव अर्यालले क्यानलाई आफूले ई–मेलमार्फत पनि पत्र पठाएको बताए । ‘मैले ई–मेलमार्फत पनि क्यानलाई पत्र पठाएको थिएँ । तर, जवाफ आएको छैन । अब अर्को पत्र पठाउने तयारी गरिरहेका छौँ,’ उनले भने ।
क्यानसँग माग गरिएको कागजातमा एनपीएल आयोजना गर्ने निर्णयको सक्कल प्रति, क्यानको केन्द्रीय कार्यसमितिले एनपीएल आयोजना गर्न तयारी समिति गठन गरेको निर्णयको सक्कल प्रति, तयारी समितिले गरेको कार्यको विवरण र निर्णयहरू तथा परिचालन परिषद् गठन गर्ने क्यान केन्द्रीय कार्यसमितिको निर्णयको सक्कल प्रति रहेका छन् ।
यसैगरी, आईपीएल आयोजनाका लागि तय गरिएको रकमको मापदण्ड, आधार र प्रकृयासहितको निर्णयको प्रतिलिपी तथा स्टार स्पोर्टसलाई एनपीएलका खेलहरू प्रत्यक्ष प्रसारण गर्न दिँदा अपनाइएका कानुनी आधार र सो सम्बन्धी निर्णय र सम्झौताका सक्कल कागजात पनि माग गरिएको छ ।
यसैगरी, टीएमसी नामक कम्पनी नेपाली कानुन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको अवस्थामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा दर्ता रहेको सोही कम्पनीको नामबाट किन सेवा खरिद गरिएको हो भन्ने विषयमा स्पष्ट जवाफ पनि क्यानसँग माग गरिएको छ ।
यसैगरी, टीएमसी स्पोर्टस म्यानेजमेन्ट एलएलसी दुबईलाई प्रोडक्सन र ब्रोडकास्ट अधिकार सेवा खरिदको सम्झौता गरेवापत प्राप्त आम्दानी कर छली गरी विदेश मुद्रा दुरुपयोग गरी आर्थिक हिनामिना गर्नु भएको हो ? भन्ने प्रश्नको जवाफ पनि क्यानसँग माग गरिएको छ ।
यसैगरी, तपाइँ राखेपबाट स्वीकृत विधान बमोजिम स्थापित संस्थाले नेपालमा रहेको सार्वजनिक खरिद ऐन–२०६३, सार्वजनिक खरिद नियमावली–२०६४ र राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ को दफा ४४(२) विपरीत कार्य गर्न मिल्छ ? भन्ने प्रश्न पनि राखेपले क्यानसँग गरेको छ ।
‘तपाइँले टीएमसी स्पोर्टस म्यानेजमेन्ट एलएलसी दुबईलाई एनपीएलका खेलहरू एकलौटी ढंगबाट प्रसारण गर्ने अनुमति प्रदान गर्दा कति रकममा सम्झौता गर्नु भएको हो ? सो तथ्यलाई पुष्टि गर्ने आधार र प्रमाण पेस गर्नु होला,’ राखेपले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव
-
प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’
-
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा