बाढीले क्षति पुर्याएको सडक मर्मतको काम थालियो, रसुवागढी नाका दसैँअघि खुल्ला ?
सारांश
- चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल बाढीले क्षति पुर्यायो।
- बाढीले रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ, सडक मर्मतको काम सुरु भयो।
- दसैँअघि नाका खोल्ने प्रयास भएपनि भौगोलिक कठिनाइका कारण जोखिम रहेको छ।
काठमाडौँ । मंगलबार बिहानै आएको आकस्मिक बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको छ ।
चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका सब–इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले उक्त सडक खण्ड अन्तर्गत रसुवागढी, टिमुरे, लिङलिङ र रोंगा क्षेत्रमा करिब १ हजार १ सय मिटर सडक क्षति पुगेको जानकारी दिए । बाढी र पहिरो समेतले बिगारेको उक्त सडक मर्मतको काम थालिएको उनले बिहीबार बिहान रातोपाटीलाई बताए ।
‘सडकको संवेदनशील क्षति भनेको गाडी नै पास गर्न नसक्ने भनेको चाहिँ १०–११ ठाउँमा छ,’ पौडेलले भने, ‘दुरीहरू सबै ठाउँको लगभग–लगभग अनुमानित तयार गरेको छौँ । त्यसरी टेप तन्काएर नाप्न मिल्ने अवस्था छैन । फिल्डमा मान्छे हिँड्न पनि कठिनाइ छ । अनुमानित १ हजार १ सय मिटर सडक अति संवेदनशील तरिकाले क्षति भएको छ ।’
पौडेलका अनुसार केही ठाउँमा आवतजावतै कठिनाइ हुने गरी क्षति भएको छ । यद्यपि स्याफ्रुबेशीतर्फबाट फिल्डमा तीन वटा एक्स्काभेटर पठाएर बिहीबारदेखि काम सुरु गरिएको उनको भनाइ छ ।
उनले भने, ‘हिजो तयारीमै बित्यो । आजदेखि काम सुरु भएको छ । यो सडक यति नै समय लागेर यति दिनमै खुल्ला भन्ने त अब ठ्याक्कै भन्न त अनिश्चितै छ ।’
दसैँअघि नै सबै काम सकेर नाका खुलाउने गरी काम अघि बढेको उनले बताए ।
‘दसैँसम्ममा पुरै खोल्ने हाम्रो प्रयास हो । हामी अगाडि बढेका छौँ,’ उनले भने, ‘तर भौगोलिकरुपमा अति कठिनाइ भएको हुनाले, दुर्घटना जे जस्तो भए पनि थप दुर्घटना ननिम्तियोस् भन्ने हिसाबमा काम गरिरहेका छौँ । काम गर्नमा जोखिम पनि छ ।’
- कस्तो अवस्थामा छ सडक ?
उनकाअनुसार सडकमा क्षति पुग्दा कुनै ठाउँमा ब्रेकर नै लगाउनुपर्ने अवस्था छ भने कुनै ठाउँमा नदी किनारामा पर्खाल लगाएर सडक उठाउनु पर्ने अवस्था देखिएको छ ।
‘ब्रेकरले फुट्छ कि फुट्दैन । कुनै ठाउँमा ब्रेकरले नभएर खोलैबाट उठाउनुपर्ने जस्तो छ । खोलामा जालीहरू भरेर पनि असम्भव छ । फेरि भित्ता चढाउँदा धेरै काट्न मिल्ने जस्तो पनि छैन’, उनले भने ।
यस्तै नेपाल र चीन सिमानामा भएको मितेरी पुलमा क्षति पुगेको छ । त्यो पुल बताउन सरकारले चीन सरकारसँग समन्वय गरेर अघि बढ्ने उनले बताए । पौडेलले भने, ‘मितेरी पुलका लागि नेपाल सरकारले चीन सरकारलाई भनेपछि बन्ला, तत्कालका लागि बेलिब्रिजै बन्छ होला । किनभने तलैबाट फाउन्डेसन बनाउन लामो समय लाग्छ ।’
पक्की पुल बनाउन कम्तीमा ५/६ महिना लाग्ने र बेलिब्रिज १ महिनामा तयार हुने भएकाले बेलिब्रिज नै बनाउँदा उचित हुने उनले तर्क गरे । तर सडक विभागसँग उपलब्ध रहेका बेलिब्रिज त्यहाँ अहिले लैजान सकिने अवस्था नभएको उनको भनाइ छ ।
६ वर्षअघि अर्थात् २०७६ जेठमा सञ्चालनमा आएको उक्त पुल चिनियाँ सरकारको सहयोगकै बनेको थियो । उक्त पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले जम्मा पाँच महिना लगाएको थियो । पुलको लम्बाई ११० मिटर र चौडाइ ९ मिटर रहेको थियो । चीन सरकारको सहयोगमा बनेको हुनाले चीन सरकारसँग वार्ता गरेर मात्रै पुन:निर्माण अघि बढ्ने सडक विभागका सुपरिटेण्डेन इन्जिनियर शुभराज न्यौपानेले बताए ।
‘यो चीन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा बनेको पुल हो । चीनसँग सहकार्य नगरी निर्माण अघि बढाउन मिल्दैन । यसका लागि सरकारले पहल गर्ने छ ।’
- कति छन् जनशक्ति र उपकरण ?
उनकाअनुसार सडक विभागबाट सुपरभाइजर लगायत प्राविधिक कर्मचारी चार जना फिल्डमा खटाइएको छ । साथै एक्स्काभेटर तीन वटा परिचालन गरिएको छ । थप आउने क्रममा छ । शुक्रबार बिहानसम्म एउटा मेसिन स्यफ्रुबेशी पुग्ने उनले बताए ।
‘मेसिनै मात्र धेरै हालिहालेर पनि काम हुने अवस्था छैन । किनकि त्यो बाटोबाट क्रस गरेर पारिपट्टि नै पुग्न सकिने अवस्था छैन’, उनले भने, ‘अहिले भएकै मेसिनले पनि काम गर्न अफ्ठेरो छ । पहिरो नखोलेसम्म त यताबाट भएका केही इक्विपमेन्टहरू पर पुर्याउन पनि अप्ठ्यारो छ ।’
स्याफ्रुबेशी नजिकै रुङ्गाखोलाको पुल खुलाए अलि सहज हुने बताए । उक्त पुलमा पनि बाढीले क्षति पुगेको छ । त्यसभन्दा माथि पुगेपछि मात्रै ३/४ वटा उपकरण प्रयोग गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण