आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सी जिनपिङको उदाहरण दिँदै ओलीले भने– ७० वर्ष उमेरहद फेल खाइसक्यो

आइतबार, २५ जेठ २०८२, १६ : १९
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ७० वर्षे उमेर हद फेल खाएको बताएका छन् । आइतबार काठमाडौँमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उमेर होइन कार्यक्षमता हेर्नुपर्ने बताएका हुन् । चीनका राष्ट्रपति सी जिनपिङको उदाहरण दिँदै उनले एमालेमा पनि उमेर हद फेल खाएको स्पष्ट पारे । 

‘७० वर्ष उमेर हद फेल खाइसक्यो । म अहिले ७४ मा चल्दैछु । ७० वर्ष उमेर फेल खाएन ? अब ७० मा रिटायर हुन ४ वर्ष उमेर घटाउन भएन । उमेर होइन स्वास्थ्यले साथ दिन्छ कि दिँदैन, कार्यक्षमता हुन्छ हुँदैन । यी कुराहरू मुख्य कुरा हुन्’, उनले भने । 

कार्यक्रममा ओलीले चीनमा दुई पटक मात्रै अध्यक्ष, महासचिव, राष्ट्रपति हुन पाउने व्यवस्था हटाएर सी को निरन्तरता दिएको उदाहरण पेस गरे । 

‘चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाइने व्यवस्था थियो । महासचिव दुईपल्ट हुन पाउने, राष्ट्रपति दुईपल्ट हुन पाउने नियम बनाएको थियो । सी जिनपिङको निरन्तरताको आवश्यकता ठानेपछि त्यहाँ ७० वर्ष होइन ६५ वर्ष उमेर हद थियो । अहिले उहाँ ७२ वर्ष पुगिसक्नुभयो’, उनले भने, ‘उहाँले ६५ वर्ष उमेर हद छोड्नुभयो । साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो छोड्नुभयो । अन्य विभिन्न पार्टीले उमेर हद तोकेका थिए, छोडे । त्यसकारण उमेरले होइन अन्य थुप्रै फ्याक्टर हुँदारहेछन् । आवश्यकताहरू थुप्रै पर्दा रहेछन् । मै हुन्छु भन्ने छैन । अब जड सुत्रको रुपमा समाउने होइन ।’

समयअनुसार त्यसलाई परिमार्जन गर्दै जानुपर्नेमा उनले जोड दिए । एमालेको नवौँ महाधिवेशनले अध्यक्ष पदका लागि ७० वर्षे उमेर हद लगाएको थियो । ओलीले १० औँ महाधिवेशनपछि विधानमा भएको उमेर हद व्यवस्थालाई निलम्बन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप