सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
तीनकुने घटना

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो

मङ्गलबार, ०३ असार २०८२, १७ : ३७
मङ्गलबार, ०३ असार २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकियो। बहसपछि उनलाई साधारण तारेखमा छाड्न माग गरिएको छ।
  • मिश्रले ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरे। उनले आमाको हेरचाह गर्नुपर्ने भन्दै भागेर कतै नजाने बताए।
  • तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार अदालतमा उपस्थित भएका थिए। उनीविरुद्ध राज्यविरुद्धको कसुरलगायतका मुद्दाहरू छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।  सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । 

उनीहरुले धरौटी समेत माग नगरी साधारण तारेखमा छाड्न माग गरेका छन् । सुनुवाइ सकिएकाले आदेश लेखनमा इजलास जुटेको छ । 

थुनछेक बहसको अन्तिममा मिश्रले आफ्नो भनाइ राखेका थिए । उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका हुन् । 

आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने पनि जिकिर उनले गरे । उनले यसअघि गत वैशाख १० गते जिल्ला र जेठ २ गते सर्वोच्चमा आमाको कसम खाएका थिए ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन्। गत जेठ ११ मा मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।  

तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।  

सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप