शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी

शुक्रबार, २३ जेठ २०८२, २० : ५२
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • नेपालको पत्रकारिता अध्ययन र सञ्चार उद्योगबीचको बढ्दो दुरीलाई लिएर सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
  • विश्वविद्यालय र सञ्चारमाध्यमबीचको खाडलले दक्ष जनशक्तिको अभाव भएको र यसलाई पूरा गर्न तालिम सञ्चालन भइरहेको बताइएको छ।
  • मिडिया उद्योगको संकटलाई देशको आर्थिक अवस्थासँग जोड्दै, अर्थतन्त्र बलियो नभएसम्म मिडिया फस्टाउन नसक्ने निष्कर्ष निकालिएको छ।

काठमाडौँ । नेपालको पत्रकारिताको अध्ययन र सञ्चार उद्योगबिचको दूरी फराकिलो बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । 

विश्वविद्यालयका कक्षाकोठामा पत्रकारिता तथा आम सञ्चार पढ्ने विद्यार्थीहरू हुने तर, सञ्चारमाध्यमका न्यूजरुमहरूमा पत्रकारको अभाव झेल्नुपरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरूले विश्वविद्यालयका कक्षाकोठा र सञ्चारमाध्यमका न्यूजरुम फरक–फरक ध्रुवमा दौडिरहेको बताएका छन् । जसले गर्दा न विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति उद्योगका लागि उपयोगी भएका छन्, न त उद्योगले चाहेजस्तो दक्ष जनशक्ति पाएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले बिहीबार आयोजना गरेको ‘अकाडेमिक–इन्डस्ट्री डायलगः ब्रिजिङ द क्लासरुम एण्ड न्यूजरुम’ विषयक संवादमा बोल्दै सरोकारवालाहरूले यसप्रति चिन्ता व्यक्त गरेका हुन् । 

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विश्वविद्यालयका कक्षाकोठा र न्यूजरुमबिचको दूरीलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । ‘हाम्रो न्यूजरूम माइतीघरबाट पुतलिसडकतिर कुदिरहेको छ । क्लासरुम चाही गोदावरीतिर कुदिरहेको छ । त्यो भेट्ने सम्भावना अहिलेको तरिकाले दुर–दुरसम्म देख्दिन । त्यसमा न्युजरुमका आफ्ना लिमिटेसन छन् र क्लासरुमका पनि आफ्ना लिमिटेसन छन्,’ चौहानले भने । 

उनले दुवै पक्षबिच संरचनागत साझेदारी र संवादको चरम अभाव रहेको बताए । विश्वविद्यालयमा हुने इन्टर्नसिपसमेत ‘कर्मकाण्ड’ मा सीमित भएको टिप्पणी गरे । ‘विद्यार्थीहरू चिठी बोकेर आउँछन्, हामी चिठी बुझेर पठाइदिन्छौ । त्यसपछि त्यो इन्टर्न गरेको विद्यार्थी कहाँ गयो, उसले के सिक्यो भनेर न न्यूजरुमले खोज्छ, न त विश्वविद्यालयले नै आफ्नो विद्यार्थीको अवस्थाबारे सोधखोज गर्छ,’ उनले भने ।

मिडिया उद्योगको सङ्कटलाई बृहत् आर्थिक सङ्कटसँग जोडेर हेर्नुपर्नेमा जोड दिए । ‘मिडियाको मुख्य आम्दानीको स्रोत विज्ञापन हो, तर देशका मुख्य उद्योगहरू जस्तै सिमेन्ट, स्टिल नै ३० प्रतिशत क्षमतामा चलिरहेका छन् भने विज्ञापन कहाँबाट आउँछ ?’ उनले प्रश्न गरे । बैङ्कहरूमा ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएर बस्नुले देशको आर्थिक गतिविधि ठप्प भएको देखाउँछ, जसको प्रत्यक्ष असर मिडिया उद्योगमा परेको छ ।

बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले कक्षाकोठा र न्यूजरुमबीचको खाडलका कारण दक्ष जनशक्तिको अभाव भएको बताए । त्यसलाई पुर्न आफूहरूले विभिन्न तालिम सञ्चालन गरिरहेको उनको भनाई थियो । 

‘हामीले अनलाइन पत्रकारिता, डेटा पत्रकारितादेखि मोबाइल जर्नालिजमसम्मका व्यावहारिक तालिमहरू सञ्चालन गर्‍यौँ,’ उनले भने, ‘तालिम लिएका जनशक्तिको बजारमा माग बढ्यो र उनीहरूको पारिश्रमिकमा समेत बार्गेनिङ क्षमता बढ्यो ।’  यसले विश्वविद्यालयको पाठ्यक्रम र अभ्यासबिचको दूरीलाई स्पष्ट पार्ने उनको भनाइ थियो ।

तालिमहरू प्रभावकारी भएपछि पत्रकारहरूको बजारमा माग बढ्यो र उनीहरूको पारिश्रमिकमा समेत बार्गेनिङ गर्ने क्षमतामा वृद्धि भएको सापकोटाको भनाई थियो । ‘तालिम लिनुअघि जति तलब पाउनुहुन्थ्यो, तालिमपछि उहाँहरूले ‘मलाई यति चाहिन्छ’ भनेर बार्गेनिङ गर्न सक्ने हुनुभयो । यसले विश्वविद्यालयको पाठ्यक्रम र अभ्यासबिचको दूरीलाई स्पष्ट पार्छ,’ सापकोटाले भने । 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहायक प्राध्यापक ऋषिकेश दाहालले पाठ्यक्रममा ‘डेटा भिजुअलाइजेसन’ जस्ता आधुनिक विषय एक लाइनमा समावेश भए पनि त्यसलाई व्यावहारिक रूपमा पढाउने र दक्ष बनाउने कुरामा ठुलो चुनौती रहेको बताए । ‘समस्या पाठ्यक्रममा मात्र होइन, त्यसलाई पढाउने तरिका र स्रोतसाधनमा पनि छ । हामीसँग स्रोतसाधनको अभाव छ, पढाउने शिक्षकलाई नै थप तालिमको आवश्यकता छ,’ उनले भने ।

मिडिया उद्योगलाई अर्थतन्त्रसँग जोडिएको ‘परजीवी’ को संज्ञा दिँदै मूल अर्थतन्त्र बलियो नभएसम्म मिडिया मात्रै फस्टाउन नसक्ने बताए । ‘मूल रुख (अर्थतन्त्र) नै स्वस्थ छैन भने त्यसमा आश्रित लहरा (मिडिया) मात्रै कसरी फस्टाउन सक्छ?’ दाहालले भने । 

विश्वविद्यालय र मिडिया उद्योगबिचको सहकार्य बढाउनुपर्नेमा जोड दिँदै दाहालले भने, ‘यी सबै चुनौतीका बाबजुद आज न्यूजरुममा जे–जति इथिकल पत्रकारिता भइरहेको छ, त्यो विश्वविद्यालयमा सरहरूले पढाएकै कारण हो । अब यो खाडल पुर्न हामीले सहकार्यको हात बढाउनुको विकल्प छैन ।’

प्रधान सम्पादक चौहानले मिडिया उद्योगको सङ्कटलाई केवल आन्तरिक समस्याका रूपमा मात्र नहेरी देशको बृहत् आर्थिक सङ्कटसँग जोडेर हेर्नुपर्नेमा जोड दिए । ‘हामी मिडिया सुक्यो, न्यूजरुम खुम्चियो भनेर चिन्ता गर्छौँ, तर हाम्रो अर्थतन्त्र नै खुम्चिरहेको छ,’ उनले भने, ‘देशको सबैभन्दा ठुलो हङसी सिमेन्ट उद्योगले चार वर्षदेखि ३० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको छ । स्टिल उद्योगहरूको हालत त्यस्तै छ । काठमाडौँका घरघरमा ‘टु–लेट’का बोर्ड झुन्डिएका छन् । जब अर्थतन्त्र नै चल्दैन भने विज्ञापन कहाँबाट आउँछ र मिडिया कसरी चल्छ ?’ 

बैङ्कहरूमा ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएर बस्नुले देशको आर्थिक गतिविधि ठप्प भएको देखाउने बताए । जसको प्रत्यक्ष र गहिरो असर मिडिया उद्योगमा परेको उनको भनाइ छ ।

इन्डस्ट्री एक्सपोजरमा हाम्रो कमी छ । यसलाई कसरी इनह्यान्स गर्न सक्छौँ ? भन्ने प्रश्नमा प्रधान सम्पादक चौहानले समस्या नेपालमा मात्र नभई संसारभर रहेको बताए । जनशक्ति घटाएर राइट साइज गरेर अनि इफिसियन्ट प्रोडक्सनमा ध्यान दिएको उनको भनाइ छ । बिस्तारै कस्तो कसरी चल्छ, कसैले जिम्मा लिन नसक्ने बताए । तर, अहिले इिफिसियन्सी बढाउन खोजिरहेको उनको भनाइ छ । 
मिडिया, मिडिया उद्योग, सञ्चार गृह र समाचार पक्ष अब साँगुरो भए, यिनीहरू सुक्दै जान्छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको बताए ।

सञ्चार रजिष्ट्रार सापकोटाले आफ्नो कार्यालयले रचनात्मक पत्रकारिता र एआईले पत्रकारितामा पारेको प्रभावबारे पुस्तक नै प्रकाशन गर्न लागेको जानकारी दिँदै यस्ता प्रयासले संवाद र सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा पत्रकारहरूले उठाएका जिज्ञासामाथि प्रकाश पार्दै वक्ताहरूले पत्रकारको पारिश्रमिक र सेवा–सुविधा उसको दक्षता र कार्यसम्पादनमा आधारित हुनुपर्ने, तर मिडिया हाउसको आर्थिक अवस्थाले पनि यसमा प्रभाव पार्ने बताए ।

कार्यक्रमले नेपाली पत्रकारिताको भविष्य सुनिश्चित गर्नका लागि विश्वविद्यालय, मिडिया उद्योग, नियामक निकाय र स्वयं पत्रकारहरूबिच गहिरो आत्म समीक्षा र ठोस सहकार्यको तत्काल आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञान र न्यूजरुमको व्यावहारिक अभ्यासबिचको पुल निर्माण नगरी न त गुणस्तरीय पत्रकार उत्पादन हुन सक्छन्, न त मिडिया उद्योग नै स्वस्थ र दिगो बन्न सक्छ भन्ने सन्देश संवादले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप