शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुशासनको पक्षपोषक सरकारको पतन अनिवार्य छ : माधव नेपाल

शुक्रबार, २० असार २०८२, १४ : ३०
शुक्रबार, २० असार २०८२

सारांश

  • माधवकुमार नेपालले वर्तमान सरकार कुशासनको पक्षपोषक रहेको र यसको पतन अनिवार्य रहेको बताए।
  • उनले सरकार जनमुखी नभएको र जनविरोधी रहेको आरोप लगाए, साथै एमाले संकटग्रस्त भएको दाबी गरे।
  • नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य रहेको बताए तर एमालेमा अन्तर्विरोध बढेको टिप्पणी गरे।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार कुशासनको पक्षपोषक रहेको भन्दै यसको पतन अनिवार्य रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी सङ्गठनको काठमाडौँ जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् । 

‘यो सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहानालाई सम्मान गर्न सकेको छैन र सही नीति अवलम्बन गर्न सकेको छैन’, अध्यक्ष नेपालले भने, ‘जनताका पीडा वेदनालाई सम्बोधन गर्न सकेको छैन । त्यसो भएकाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन र जनचाहाना अनुरूप परिणाम दिने अवस्था पनि छैन ।’

उनले सरकार जनमुखी नभई जनविरोधी रहेको पनि बताए । ‘सरकार सुशासनको पक्षधर होइन कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन’, नेपालले भने,  ‘यसको पतन अनिवार्य छ । खाली हामीले समय पर्खनुपर्ने मात्र हुन्छ आत्तिनुपर्ने छैन ।’ 

नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै नेता नेपाले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय रूपमा प्रगति भएकोमा आफूहरूलाई पनि उत्साहित बनाइरहेको भन्दै कम्युनिस्ट आन्दोलनको भविष्य रहेको बताए । तर नेपालले नेकपा एमाले भने सङ्कटग्रस्त रहेको दाबी गरे । 

‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट भनिएको नेकपा एमाले निकै सङ्कटले ग्रस्त भएको छ । त्यहाँभित्र अन्तर्विरोध बढ्दै गइरहेको छ’, नेपालले भने, ‘अब त्यसको भविष्य के हुने हो अहिले नै भन्न सक्ने स्थिति छैन ।’ एमालेको आन्तरिक कुरामा आफू प्रवेश नगर्ने भन्दै उनले कुभलो चिताउने, कुभलो गर्ने, अनुचित गर्ने, व्यक्तिवादको सिकार हुने र निम्न पुँजीवादी प्रवृत्तिमा एमाले डुबेको बताए ।

‘दक्षिणपन्थी अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकै प्रवृत्ति बोक्नेलाई परास्त गर्नुपर्छ र क्रान्तिकारी मार्क्सवादकाे दिशामा अघि बढ्नैपर्छ’, नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप