आफ्ना महत्त्वपूर्ण सहयोगीलाई एकजुट बनाउन देउवामाथि बढ्दैछ चुनौती
सारांश
- शेरबहादुर देउवा १५ औँ महाधिवेशनमा पार्टी नेतृत्वबाट बिदा हुनेछन्।
- देउवा समूहबाट कसले दाबी गर्छ भन्ने प्रस्ट नभएकाले समूह एकढिक्का बनाउन द्विविधा छ।
- १५ औँ महाधिवेशनमा देउवाको उत्तराधिकारी को बन्ने भन्ने चासो बढेको छ, तर धेरै नेताहरु आकांक्षी छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा १५ औँ महाधिवेशनसँगै पार्टी नेतृत्वबाट बिदा हुनेछन् । कांग्रेस विधानको दफा ५७ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैन’ भनिएको छ । दोस्रो कार्यकाल पार्टीको नेतृत्व गरिरहेका देउवा विधानको सोही व्यवस्था अनुसार देउवा १५ औँ महाधिवेशनबाट सभापति बन्न पाउने छैनन् ।
१५ औँ महाधिवेशनमा देउवा पक्षबाट सभापतिका लागि कसले दाबी गर्छ भन्ने प्रस्ट भइसकेको छैन । महाधिवेशनसम्म देउवाको टिम एकजुट रहन्छ कि रहन्न भन्ने पनि द्विविधामै छ । १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट सभापतिसहित १३ सदस्यीय पदाधिकारीमा एक उपसभापति (पूर्णबहादुर खड्का), ६ सहमहामन्त्री (महालक्ष्मी उपाध्याय ‘डिना’, भिष्मराज आङदेम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर) निर्वाचित भएका थिए ।
सभापतिले मनोनीत गरेर केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने कोषाध्यक्षमा पनि देउवाले आफ्नो पक्षकै उमेश श्रेष्ठलाई जिम्मेवारी दिए । यसबाट १४ सदस्यीय पदाधिकारीमा ९ जना देउवा समूहका छन् । नेताहरूका अनुसार केन्द्रीय समितिमा देउवाको ८० प्रतिशतभन्दा बढी पकड छ ।
अब देउवा पुनः नेतृत्वमा नआउने भएकाले उक्त समूहबाट कसलाई नेता मान्ने र कसरी समूहलाई एकढिक्का बनाउने भन्नेमा द्विविधा देखिन्छ ।
देउवा समूहमा संगठनमा पकड भएका नेता बालकृष्ण खाण बुधबार विराटनगरस्थित कोइराला निवासमा पुगेर सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । हामी सबै पार्टी सभापति शेरबहादुर देउवालाई सफल गराउन लागेका छौँ । पार्टी सभापति सफल हुनुभयो भने पार्टी सफल हुन्छ । सभापतिलाई सफल गराउन सकिएन भने पार्टीलाई गम्भीर धक्का लाग्छ भन्ने विश्वास मेरो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।’
उनको भनाइको अर्थ संस्थापन पक्ष एकजुट छ भन्ने हो । तर कोइराला निवासमा उनको उपस्थितिलाई लिएर केही नेताले ‘देउवाको साथ छाडेको’ भन्ने अर्थमा व्याख्या गर्न थालेका छन् ।
तर, देउवा गुटको भनेर ट्याग नलागेका निवर्तमान महामन्त्री डा. शशांक कोइराला भने औपचारिक रूपमै देउवा गुटमा भित्रिएका छन् । गत फागुन १ गते देउवाले १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गरेका नेताहरूको बैठक बोलाएका थिए, जसमा डा. शशांकसमेत उपस्थित भए । उनी देउवाको गुटगत बैठकमा त्यो दिन पहिलो पटक उपस्थित भएका थिए ।
त्यसपछि देउवाको गुटगत बैठकमा डा. शशांक लगातार उपस्थित हुँदै आएका छन् । यसअघि अप्रत्यक्ष रूपमा शशांकले १३ औँ र १४ औँ महाधिवेशनमा देउवालाई सघाए पनि गुटगत बैठकमा सहभागी भएका थिएनन् । उनी महाधिवेशनको समयमा पनि देउवाको प्यानलमा बसेका थिएनन् ।
त्यो बैठकमा डा. शशांकसहित उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू बालकृष्ण खाण, एनपी साउद र डा. प्रकाशशरण महत सहभागी थिए ।
कसरी अगाडि बढ्ने, कस्तो टिम बनाउने भन्ने थप प्रश्न नेताहरूबाट आएपछि देउवाले भनेका थिए, ‘यही टिमबाट अगाडि बढ्नुस्, समय आएपछि घोषणा गरेर अगाडि बढ्छु । १५औँ महाधिवेशन आउन समय छ । तपाईँहरू एकजुट हुनुस् । अहिले नै सभापतिमा को भनेर मैले घोषणा गरेको छैन । जो–जो भए पनि यही टिमबाट हुन्छ, तपाईँहरू ढुक्क भएर अगाडि बढ्नुस् ।’
त्यहाँ उपस्थित भएकामध्ये डा. कोइराला, खड्का, निधि, श्रेष्ठ, सिटौला र सिंह भने देउवाले आशीर्वाद दिएमा अहिलेको संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्ने आकाङ्क्षामा छन् । त्यो बैठकमा पनि उनीहरूले आफूमध्येबाट एक जनालाई सभापतिमा अगाडि बढ् भन्न देउवालाई सुझाव दिएका थिए । तर देउवाले कूटनीतिक जबाफ दिए, ‘कांग्रेस पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासत छन् । त्यसैले सबै पक्षलाई समेटेर बलियो र सुदृढ कांग्रेस बनाउन अहिले जे जिम्मेवारी छ, इमानदारिताका साथ अगाडि बढ्नुस् । आगामी दिनमा अझै पार्टीलाई सक्षम बनाउन अगाडि पनि यो टिमको महत्त्व छ ।’
कसरी अगाडि बढ्ने, कस्तो टिम बनाउने भन्ने थप प्रश्न नेताहरूबाट आएपछि देउवाले भनेका थिए, ‘यही टिमबाट अगाडि बढ्नुस्, समय आएपछि घोषणा गरेर अगाडि बढ्छु । १५औँ महाधिवेशन आउन समय छ । तपाईँहरू एकजुट हुनुस् । अहिले नै सभापतिमा को भनेर मैले घोषणा गरेको छैन । जो–जो भए पनि यही टिमबाट हुन्छ, तपाईँहरू ढुक्क भएर अगाडि बढ्नुस् ।’
देउवाले कूटनीतिक उत्तर दिएपछि नेताहरू भावी सभापतिमा देउवाबाट कसले आशीर्वाद पाउँछ भन्ने अनुमान लगाउन असमर्थ भएका छन् । त्यसपछि पनि कहिले कहिले ‘७ भाइ’, कहिले ‘तीन राजकुमार’ बैठक बस्ने गर्छन् । कांग्रेसमा तीन राजकुमार भनेर विश्वेश्वर प्रसाद कोइराला पुत्र डा. शशांक, महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र र गणेशमान सिंह पुत्र प्रकाशमान चिनिन्छन् । यस्तै सात भाइमा डा. शशांक, विमलेन्द्र, प्रकाशमान, डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, एनपी साउद र गोपालमान श्रेष्ठ छन् । उनीहरूले उपसभापति खड्कालाई पनि यो गुटमा थप्न पहल गर्दै आएका छन्, यद्यपि अहिलेसम्म खड्का त्यस्तो बैठकमा उपस्थित भएका छैनन् ।
निधिले केही समय अघि रातोपाटीलाई दिएको अन्तर्वार्तामा साथीहरूको सहयोग जुटाउन छलफल गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘१५ औँ महाधिवेशनमा उम्मेदवारको कुरा गर्दा कोही न कोही त उम्मेदवार भइहाल्छ । म १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएको थिएँ । १५ औँ महाधिवेशनमा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार हुन्छु, तर म एक्लैले उम्मेदवारी घोषणा गरेर त हुँदैन । साथ र सहयोगविना जितिँदैन । १४ औँ महाधिवेशनमा जितिएन पनि । तसर्थ साथीहरूको सहयोग जुटाउन छलफल गरिरहेका छौँ ।’
सकभर आफूहरूको प्रयास सहमतिमै सभापति चुन्ने रहेको निधिको भनाइ थियो । उनले भनेका थिए, ‘जतिसुकै चुनौती भए पनि सहमतिबाट १५ औँ महाधिवेशन सम्पन्न गर्नु हाम्रो पहिलो प्राथमिकता हुन्छ ।’
यति धेरैले आकाङ्क्षा राखेको पदमा कसरी सहमतिबाट सभापति चुन्न सम्भव हुन्छ भन्ने प्रश्नमा निधिको भनाइ थियो, ‘जति पनि सभापतिका लागि इच्छुक उम्मेदवार छन्, उनीहरूलाई एकै ठाउँमा बसाएर शेरबहादुरजीले नै म अब चुनाव लड्दिनँ, तपाईँहरू लड्नुस् तर मैले नेतृत्व हस्तान्तरण गर्दा सहमतीय प्रक्रियाबाट चुनिएको नेतृत्वलाई हस्तान्तरण गर्न पाए राम्रो हुन्थ्यो भन्दै छलफल प्रारम्भ गर्नुभयो भने सम्भव हुन्छ ।’
१३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई सहयोग गरेका नेता सिटौला १४ औँ महाधिवेशनमा आफू केन्द्रीय सदस्यमात्रै उठेर देउवालाई सभापतिमा जिताउन लागे । त्यसैले उनी पनि १५ औँ महाधिवेशनमा देउवाले आफूलाई उत्तराधिकारी बनाउँछन् कि भन्ने आसमा छन् ।
तर, यथार्थमा त्यो देखिन्न । एक त अहिलेको संस्थापनमै कुरा मिल्न गाह्रो छ । मिलिहाले पनि इतर समूहले मान्ने सम्भावना देखिन्न । १४ औँ महाधिवेशनमा देउवासँग उम्मेदवार बनेका इतर समूहका नेता डा. शेखर कोइराला १५ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने भन्दै देश दौडाहामा लागिसकेका छन् ।
संस्थापनमा उपसभापति खड्का स्वाभाविक दाबेदार हुन्, तर उनको संगठनमा पकड नभएको भन्दै अरु नेताहरू मान्न तयार छैनन् ।
डा. शशांक पनि देउवाले आफूलाई उत्तराधिकारी बनाउने आसमा औपचारिक रूपमा गुट प्रवेश गरेका छन् । उनलाई केही समयअघि चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूले सोधेका थिए, ‘नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ?’
जबाफमा शशांकले भनेका थिए, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’
१३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई सहयोग गरेका नेता सिटौला १४ औँ महाधिवेशनमा आफू केन्द्रीय सदस्यमात्रै उठेर देउवालाई सभापतिमा जिताउन लागे । त्यसैले उनी पनि १५ औँ महाधिवेशनमा देउवाले आफूलाई उत्तराधिकारी बनाउँछन् कि भन्ने आसमा छन् ।
निधि, सिंह र श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । तर, आफूहरूसँग मतदाता नभएकाले सभापतिको बार्गेनिङ गरेर उच्च तहको सार्वजनिक पद सुरक्षित गर्ने उनीहरूको दाउ रहेको नेताहरू बताउँछन् ।
मुख्य प्रतिस्पर्धीका रूपमा रहेका खड्का, डा. शशांक र सिटौलालाई मिलाउन नै देउवालाई फलामको च्यूरा चपाएसरह रहेको निकटस्थहरू बताउँछन् । नेतृत्वमा मात्रै होइन, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि अहिले रहेका नेताहरूलाई व्यवस्थापन गर्न संस्थापन पक्षलाई गाह्रो छ ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले देउवालाई आफ्नो उम्मेदवार छान्न गाह्रो रहेको बताए । केही अघि रातोपाटीसँग कुरा गर्दै उनले भनेका थिए, ‘१५ औँ महाधिवेशनमा आफू पार्टी सभापति बन्न विधानले नदिने भएपछि उनलाई यसपटक भने आफ्नो उम्मेदवार छान्न गाह्रो छ । किनकि प्रतिस्पर्धी धेरै छन् । ठ्याक्कै यही उम्मेदवार मेरो हो भन्दा नजिते गाह्रो हुन्छ भन्दै खुला छोडिदिन सक्छन् । जसले जित्छ, त्यही मेरो मान्छे भनेर बोल्न सक्छन् ।’
देउवाको मुख्य चासो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा परराष्ट्रमन्त्री रहेकी पत्नी डा. आरजु राणा देउवालाई पदाधिकारीमा व्यवस्थापन कसरी गर्ने भन्ने नै देखिन्छ । आरजुलाई देउवाले १५ औँ महाधिवेशनमा उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पद दिलाउन चाहन्छन् । धेरै नेता त्यो मान्न तयार नभएकाले पनि टिम एक रहनेमा गाह्रो रहेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण