आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : कुलिङ पिरियडको लफडा कायमै, विद्यालय शिक्षा विधेयक ओझेलमा

बुधबार, १८ असार २०८२, २२ : ००
बुधबार, १८ असार २०८२

आज २०८२ असार १८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • कपी–पेस्ट

र्णाली प्रदेश सरकारको समग्र प्रशासनिक पुनर्संरचनाका लागि गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ले ‘रिफर्म’ अनिवार्य रहेको निष्कर्ष निकालेको छ । समितिको ठहर छ—५४ करोडको आन्तरिक आयले ३३ अर्बको बजेट धान्ने संरचनाले प्रदेशलाई दिगो बनाउन सक्दैन र यो सधैँ अनुदानमा निर्भर रहन्छ ।

  • अमेरिकाबाट डिपोर्ट 

अध्यागमन विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका चार भुटानी शरणार्थीलाई देश निष्कासनको निर्णयसहित प्रक्रिया अघि बढाएको छ । गत असार ६ गते विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका आशीष सुवेदी, अशोक गुरुङ, सन्तोष दर्जी र रोशन तामाङलाई देश निष्कासन गर्ने निर्णय गरी अध्यागमन कार्यालय काँकरभिट्टामा पत्र पठाएको हो ।

  • स्वास्थ्य बीमा

सरकारलाई स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन चुनौती थपिएको छ । कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्न स्रोतको पहिचान गर्न नसक्दा बीमा कार्यक्रम धरासायी बन्दै गएको छ । 

  • मुग्लिन–पोखरा सडक

मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

  • विकास

बाराको सिम्रौनगढ नगरपालिका–७ खजानी टोलदेखि ब्रह्म बाबा मन्दिरसम्मको सडक ढलानमा कवाडी रड प्रयोग भएको भेटिएको छ । मधेस प्रदेश सरकारको ४५ लाख लागतमा निर्माणाधीन सडकमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरूले विरोध गरेपछि अनुसन्धानको क्रममा कवाडबाट सङ्कलन गरिएको रड प्रयोग भएको भेटिएको हो ।

  • बजेटमा विवाद

संघीय संरचना अनुसार देशभरका ७६१ वटा सरकार अहिले आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रक्रियामा छन् । साउनदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा राजस्व उठाउन तथा खर्च गर्ने म्यान्डेट लिने प्रक्रियास्वरुप सबै सरकारले आफ्नो व्यवस्थापिकामा यस्तो बजेट पेस गरेका छन् । केही स्थानीय तहले भने विवादका कारण अहिलेसम्म यस्तो प्रक्रिया सुरु गर्न सकेका छैनन् ।

  • विद्यालय शिक्षा विधेयक

निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’को विवादले राष्ट्रिय राजनीतिमै हलचल ल्याएपछि विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ । सरकार तथा सांसदहरूको ध्यान प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकमै केन्द्रित छ ।

  • संघीय निजामती विधेयक

 प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिले  ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा राखिएको त्रुटि भएको भन्दै राष्ट्रियसभालाई सच्याउन आग्रह गर्ने निर्णय गरेको छ । 

  • सुनकोसी–मरिण डाइभर्सन

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजना गम्भीर संकटमा पर्ने देखिएको छ । आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको बाँध र विद्युत् गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्ने अन्तिम तयारीमा आयोजना कार्यालय पुगेको छ । 

  • क्रिकेट रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछिको पहिलो निर्णय नै तोकिएको समयमा पूरा नहुने भएको छ । कीर्तिपुरस्थित क्रिकेट रंगशाला थपिएको समयभित्र पनि निर्माण सम्पन्न नहुने निश्चित भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप