‘कुलिङ पिरियड’को गडबडीले विद्यालय शिक्षा विधेयक ओझेलमा
सारांश
- निजामती सेवा विधेयकको विवादले विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ, जसले शिक्षा ऐन पारित हुन ढिलाइ भइरहेको छ।
- शिक्षाविद् डा. विष्णु कार्कीले शिक्षक नियुक्तिमा राजनीतिक स्वार्थ हावी भएको र शिक्षाको गुणस्तरलाई ध्यान नदिइएको आरोप लगाए।
- शिक्षामन्त्री र सांसदबीचको विवादका कारण शिक्षा विधेयक पारित हुन नसकेको र बैठक स्थगित भएको छ।
काठमाडौँ । निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’को विवादले राष्ट्रिय राजनीतिमै हलचल ल्याएपछि विद्यालय शिक्षा विधेयक ओझेलमा परेको छ । सरकार तथा सांसदहरूको ध्यान प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकमै केन्द्रित छ ।
कर्मचारीले राजीनामा दिएको वा अवकाशमा गएको दुई वर्षसम्म राजनीतिक तथा संवैधानिक नियुक्ति लिन नपाउने प्रावधान राखिएको दफामा बाझिने गरी उपदफा सामेल भएको पाइएपछि अहिले सबैजसोको ध्यान निजामती सेवा सम्बन्धी विधेयकमै तानिएको छ । जसले गर्दा प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा समितिले पारित गर्ने अन्तिम तयारीमा रहेको शिक्षा विधेयक भने ओझेलमा परेको हो ।
सरकार र नेपाल शिक्षक महासंघबिच गत वैशाख १७ गते भएको सहमति अनुसार असार १५ गतेसम्ममा प्रतिनिधि सभाबाट शिक्षा विधेयक पारित गरिसक्नु पर्ने थियो । तर, शिक्षा समितिबाटै विधेयक पारित हुन सकेको छैन ।
शिक्षाविद् डाक्टर विष्णु कार्की अहिलेको अवस्थालाई गाईजात्राको संज्ञा दिन्छन् । विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने वेला निजामती विधेयकको विवादमा फसेको बताउँदै उनले शिक्षा ऐन नल्याउन चलखेल भइरहेको आशङ्का गरे ।
अस्थायी, करार तथा राहत शिक्षकहरूलाई स्थायी गर्न प्रस्ताव गरिएको ७५/२५ वा ६०/४० को कोटा प्रणाली कुनै अध्ययन, अनुसन्धान वा तथ्यांकमा आधारित नभई राजनीतिक स्वार्थ र तजबिजमा आधारित भएको कार्कीको भनाइ छ । यस्तो महत्त्वपूर्ण विषयलाई वैज्ञानिक आधारविना टुङ्ग्याउन खोजिएकोमा उनले आपत्ति जनाए ।
यो विवादले शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्यलाई भन्दा पनि शिक्षकहरूको जागिर सुरक्षित गर्ने कुरालाई मात्र प्राथमिकता दिएको कार्कीले बताए । शिक्षक लाइसेन्सको परीक्षामा धेरै शिक्षक अनुत्तीर्ण भएको उदाहरण दिँदै उनले योग्यता र क्षमताको परीक्षणविना स्थायी गर्दा शिक्षा प्रणालीमा नकारात्मक असर पर्ने बताए ।
सबै अस्थायी शिक्षकहरूलाई स्थायी हुनका लागि शतप्रतिशत अवसर दिनुपर्ने उनको भनाइ छ । त्यसका लागि खुला प्रतिस्पर्धामार्फत मात्रै नियुक्ति हुनुपर्नेमा उनले जोड दिए ।
सबै शिक्षकलाई एउटै डालोमा हाल्नुको सट्टा उनीहरूको अवस्थाअनुसार वर्गीकरण गरेर योग्यता, क्षमता र पढाउने इच्छाको आधारमा सामान्य परीक्षा र मूल्याङ्कनमार्फत स्थायी गर्नुपर्ने कार्कीले प्रस्ट पारे । उमेर वा अन्य कारणले सेवामा रहन नचाहनेलाई सम्मानजनक ‘गोल्डेन ह्यान्डशेक’ (आकर्षक सुविधा) दिएर बिदा गर्नुपर्नेको भनाइ छ । इच्छा भएको तर योग्यता नपुगेको हकमा उनीहरूलाई २–४ वर्षको समय (ग्रेस पिरियड) दिएर योग्यता पुर्याउने अवसर दिनुपर्ने उनले बताए ।
स्थायी गर्ने प्रतिशत र प्रक्रियाजस्ता प्राविधिक विषयहरू ऐनमा नभई नियमावलीमा राख्नुपर्ने कार्की बताउँछन् । नियमावलीमा राख्दा भविष्यमा आवश्यकताअनुसार परिमार्जन गर्न सकिने उनको भनाइ छ ।
शिक्षा ऐन ल्याउन शिक्षक, सरकार र सांसदहरू सबै लचिलो भएर विद्यार्थीको भविष्य र शिक्षाको गुणस्तरलाई केन्द्रमा राखी दीर्घकालीन समाधान खोज्नुपर्ने कार्कीले बताए । हालको विवादले अर्को ठुलो द्वन्द्व निम्त्याउने खतरा भएकाले यसलाई विवेकपूर्ण तरिकाले समाधान गर्न आवश्यक रहेको उनले बताए ।
- अन्तिम अवस्थामा रोकिएको विधेयक
गत मंगलबार बसेको शिक्षा समिति बैठकमा प्रस्ताव गरिएका विषयहरूमा सहमति जुटिसकेको थियो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले शिक्षा उपसमितिले दिएको प्रतिवेदनमा छलफल सकिएको भन्दै विधेयक पारित गर्ने तयारी गरेका थिए ।
त्यही वेला पूर्वशिक्षामन्त्री तथा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले थप विषय राखे । उनले प्रारम्भिक बाल विकास शिक्षा पढाउनेलाई शिक्षकको परिभाषाभित्र राख्नुपर्ने, द्वन्द्व पीडित शिक्षकबारे समेत ऐनमै व्यवस्था गर्नुपर्ने जस्ता विषयमा थप छलफलको माग गरे ।
उनको भनाइमा अन्य सांसदले समेत छलफल खोजेपछि मंगलबारको बैठक विधेयक पास नगरीकनै स्थगित भयो । बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजे सुरु भयो । दिनभर सांसदहरूलाई संसदीय समितिमा राखियो । बैठकको प्रतीक्षामा उनीहरू बसे । तर, बैठक सुरु भएपछि थप छलफल आवश्यक रहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही दिन समय माग गरे, र बैठक स्थगित गर्न भने ।
मन्त्रीको प्रस्तावमा सांसदहरूले आपत्ति जनाउँदै जसरी भए पनि पास गर्नुपर्ने अडान कायम राखे । त्यसपछि शिक्षामन्त्री पन्तले सरकारको असहमतिमा विधेयक पारित गर्ने भए गर्नुहोस् भन्दै आक्रोश व्यक्त गरे ।
बैठक स्थगित गर्ने मनसायमा पुगेका सभापति थापाले पनि आक्रोशित हुँदै लामो भाषण दिए । उनले मंगलबार १० मिनेट मात्रै समय दिएको भए विधेयक पास गरिदिने बताए ।
‘हिजो मलाई माननीयज्यूहरूले १० मिनेटमात्रै समय दिएको भए विधेयक पारित गरिदिन्थेँ । सबै विषय सकिएपछि माननीयज्यूहरूले अनेकन विषय ल्याउनुभयो । आज अब सरकारबाट झन् गाह्रो भयो,’ उनले भनेका थिए ।
शिक्षामन्त्रीले नेपाल शिक्षक महासंघलाई मनाउन थप समय माग गरेपछि बुधबारको बैठक अनिश्चित समयका लागि स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण