आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशका उत्कृष्ट ३० शिक्षक सम्मानित

मङ्गलबार, १७ असार २०८२, १७ : १२
मङ्गलबार, १७ असार २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले ३० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।
  • सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षकहरूलाई पुरस्कार प्रदान गरे।
  • यो कार्यक्रमले शिक्षकहरूको मनोबल उच्च बनाउने र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाबाट छनोट भएका ३० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

प्रदेशको शैक्षिक गुणस्तर सुधारमा शिक्षकहरूको योगदानको कदर गर्दै शिक्षा विकास निर्देशनालयले आयोजना गरेको ‘उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम’ अन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो ।

एक विशेष कार्यक्रमका बीच मंगलबार प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षकहरूलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कर्णालीको शैक्षिक भविष्य शिक्षकहरूको लगनशीलता र समर्पणमा निर्भर रहेको बताए ।

उनले भने, ‘यो सम्मान शिक्षकहरूको मिहिनेतको कदर मात्र होइन, प्रदेशको शैक्षिक गुणस्तर उकास्नका लागि थप उत्प्रेरणा पनि हो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।’

शिक्षा विकास निर्देशनालयका अनुसार शिक्षक छनोटका लागि मापदण्ड निर्धारण गरिएको थियो । प्रत्येक जिल्लाबाट प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका एक–एक गरी तीन जना शिक्षक छनोट गरिएको थियो ।

छनोट प्रक्रियामा लैङ्गिक समानतालाई ध्यानमा राख्दै प्रत्येक जिल्लाबाट कम्तीमा एक जना महिला शिक्षक अनिवार्य गरिएको थियो ।

यो सम्मान कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रमा रहेर काम गरिरहेका शिक्षकहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षण पेसामा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप