कीर्तिपुर रंगशाला असारभित्र नबन्ने, प्रधानमन्त्री ओलीको पहिलो निर्णय समयमै पूरा भएन
सारांश
- प्रधानमन्त्री ओलीको पहिलो निर्णय अनुसार कीर्तिपुर क्रिकेट रंगशाला तोकिएको समयमा बन्ने सम्भावना छैन।
- निर्माण व्यवसायीले असार मसान्तभित्र रंगशाला निर्माण नसकिने जानकारी गराएका छन्, जसका कारण समय थपिने भएको छ।
- रंगशाला निर्माणमा ढिलाइ हुनुको मुख्य कारण वर्षा, माटोको समस्या र कुर्सी तथा हाइमास्ट पोल भारतबाट आउनु हो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछिको पहिलो निर्णय नै तोकिएको समयमा पूरा नहुने भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट रंगशाला थपिएको समयभित्र पनि निर्माण सम्पन्न नहुने निश्चित भएको हो । संघीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर चक्रवर्ती कण्ठले बुधबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रंगशाला असार मसान्तभित्र नसकिने जानकारी दिएका हुन् ।
२०८१ असार ३१ गते प्रधानमन्त्री बनेपछि ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गरेका थिए । निर्णयमा मैदानमा दर्शक बस्ने प्याराफिट, रात्रिकालीन खेलका लागि फ्लडलाइटलगायत संरचना ३०० दिनभित्र बनाउने उल्लेख थियो ।
तोकिएको अवधिमा काम नसकिने देखेपछि असार मसान्तभित्र सक्न निर्देशन दिइएको थियो । तर, यो अवधिमा पनि काम नसकिने कण्ठले बताए ।
२०८० फागुन १९ गते प्याराफिट र फागुन २२ गते फ्लडलाइटतर्फको सम्झौता भएको थियो । ‘काम सुरु गराउँदा ३०० दिनभित्र निर्माणसम्पन्न गर्नुपर्ने निर्णयअनुसार यसको अवधि २०८२ वैशाख २९ गते हुन आउँछ,’ कण्ठले भने, ‘हामीले २०८२ को वैशाख २४ गतेसम्म गराउन सकिन्छ भन्ने हिसाबले तीन सिफ्टमा काम गर्नेगरी सम्झौता गरेका थियौं र त्यसैअनुसार समयावधि दिइएको थियो ।’
तर विविध कारणले छोटो अवधिमा तयारीको काम गर्नुपरेको र काम गर्दैगर्दा बिचमा वर्षा लागेकाले ढिलाइ भएको उनको भनाइ छ । ‘माटो एकदमै नरम हुने अथवा कडा हुने समस्याले निर्माणमा अवरोध पुर्याएको छ,’ उनले भने, ‘हल्का पानी पर्दा खेरि पनि सामान्य मानिस पनि चिप्लिने डर हुँदाखेरीको अवस्थामा उपकरण सञ्चालन हुने अवस्था हुँदैन । यी भएको कारणले पानी पर्दा खेरिको अवस्थामा सुरुमा जतिखेर हामीले जगको कामहरू गराइरहेका थियौं, त्यो गराउने क्रममा माटोहरू भासिन गएको हुनाले डिजाइन केही परिवर्तन भयो ।’
हालसम्म प्याराफिटतर्फ ४९ करोड २५ लाखको सम्झौतामा ५४.६७ प्रतिशत भुक्तानी भएको छ भने भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । यस्तै, फ्लडलाइटतर्फ ४७ करोड ३८ लाखको सम्झौतामा करिब २८ प्रतिशत अर्थात् १३ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ, जसमा भौतिक प्रगति ४० प्रतिशत मात्र छ ।
उनका अनुसार प्याराफिटमा जडान हुने कुर्सी नेपालमा उत्पादन नहुने भएकाले भारतबाट आउने क्रममा छ । फ्लडलाइटका लागि आवश्यक ५५ मिटर र साढे ४५ मिटर उचाइका हाइमास्ट पोल पनि भारतमै बनिरहेका छन् । ‘यी दुवै पोलमा आउने क्रममा रहेको हामीले जानकारी पाएका छौं । सम्भवतः हप्तादेखि १० दिनभित्रमा छ वटै पोल साइटमा आइसक्छ,’ उनले भने ।
फ्लडलाइट निर्माणको प्रक्रिया यसअघि राष्ट्रिय खेलकुद परिषद्बाट सुरु हुँदा पाँच पटक बोलपत्र रद्द भएको थियो, जसले कामको जटिलता दर्शाउँछ ।
‘यो असार मसान्तभित्र नसकिने देखिएको छ । हामीले निर्णय गरेर सम्बन्धित निर्माण व्यवसायीलाई जानकारी गराउँछौं,’ उनले भने, ‘म्याद थप कहिलेसम्म गर्ने र कुन बेलादेखि चाहिँ हर्जाना लाग्छ अथवा लाग्दैन भन्ने निर्णय गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026