बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

ती रामकुमारी र यी रामकुमारी झाँक्री

आइतबार, १५ असार २०८२, १६ : ५६
आइतबार, १५ असार २०८२

सारांश

  • नेकपा एकीकृत समाजवादी गठन भएको चार वर्ष पुग्नै लाग्दा नेतृ रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाइन्।
  • झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेको र नयाँ नेतृत्वका लागि अर्ली महाधिवेशन गर्नुपर्ने धारणा राखिन्।
  • झाँक्रीको अभिव्यक्तिलाई लिएर पार्टीभित्रै र सामाजिक सञ्जालमा आलोचना भइरहेको छ, र पार्टीले यसलाई गम्भीर रूपमा लिएको छ।

काठमाडौँ । माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेको आगामी भदौमा चार वर्ष पुग्दै छ । झन्डै चार वर्षअघि २०७८ साल भदौ २ गते गठन भएको एकीकृत समाजवादीले निर्वाचन आयोगबाट भदौ ९ गते दल दर्ता प्रमाणपत्र पाएको थियो ।

त्यसवेला पार्टी दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुग्दा नेतृ रामकुमारी झाँक्री पनि अग्रपंक्तिमा थिइन् । झाँक्रीले त्यसवेला नेता माधव नेपालको हात समातेर आयोगको कार्यालय प्रवेश गराएको तस्बिर र भिडियो भाइरल बनेपछि  झाँक्रीको चर्चा थप चुलिएको थियो । एकीकृत समाजवादी गठन भएपछि झाँक्री तत्कालीन कांग्रेस माओवादी गठबन्धनमा सहरी विकास मन्त्री बनिन् । तर पार्टीले झाँक्रीसहितका नेताहरूलाई फिर्ता बोलाएर अरू नेताहरूलाई मन्त्री बनाएको थियो । पार्टीको निर्णयपछि काम गर्दागर्दै मन्त्रालय छाड्नुपरेको भन्दै झाँक्रीले पत्रकार सम्मेलनमै आशु चुहाएकी थिइन् ।

त्यसैबेलादेखि अध्यक्ष चिसिएको नेपाल–झाँक्री सम्बन्ध अहिलेसम्म सुधार हुन नसकेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । पार्टी नेताहरूसँग बिग्रँदो सम्बन्धसँगै झाँक्री २०७९ मा सम्पन्न संसदीय निर्वाचनमा पराजय भोग्न बाध्य बनिन् । उनी गुल्मी २ मा एमाले सचिव गोकर्ण विष्टसँग पराजित बन्न पुगिन् । त्यसपछि २०८१ असारमा नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनमा झाँक्री उपाध्यक्ष पदमा लडिन् । तर, अर्की नेतृ जयन्ती राईले झाँक्रीलाई पराजित गरिन् । उपाध्यक्षमा पराजित भएपछि झाँक्री पार्टी नेतृत्वप्रति असन्तुष्ट बनिन् । त्यसैबेला पुन: महाधिवेशनको माग गर्ने नेताहरुको सूचीमा झाँक्री समेत सहभागी बनिन् ।

बितेको चार वर्षमा राजनीतिक उत्तरचढावसँगै अघि बढेकी झाँक्रीले पछिल्लो शनिबार रुपन्देहीमा दिएको एक अभिव्यक्तिका कारण पुन चर्चा र आलोचित बन्न पुगिन् । झाँक्री शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै थिइन् ।

त्यसक्रममा उनले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक प्रश्न उठेको मात्र बताइनन् नयाँ नेतृत्व चुन्न अर्ली महाधिवेशन गर्नुपर्ने धारणा पनि राखिन् ।

‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन’, उनले थप प्रस्ट्याइन्, ‘पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने ? आइदर अर्ली महाधिवेशन गरौँ अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।’

झाँक्रीको अभिव्यक्ति यतिसम्म त ठिकै हो । तर उनी थप एक स्टेप अघि बढेर अन्य अभिव्यक्ति दिन पुगिन् ।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरू कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आकै छ । अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ झाँक्रीले भनिन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन ? गरौँ न त अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ ।’

अहिलेकै केन्द्रीय समितिबाट पार्टी नबन्ने र छिटो विघटन हुने भन्दै उनले थपिन्, ‘अस्ति मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईँहरू पार्टी बनाउनुहुन्न र यो धेरै छिटो विघटन हुन्छ ।’

झाँक्रीको यो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा केही नेताहरूले उनको चर्को आलोचना समेत गरेका छन् भने अध्यक्ष माधव नेपालसहितका नेताहरूले पनि गम्भीर रूपमा लिएका छन् । ‘झाँक्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीर रूपमा लिएको छ । सायद आगामी बैठकमा यसबारे छलफल होला’, पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने, ‘अर्ली महाधिवेशनको कुरासम्म ठिकै हो तर ‘सिनो’ जस्ता शब्द उचित छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप