बाँकेमा धमाधम काम गर्दै भूमि आयोग

बाँके। भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गर्न धमाधम काम गरिरहेको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अन्य अव्यवस्थित बोसवासीलाई आफूहरू छिटोभन्दा छिटो लालपुर्जा वितरणको काम सक्न लागिपरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताए ।
उनका अनुसार, आयोगको जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका वडा नं १ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको छ भने सोही वडाका ६८ अव्यवस्थित बोसवासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरेको छ ।
“हामी दिनरात जनतालाई जग्गाधनी मालिक बनाउन फिल्डमै खटिएका छौँ, विवादरहित तरिकाले सम्पूर्ण प्रक्रिया पूरा हुनासाथ लालपुर्जा वितरण गर्छौँ”, अध्यक्ष खनालले भने, “राजनीतिभन्दा माथि उठेर विवादरहित तरिकाले अधूरा अपूरा कार्य पूरा गर्न लागिपरेका छौँ।”
बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताए । उनले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकहरूलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे ।
आयोगले अव्यवस्थित बोसवासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरेको छ । पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नं १ मा बसोबास गर्दै आएका ६८ अव्यवस्थित बोसवासीलाई जग्गा दर्ता गरी प्रमाणपत्र वितरण गर्ने निर्णय भएको अध्यक्ष खनालले जानकारी दिए । “कोहलपुर–१ का ६८ जना अव्यवस्थित बोसवासीलाई जग्गा दर्ता गर्ने सात दिने सूचना प्रकाशन गरिसकिएको छ”, अध्यक्ष खनालले भने, “सात दिनभित्र तोकिएको राजस्व रकम जम्मा गरी परिवारमूली उपस्थित हुन सूचित गरिएको छ ।”
सूचनामा तोकिएको प्रक्रिया पूरा गरी आवश्यक कागजातसहित कार्यालयमा आउनासाथ जग्गाधनी प्रमाणपत्र वितरण गरिने अध्यक्ष खनालले बताए । आयोगले कोहलपुर नगरपालिका–१ का थप आठ सय ६४ अव्यवस्थित बोसवासीको दाबी विरोधका लागि सूचना प्रकाशन गरेको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिले राप्ती सोनारी गाउँपालिका–९ मा पनि भूमिहीन दलित, सुकुम्वासी र अन्य अव्यवस्थित बोसवासीलाई निस्सा वितरण कार्य सुरु गरेको छ । वडाध्यक्ष सोहनलाल थारूले वडामा लामो समयसम्म जग्गा नपाएका भूमिहीन सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब जग्गाधनी पुर्जा पाउने बाटो खुलेको बताउँदै जनतालाई जग्गाधनी प्रमाणपत्र प्राप्तिका लागि आवश्यक कार्य गर्न सहजीकरण गरिरहेको उल्लेख गरे ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बाँके जिल्लाको ५१ प्रतिशत भूमि ओगटेको राप्ती सोनारी गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि विशेष चासो दिन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिलाई अनुरोध गरे ।
“सडक बाटो बरु पछि बनाउला तर भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यलाई हामीले प्राथमिकता दिएका छौँ”, अध्यक्ष पौडेलले भने, “भूमिहीन र अव्यवस्थित बोसवासीलाई निस्सा वितरण र जग्गा नाप जाँचमा कुनै विवाद हुन नदिन हामीले समन्वय गरिरहेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा