शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘सीके राउतले तिम्रो श्रीमतीको घर मलाई चाहियो भन्नुभयो’

जनमत पार्टीको मुटु म हुँ : ई. सुरेन्द्र नारायण यादव, निलम्बित कोषाध्यक्ष, जनमत पार्टी
शनिबार, २८ असार २०८२

जनमत पार्टीका कार्यकर्ताले भन्ने गर्थे; कुनै समय अध्यक्ष सीके राउत, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव नभई चिया पनि पिउँदैनथे ।

सीकेका के माग मात्रै पूरा गरेनन् यादवले ? घर, गाडी अर्थात् सीके जे चाहन्थे यादवले पूरा गरिहाल्थे । तर आज उनीहरूबिच चरम मनमुटाव छ । कतिसम्म छ मनमुटाव छ भने कि, सीकेले यादवलाई दुई पटक प्रहरी हिरासतमा पठाइसकेका छन् । 

जानकारहरूका अनुसार ललितपुरको इमाडोलमा रहेको यादवको घर सीकेले मागे, तर उनले त्यो दिन मानेनन् । यही कारण दुई जनाबिचको दुश्मनीले सीमा पार गर्‍यो ।

कुनै वेलाका विश्वास पात्र यादव सीकेसँग कसरी टाढिए ? सीकेलाई पहिला भगवान् मान्ने उनी अहिले किन राक्षसको कोटीमा राख्छन् ? एक्लिँदै गएको जनमतको अबको भविष्य के होला ? लगायत विषयमा जनमत पार्टीका निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् ।

(पूरा अन्तर्वार्ता भिडियोमा) 

  • तपाईं पटक–पटक प्रहरी हिरासतमा किन पुग्नुहुन्छ ?

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र केही पदाधिकारीले पैसाको लेनदेनबारे एउटा उजुरी दर्ता गराउनुभएको थियो । जुन कि पार्टीको आन्तरिक मामिला हुनुपर्ने हो । पूर्णतः आन्तरिक । आफ्नै पार्टीको अध्यक्षले आफ्नै पार्टीको कोषाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएको मैले पहिलोचोटि थाहा पाउँदैछु । 

surendra naryan yadav (2)

  • पार्टीको रकम हिनामिना गरेपछि उजुरी हालिहाल्छन् नि । भ्रष्टाचारचाहिँ कति गर्नुभएको थियो ? 

यो सबै बनावटी कुरा हो । मलाई बदनाम गर्ने, मेरो व्यक्तित्वमा हानि पुर्‍याउन यसो गरिएको हो । आजसम्म सुरेन्द्रनारायण यादवले एक कप चिया कसैको खाएको छैन ।

  • डा. राउतले तपाईंलाई दुःख दिनुको कारण नि ?

मेरो व्यक्तिगत माग पूरा नगरे तिमीलाई जेल पठाइदिन्छु भनेर धम्क्याउनुहुन्थ्यो । उच्च तह लगाएर यसलाई जेलमा थुन्दिन्छु भन्नुहुन्थ्यो । त्यसपछि  मैले भनेजस्तो गरिदिन्छ कि भनेर उहाँलाई लागेको हुन सक्छ । तर त्यसले मलाई अलिकति पनि विचलित बनाएन । बरु म अझै बलियो भएँ ।

  • व्यक्तिगत माग भनेको के हो ? 

सबै अभिलेख अहिले यहाँ नभनौँ । उहाँको चालकको पैसा, गाडीको मासिक किस्ता, पीएसओको भत्ता, कर्मचारीको तलब, घरको खर्च, कार्यालयको खर्च सबै दिनुपर्ने रे ! ५० हजार रुपैयाँबाट दिन सुरु गरेर महिनामा ५ लाख रुपैयाँसम्म दिन्थेँ । 

  • पैसा उनकै खातामा पठाउनुहुन्थ्यो ? 

उहाँकोमा पुग्ने गरी अर्काको खातामा जान्थ्यो । 

  • तपाईंले नै भनेअनुसार जनकपुरमा घर दिनुभयो । महिनाको पाँच लाख त राउतलाई नै खर्च दिनुहुन्थ्यो । अनि तपाईंको आम्दानीको स्रोत के हो नि ?

म आजभन्दा २२ वर्ष पहिला पुल्चोकबाट इन्जिनियरिङ उत्तीर्ण गरेर व्यावसायिक वृत्तिमा लागेको मान्छे हुँ । म दिल्लीमा सन् २०१० मा महिनाकै करिब तीन लाख तलब खान्थें, प्याकेजमा । त्यसपछि तुरुन्तै कतार गएँ । त्यहाँ २०१७ अर्थात् सात सालमा म यति उच्च तहमा गएँ र यति आम्दानी आउँथ्यो कि म अलि बौलाहा नै भएको थिएँ । दुई–तीन लाख दिन त मलाई केहीजस्तै लाग्दैन थियो ।

  • विदेशमा रहेका नेपालीबाट पनि पैसा उठाउनुभएको थियो रे नि ? 

कतार, यूएई, मलेसिया, साउदी अरेबिया र बहराइनका साथीहरूले सहयोग गर्नुभएको छ । पैसा संकलन गर्ने मान्छे मै हुँ र साथीहरूले मलाई नै विश्वास गरेर पार्टीलाई सहयोग गर्नुभएको हो । 

surendra naryan yadav (3)

  • सीके राउतसँग कहाँ गएर तपाईंको कुरा मिलेन ?

पार्टीको निर्णय भनेर राति १२ बजे फेसबुकमा आउँछ । पार्टी चलाएको कि घर चलाएको हो ? घरमा पनि परिवारसँग छलफल गरेर निर्णय लिइन्छ । यहाँ त एकल पुरुष प्रदर्शन भयो । 

  • त्यो हो कि ललितपुरको इमाडोलमा रहेको तपाईंको घर पास गर्न सीकेले भनेपछि मनमुटाव भएको हो ?

यो भनेको अन्तिम घटना हो । अन्तिम उहाँको मागचाहिँ तिम्रो श्रीमतीको नाममा भएको घर मलाई चाहियो भनेर भन्नुभयो ।

  • तपाईंको सारा लगानी सांसद बन्नलाई थियो । त्यो नपाएपछि सीकेको विरोध गर्न थाल्नुभयो ? कुरा त यही हो भन्छन् नि ।

म पदकै पछाडि लाग्ने मान्छे होइन, तर कसलाई सांसद बनाउने, कसलाई मन्त्री बनाउने कुरा पार्टीको कार्यकारिणीबाट गरियोस् भन्नेचाहिँ मेरो माग थियो ।

  • तपाईंले विदेशमा उठाएर पाँच करोड रुपैयाँ हिनामिना गरेको भन्ने उहाँको आरोप छ नि । 

त्यो गलत हो । सुरेन्द्र नारायण यादवको नाममा विदेशबाट एक रुपैयाँ पनि आएको छैन । किनभने म आफैँ विदेशमा थिएँ । तीन–चारजनाको नामको खाता थियो । त्यो सबै पैसा डाक्टर राउतले चलाउनुहुन्थ्यो ।

  • सुरेन्द्र नारायण यादव र सीके राउतको यस्तो मारामार छ । कारबाही छ । जेल, थुनामा पठाउनेदेखि के के छ–छ । तर सुरेन्द्रजीको श्रीमतीलाई चाहिँ नीति आयोगमा तिनै सीकेले नियुक्ति दिन्छन् । यो नाटकचाहिँ के हो ? 

यो पद डा. सीके राउतले मेरी श्रीमतीलाई दिएको होइन । यो पद मैले आर्जन गरेको, जनमत पार्टी, जसलाई मैले शून्यबाट खडा गरेर यत्रो राष्ट्रिय पार्टी बनाएँ, त्यो पार्टीमा कहीँ न कहीँ मेरो पनि हक लाग्छ नि । मेरो अवस्था यस्तो पनि थियो कि, खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छाबाको अनुहार भनेजस्तै। नियुक्ति पत्रसहित मेरो र श्रीमतीको फोटो राखेर राति नै भाइरल बनाइयो । 

  • कोषाध्यक्षबाट अहिले तपाईं निलम्बनमा हुनुहुन्छ । इमाडोलको घर पास गरिदिनु स्पष्टीकरण फिर्ता लिइदिन्छु भनेर सीकेले भन्नुभएकै थियो रे । सजिलो बाटो नरोजेर तपाईंले आफैले दुःखको बाटो रोजेको रे नि त ? 

उहाँ साँच्चै व्यक्तित्व विकारबाट ग्रस्त हुनुहुन्छ । आत्मरति व्यक्तित्व विकार भन्छ नि, आत्मरति व्यक्तित्व विकार छ । उहाँलाई के छ भने, मैले जुन ठाउँमा खुट्टा राख्यो, त्यो जमिन मेरो हुनुपर्छ भन्ने अहंता छ उहाँमा । जनकपुरमा मेरो घरमा बस्न दिएँ, पछि मेरै घर भयो भनेर मान्छेलाई सन्देश दिनुभयो । मलाई राम्रो लाग्यो, यो मेरै घर हो अथवा मलाई देऊ भन्ने तरिका राम्रो हो र ? 

  • तपाईंले पनि त उहाँको घर बिगार्दिनुभयो भन्छन् नि ?

आफ्नो घर आफैँ बिगारेको हो उहाँले । मैले बिगारेको होइन ।

surendra naryan yadav (1)

  • यत्रो पढेको, यत्रो सोच भएको मान्छे । 'देश टुक्र्याउने सीकेको नारा'को लहैलहैमा लाग्नुभयो है ? 

लहैलहैमा त नभनौं । राज्यबाट हेपिएको महसुस भयो, भन्नुस् न सीधा भन्दा ।

  • सीकेसँग अझै मिल्ने ठाउँ छ कि सकियो अब ? 

अब महाधिवेशनसम्म त पर्खिनुपर्‍यो नि ।

  • अब तत्कालका लागि तपाईंको योजना के छ ? 

आन्तरिक संघर्ष गर्ने, पार्टीभित्रै । 

  • संघर्ष कसरी गर्नुहुन्छ ? बैठकमै जान पाउनुहुन्न अब तपाईं ।

जनमत पार्टीका शुभेच्छुक छन् । उहाँहरूसँग त बैठक गर्न सक्छु नि । 

  • सीकेले सुरेन्द्र नारायण यादवलाई बाहिर राखेर जनमत पार्टी चलाउन सक्दैनन् भन्ने कुरा स्थापित गर्ने कसरतमा हुनुहुन्छ भन्ने छ । त्यति ल्याकत छ तपाईंसँग ?

एकदम । जनमत पार्टीको मुटु म हुँ । सीके राउत दिमाग हुन सक्छन् । यदि मुटुलाई नै चल्न बन्द गरिदिनुहुन्छ भने जनमत पार्टी पनि मर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया