शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राष्ट्रको सेवा गर्ने झोला एमालेले बोकेको छ’

बिहीबार, २९ जेठ २०८२, ०९ : ३६
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले 'म झोले हुँ' भन्ने अभियान सुरु गरेपछि पूर्वमन्त्री शेरबहादुर तामाङले यसलाई समर्थन गरेका छन्।
  • अभिवादनको पछाडिको कारण, उद्देश्य, सामाजिक प्रभाव र सम्भावित परिणामबारे फणीन्द्र नेपालसँगको कुराकानीमा छलफल गरिएको छ।
  • तामाङले झोले शब्दलाई श्रम र राष्ट्रियतासँग जोडेर हेर्न आग्रह गर्दै एमालेको यस अभियानलाई समृद्धिको प्रतीकको रूपमा व्याख्या गरे।

काठमाडौँ । पूर्वमन्त्री शेरबहादुर तामाङ एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष ओलीले ‘म झोले हुँ’ भन्ने अभियान थालेपछि तामाङले यसलाई साथ दिएका छन् ।

एमाले नेतृत्वले थालेको ‘झोले अभियान’बारे चर्चा भइरहँदा यसको पृष्ठभूमि, उद्देश्य, सामाजिक प्रभाव र सम्भावित परिणाम के हुन सक्छन् ? यस विषयमा रातोपाटीका फणीन्द्र नेपालले कुराकानी गरेका छन् । 

  • ओलीले झोले अभियान थाल्नुभयो, यसप्रति निकै प्रतिक्रिया आए ? खासमा उहाँले किन यस्तो अभियान ल्याउनुभयो ? 

झोले हुँ भन्नुको तात्पर्य उहाँले पोस्टरमै प्रस्ट लेख्नुभएको छ । यसलाई शब्दसँग मात्र जोडेर हेर्नुभएन, भावना र आशयसँग जोडेर हेर्नुपर्छ । मूलतः राष्ट्रको, जनताको, देशको, निर्माणको, समृद्धिको झोला बोक्ने सन्दर्भमा उहाँले त्यो हिसाबले भन्नुभएको हो । राष्ट्रको झोला बोक्दा कसैले झोले भन्छ भने ठीकै हो । हाम्रो आपत्तिको कुरा छैन । 

  • तर सामाजिक सञ्जालमा त यसको व्यापक आलोचना भयो नि ?

समाज त डिभाइडेड छ । तपाईंले राम्रै कुरा गरे पनि आलोचना गर्ने पनि मान्छे हुन्छन् । लोकतान्त्रिक व्यवस्थामा आलोचना हुने नै गर्छ । एमालेका लगभग ३० प्रतिशत हाराहारीमा मतदाता होलान् । ७० प्रतिशत त एमालेभन्दा बाहिर छन् । तिनले आलोचना गर्ने नै भए । त्यस कारण संख्यालाई हेरेर आलोचना नै मात्र भयो भन्न मिल्दैन । 

  • शब्द चयनका कारणले पनि आलोचना भयो कि ? 

शब्दको अर्थ खोजेर मान्छेले आलोचना गरेका हुन् । नेपाली समाजमा श्रमसँग जोडिएका शब्दहरूलाई हेयका दृष्टिले हेर्ने चलन छ । झोले पनि आफैमा श्रमसँग जोडिएको शब्द हो । काम गर्नेले झोला बोक्छन् । कुनै एउटा सहयोगी कर्मचारीलाई, सहयोगी साथीलाई कुनै एउटा मालिकले नै एउटा झोला बोकिदेऊ भन्छ । त्यो श्रमसँग जोडिएको शब्द हो । त्यसैले श्रमसँग जोडिएको शब्दावलीलाई हेयको दृष्टिले हेर्ने कारणले हामीले प्रगति गरेनौँ । 

किसान झुत्रे, मैलो होला, खेतमा काम गरेर आएको किसानलाई अर्को सुकिलो मुकिलोले गाली गरिराखेको हुन्छ । हेय गरिराखेको हुन्छ । त्यसैले श्रम गर्ने श्रमिक र किसानलाई सम्मान नहुनु अपमान हो । 

  • भनेपछि एमालेले झोले शब्दलाई सम्मानसहितको ब्रान्ड बनाउन खोजेको हो ?

हो । किनभने त्यो श्रमसँग जोडिएको कुरा हो र राष्ट्रको झोला बोक्ने एउटा श्रमिकको हिसाबले यो मुलुकको समृद्धि, विकासको, प्रगतिको झोला बोक्दाखेरि कसैले झोले भन्छ भने हामी त्यो स्वीकार गर्न तयार छौँ । किनभने श्रम गरेर मुलुक बनाउने कुराको अगुवाइ हामीले गरिरहेका छौँ । यसमा हामीलाई कुनै हीनताबोध पनि छैन यसलाई हामी र नेकपा एमालेको कार्यकर्ताहरूले स्वीकार गरेका छौँ  । भोलि आम जनताले पनि स्वीकार गर्छन्, किनभने श्रमलाई अपमान गर्न पाइँदैन ।

  • भनेपछि यो पार्टीलक्षित होइन, देशकै समृद्धिलक्षित विषय हो ? 

देश र जनतालक्षित हो, विकास र समृद्धि झोला बोक्ने कुरासँग लक्षित हो ।

  • यो अभियानले एमालेलाई ब्याकफायर हुन्छ भन्ने तपाईंलाई लागेको छैन ?

मैले सुरुमै भनेँ । समाज डिभाइडेड नै छ  । एमालेलाई जुनसुकै कोणबाट भए पनि कमजोर बनाउनुपर्छ भन्ने समूह छ । हामीले राम्रो काम गरÞे पनि उनीहरूले स्वीकार गर्दैनन् । अहिले भर्खरै बजेटमा धेरै राम्रा कुरा घोषणा भएका छन् । त्यो बजेट भनेको पनि आफैमा राष्ट्रको झोला हो । अर्थमन्त्रीले झोलामै हालेर बजेट ल्याउनुभयो । त्यो राष्ट्रकै झोला थियो । अनि त्यो झोलामा देशको बजेट थियो । बजेटमा रोजगारी, समृद्धि, विकास, पूर्वाधार, निर्माणसम्बन्धी कार्यक्रमहरू थियो ।

त्यस कारण त्यस्ता चिजहरू बोक्नलाई किन हिचकिचाउनु पर्‍यो त ? ती चिजहरू म बोक्छु । ती चिज म झोलामै हालेर बोक्छु । त्यसरी बोकेबापत कसैले हेयको दृष्टिले हेर्छ भने ठिक छ नि त म त्यही हुँ भन्ने आशयमा हामीले त्यो चिजहरू प्रकट गरेको हो । असहमत राख्ने पक्षहरूले हामीलाई त्यही कुराले खुइल्याउन खोज्ने प्रवृत्ति त हुन्छ नै ।

  • एमालेमाथि आक्रमणको कुरा बारम्बार आउँछ, अध्यक्ष आफैँले पनि भन्नुहुन्छ । यसलाई चिर्न अध्यक्ष नै फिल्डमा उत्रिनुपर्ने अवस्था आयो है ? 

सामाजिक प्लेटफमहरू गरिएका आलोचनाको हिसाबकिताब हामीले गरेका छैनौँ । जनताको नजरमा गिर्नु हुँदैन भन्ने कुरामा सधैँ सचेत हुन्छौँ र जनताले ब्यालेटमार्फत दिएको मतको सम्मान गर्छौँ । त्यसलाई हामीले एकदम शिर निहुर्‍याएर अभिवादन गर्छौँ । त्यसैले जनताले ब्यालेटबाट दिने मतबाहेकको आलोचनाले हामीलाई धेरै असर पनि पर्दैन । यो आलोचनाहरूलाई हेरेर तपाईंहरूलाई पनि लाग्न सक्छ,  एमालेलाई ब्याकफायर भयो कि, एमाले समाप्त नै हुन्छ कि ? तर डराउनु पर्दैन । हामीचाहिँ जनताको बिचमा फेरि पनि बाँच्छौँ र जनताले एमालेलाई २०८४ मा पहिलो पार्टी बनाउँछन् । 

  • यो अभियान, अनि नेताहरूको अभिव्यक्ति हेर्दा एमाले ठुलै संकटमा छ कि भन्ने पनि बुझिन्छ नि ? 

हामी फिल्डमा खट्ने कार्यकर्ता हौँ । जनताको बिचमा जाँदा त्यस्तो आभास आउँदैन । एमालेले ल्याएका नीतिहरूमा जनताले साथ दिएका छन् । कहिलेकाहीँ नेता र नेतृत्वबाट आउने अभिव्यक्तिले आलोचित हुनुपरेको छ तर जनताको बिचमा जाँदा त्यस्तो लाग्दैन । ०७९ को निर्वाचनपछिका उपनिर्वाचन र विभिन्न संस्थाहरूको निर्वाचन हेर्दा एमाले सक्किएको छ ? पहिलो बनिरहेको छ नि । यो त ब्यालेटबाट जाँचिने विषय हो

  • जनता एमालेकै पक्षमा छन् भन्नुभयो । तर नेतृत्व किन आत्तिइरहेको देखिन्छ त ? 

हाम्रो पार्टी अध्यक्षले ठेट नेपाली शब्द प्रयोग गरेर दिइरहनुहुन्छ । त्यो उहाँको एउटा शैली हो । आशयमा राम्रो देखिन्छ, शब्दको रूप मात्रै हेरेर आलोचना गर्ने काम भएको छ । एमालेलाई समाप्त पार्नुपर्छ भन्ने साथीहरूले आलोचना गरेका हुन् । नेतृत्वका शब्दहरू आत्तिएर आएका अभिव्यक्तिहरू होइनन् । 

  • एमालेले ८४ मा हुने चुनावको धेरै चर्चा गरिरहेको छ । व्यापक तयारी छ हो ? 

हो । जनता आफै तयारीमा छन् । नेपाली जनताले ०८४ मा हामीलाई विश्वास गर्दैछन् ।

  • तर दुई ठुला दल मिलेर सरकार बन्दा पनि सुशासन र विकासका काम भएनन् भन्ने गुनासो छ नि ? 

हेर्ने दृष्टिकोणमा भर पर्छ । तथ्यले नै बताइरहेको छ । सुशासन भनेको के ? भ्रष्टाचार उन्मूलन भनेकै होला नि होइन ? सही ढङ्गले शासन प्रशासन चलोस् भन्ने कुरा होला । जनतालाई सेवा सुविधा राम्रो दिन सकोस्, छिटो दिन सकोस् भन्ने कुरा होला । धेरै काम अगाडि बढेका छन् । भ्रष्टाचारका ठुला केसमा सरकारले काम गरिरहेकै छ । त्यसैले सबै कुरा एकै पटक हुँदैनन् । बिस्तारै गर्दै जाने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप