चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
रेबेल फिल्मस्ले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । विभोर पोखरेल निर्देशक रहेको चलचित्रका निर्माता गगनलाल प्रधान हुन् ।
निर्देशक पोखरेलले हजारौँ म्युजिक भिडियो निर्देशनको अनुभव सँगालेका छन् भने निर्माता प्रधान दशकौँदेखि गीतसङ्गीत सक्रिय छन् । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’ लाई मिसाएर बनाइएको छ ।
यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ यो ट्यागलाइनले चलचित्रको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ, जसले सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।
चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतका कलाकारहरूको अभिनय छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी छ ।
चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा गरिएको छ। चलचित्रलाई काफिया फिल्मस्ले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला