‘संविधान संशोधन केपीजीले चाहनुभएको छैन’

समाचार सारांश
- नेपाली कांग्रेसको आगामी महाधिवेशन मंसिरमा नहुने संकेत देखिएको छ, पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार क्रियाशील सदस्यता टुंगो नलागेकाले यस्तो भएको हो।
- निधिसँगको कुराकानीमा महाधिवेशनको तयारीबारे छलफल गरियो, जसमा उनले आगामी महाधिवेशन २०८२ मा हुने सम्भावना कम रहेको बताए।
- निधिले कांग्रेसभित्रको एकता, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने विषयमा जोड दिँदै संविधान संशोधन र पार्टीको आगामी कार्यदिशाबारे आफ्नो धारणा राखे।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरसम्म हो ।
कांग्रेसले मंसिरमा महाधिवेशन गर्ने छाँटकाँट देखिएको छैन । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पनि आगामी मंसिरमा महाधिवेशन नहुने स्वीकार्छन् ।
‘क्रियाशील सदस्यता नटुङ्गिएकाले मंसिरमा महाधिवेशन हुने छाँटकाँट देखिन्न,’ निधिले भने ।
कांग्रेसको आन्तरिक राजनीति, राष्ट्रिय राजनीति, संविधान संशोधनलगायतका विषयमा पूर्वउपसभापति निधिसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, निधिसँग गरिएको कुराकानीको सम्पादित अंश–
- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार बन्नुभएको थियो । १५ औँ महाधिवेशनका लागि तपाईंको तयारी के छ ?
तयारीका लागि देशभर घुमिरहेको छु । हुम्ला, जुम्लालगायत कर्णालीमा घुमिसकेँ । गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका जिल्लामा घुमेर साथीहरूसँग कुराकानी गरिरहेको छु ।
२०८२ को मंसिरमा हाम्रो १५ औँ महाधिवेशन हुनुपर्ने हो । त्यो समयमा महाधिवेशन हुने छाँट छैन । नहुने निश्चितजस्तै छ । किनकि २०८२ साल सुरु भइसक्यो । नेपाली कांग्रेसको संरचना अनुसार महाधिवेशन हुनका लागि सबैभन्दा पहिला क्रियाशील सदस्यताको टुङ्गो लाग्नुपर्छ । ७ प्रदेश, ७७ जिल्लादेखि ६ हजार ७४३ वटा वडासम्म नेपाली कांग्रेसका क्रियाशील सदस्य को–को छन् ? उनीहरूको सदस्यता नवीकरण भएर केन्द्रीय कार्यालयले सूची प्रकाशित गर्नुपर्छ । त्यो नहुँदासम्म महाधिवेशनको प्रारम्भिक काम नै सुरुवात हुँदैन । त्यो काम अहिलेसम्म भएकै छैन ।
उम्मेदवार टुङ्ग्याउने वेला अहिले भएको छैन । हामी सबै अहिलेसम्म सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेताहरू हौँ ।
क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी सभापतिजीको भन्दा पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीहरूको हो । केन्द्रीय कार्यालयको जिम्मेवारी हो । क्रियाशील सदस्यता टुङ्ग्याउन भन्दै महामन्त्रीको संयोजकत्वमा समिति पनि बनाइसकिएको छ । समितिले ६ हजार ७४३ वडामा पार्टीका क्रियाशील सदस्यता लिएकाहरू यसप्रकार छन् भनेर पहिला सूची प्रकाशित गर्नुपर्छ । त्यो काम अहिलेसम्म भएको छैन । त्यो काम हामीले गराउने हो/होइन । हामीले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही काम गर्ने हो । क्रियाशील सदस्यता नटुङ्गिनु चिन्ताको विषय भएको छ ।
यसबारे छलफलका लागि हामी पूर्वपदाधिकारीहरू नेता गोपालमान श्रेष्ठको निवासमा बसेका थियौँ । यसअघि पनि हामी बसेका थियौँ ।
- गत फागुन २ गते तपाईंसहित ११ नेता गएर सभापति शेरबहादुर देउवालाई भेट्नुभयो । वैशाख ११ गते पूर्वमहामन्त्री डा. शशांक कोइराला निवासमा भेला हुनुभयो । हालै पूर्वउपसभापति श्रेष्ठको निवासमा भेला हुनुभयो । सबै मिलेर आगामी महाधिवेशनमा एक जनालाई सभापतिको उम्मेदवार बनाउने तयारी हो तपाईंहरूको ?
उम्मेदवार टुङ्ग्याउने वेला अहिले भएको छैन । हामी सबै अहिलेसम्म सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेताहरू हौँ । १४ औँ महाधिवेशनमा सभापतिमा म र प्रकाशमान सिंहजी लड्यौँ तर दोस्रो चरणमा त देउवाजीलाई नै साथ दिएका हौँ नि ! त्यसअगाडि सबै स्थानमा उहाँलाई नै साथ दिएका छौँ । तसर्थ देउवासँग नजिक भएका हामी पूर्वपदाधिकारी साथीहरू नेपालको राष्ट्रिय राजनीति, पार्टीको संगठन सुदृढीकरणबारे सभापति देउवासँग बेलाबखत भेटेर कुराकानी गरिरहन्छौँ । कहिले संयुक्त रूपमा भेट्छौँ, कहिले एक्लै भेट्छौँ ।
सभापतिबाहेक हामीहरू मात्रै पनि भेटघाट गर्छौं, कुराकानी गर्छौं । हामीले १५ औँ महाधिवेशन २०८२ मा हुन नसके पनि २०८३ मा गरिसक्नुपर्छ । अहिलेसम्म क्रियाशील सदस्यताको सूची टुङ्गो नलागेकोमा हाम्रो चिन्ता र चासो छ । त्यसबारे हामीले पदाधिकारीलाई पनि छिटोभन्दा छिटो क्रियाशील सदस्यता टुङ्ग्याउन आग्रह गरिरहेका छौँ । सभापतिलाई पनि बेलाबखत अनुरोध गरिरहेका छौँ ।
१५ औँ महाधिवेशनमा उम्मेदवारको कुरा गर्दा कोही न कोही त उम्मेदवार भइहाल्छ । म १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएको थिएँ । १५ औँ महाधिवेशनमा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार हुन्छु, तर मैले एक्लैले उम्मेदवारी घोषणा गरेर त हुँदैन । साथ र सहयोगविना जितिँदैन । १४ औँ महाधिवेशनमा जितिएन पनि । तसर्थ साथीहरूको सहयोग जुटाउन छलफल गरिरहेका छौँ । त्योभन्दा पहिला महाधिवेशनको प्रक्रियागत तयारी त गर्नु पर्यो नि ? भएकै छैन । तसर्थ उम्मेदवारको बारेमा छलफल गर्न धेरै समय छ । अझै डेढ वर्ष बाँकी छ, तर महाधिवेशनका प्रक्रियाबारे तयारी होस् भन्ने हामी चाहन्छौँ ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमाथि चुनौती आइरहेका छन् । नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी अझै सफल र सुदृढ बनाउने भन्नेतर्फ लाग्नुपर्छ ।
पार्टीभित्र एकता होस्, पार्टीभित्र सहमति होस् भन्ने मेरो चाहना छ । नेपाली कांग्रेसलाई २०८४ को निर्वाचनमा मत ल्याएर जिताउनुपर्छ । मत ल्याएर जिताउनुपर्छ भन्ने भाषण गरेरमात्रै हुँदैन । त्यसका लागि पार्टीभित्र एकता आवश्यक हुन्छ । पार्टीको संगठनलाई सुदृढ बनाउनुपर्छ । पार्टीमा एकता कायम गर्न र संगठन सुदृढीकरण गर्न अबको दिशा के हो कांग्रेसका लागि ? देशका लागि अबको दिशा के हो ? देशका लागि दिशा जे छ, त्यसका बारेमा पनि सैद्धान्तिक, वैचारिक, नीतिगत रूपले प्रस्ट र प्रतिबद्ध हुने, सोही अनुसार कांग्रेसको सैद्धान्तिक, वैचारिक र नीतिगत दिशा तय गरेर एकता निर्माण गर्ने काम गर्नुपर्छ । वैचारिक एकता नभइ हुँदैन ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमाथि चुनौती आइरहेका छन् । नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी अझै सफल र सुदृढ बनाउने भन्नेतर्फ लाग्नुपर्छ । यसका लागि संविधानमा संशोधन गर्नुपर्छ कि ! संविधान जारी भएपछि तीन वर्षभित्र बनाइसक्नुपर्ने कानुन अझै हामीले बनाइसकेका छैनौँ ।
संविधान संशोधनका लागि नेकपा एमालेसँग सहमति गरेर वर्तमान गठबन्धन सरकार निर्माण गरेका छौँ । संविधान संशोधनको प्रक्रिया सुरु भएकै छैन । मैले केही दिन अघि प्रतिनिधि सभामा गणतन्त्र दिवसको दिन (जेठ १५ गते) आर्थिक वर्षको बजेट ल्याउने दिन परिवर्तन गरौँ भनेर प्रस्ताव राखिसकेको छु । निष्कर्षमा पुग्न समय लाग्ने भए पनि छलफल सुरु हुनुपर्छ । छलफललाई पार्टीभित्र र देशभित्र राष्ट्रिय बहसको रूपमा अगाडि बढाएर हामीले आगामी कार्यदिशा तय गर्नुपर्यो ।
अबको बाटो के हो भनेर बिस्तारै बहस सुरु भएको छ । देशको राजनीतिक स्थितिको बारेमा अबको बाटो के हो ? कांग्रेसको लागि अबको बाटो के हो ? दुवै एक अर्काको पूरक हुनुपर्दछ । देशका लागि बाटो एउटा र कांग्रेसको लागि बाटो अर्को हुनुहुँदैन । अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याइसकेका छौँ । यसलाई अझ सबल बनाउने, अहिले भएका कमी–कमजोरी पहिचान गरेर संविधान संशोधन गर्ने, नयाँ–नयाँ कानुन निर्माण गरेर अगाडि बढ्न बाटो हामीले तय गर्नुपर्छ ।
- २०८२ सालको मंसिरमा महाधिवेशन हुन सक्दैन भनेर यहाँले पनि भन्नुभयो । हुन नसक्नाको मुख्य कारण के हो ?
क्रियाशील सदस्यताको टुङ्गो नलागेकाले महाधिवेशन हुन नसक्ने देखिएको हो । महाधिवेशन हुनका लागि पहिला कांग्रेसका मुलुकभर कति क्रियाशील सदस्य छन्, त्यो निर्क्यौल हुनपर्यो । त्यसपछि सूची प्रकाशित हुन्छ । त्यसमा चित्त नबुझेकाले निवेदन दिन्छन् । निवेदनमाथि पार्टीको छानबिन समितिले छानबिन गर्छ । दाबी विरोध हुन्छ । त्यसका लागि समय लाग्छ । यो काम पहिला भएपछि मात्रै कांग्रेसको वडा अधिवेशन सुरु हुन्छ । त्यसपछि पालिका हुँदै विभिन्न चरण पार गरेर केन्द्रको महाधिवेशनसम्म पुग्ने हो ।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सभापतिले गर्दैन । पार्टीको महामन्त्री र उपसभापति भइसकेको मान्छे भएकाले क्रियाशील सदस्यतासम्बन्धी काम गरेको छु ।
अहिलेसम्म प्रक्रिया नै सुरु नभएकाले ०८२ मंसिरमा महाधिवेशन हुने सम्भावना देखिन्न । २०८३ भित्र महाधिवेशन हुनैपर्छ भनेर हामीले भनिरहेका छौँ । पार्टीको विधानभन्दा माथि हेर्ने हो भने संविधान छ । संविधानमा हामीलाई ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भने ६ महिना थप्ने सुविधा दिएको छ । त्यो ६ महिनासम्म हामी पुग्नु हुँदैन ।
- एमालेसँग सत्ता गठबन्धन गर्ने सहमति गर्दा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवा २०८३ असार ३० गतेपछि प्रधानमन्त्री हुने भन्ने उल्लेख छ । त्यसैले त्यसवेलासम्म देउवाले महाधिवेशन गर्न चाहनुहुन्न भन्ने विषय पनि उठेको छ नि ?
उहाँले चाहनुहुन्न भन्ने आरोप अहिल्यै नलगाइहालौँ न । अहिलेसम्म क्रियाशील सदस्यता नवीकरण नै भएको छैन । कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सभापतिले गर्दैन । पार्टीको महामन्त्री र उपसभापति भइसकेको मान्छे भएकाले क्रियाशील सदस्यतासम्बन्धी काम गरेको छु । सभापतिको दोष यसमा हुँदैन । पदाधिकारीहरूले बनाउने कार्यक्रमका आधारमा क्रियाशील सदस्यताको टुङ्गो लाग्ने हो । तसर्थ सभापति देउवाले अहिले महाधिवेशन गर्न चाहनुहुन्न भन्दै दोष लगाउनुको अर्थ छैन ।
देउवा र वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सत्ता गठबन्धन निर्माण गर्दा भएको सहमतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को चरणमा प्रधानमन्त्री हुनुहुनेछ भन्ने लेखिएको छ । सहमतिअनुसार त्यो समय १३ महिनापछि आउँछ । म के भन्छु भने उहाँ सभापति भएकै अवस्थामा प्रधानमन्त्री हुने हो । त्यसमा कुनै बाधा पर्दै पर्दैन । कांग्रेसको महाधिवेशन २०८३ मा गर्नका लागि देउवा प्रधानमन्त्री बन्न भएको सम्झौताले कुनै अप्ठ्यारो पार्दैन । देउवाजी सभापतिको हैसियतमै प्रधानमन्त्री बन्नुहुनेछ । महाधिवेशनको कारणले कुनै अप्ठ्यारो पर्दैन । उहाँ प्रधानमन्त्री भएपछि सँगसँगै महाधिवेशन गर्नु पर्यो । त्यसको तयारी पनि सँगसँगै गरिराख्नुपर्यो ।
- तपाईंले सहमतिबाट अगाडि बढ्ने प्रयास गरिरहेको भन्नुभयो । १५ औँ महाधिवेशनमा सहमतिका आधारमा नयाँ नेतृत्वसहितको कार्यसमिति चुनिने सम्भावना कत्तिको छ ?
म त सहमतिका आधारमा होस् भन्ने चाहन्छु । १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको बेलामा पनि सहमतिबाटै पार्टी सभापति चुनियोस् भन्ने चाहेको थिएँ र प्रस्ताव पनि गरेको थिएँ । अहिले शेरबहादुरजी चुनाव लड्नुहुन्न । उहाँबाहेक जति पनि सभापतिका लागि इच्छुक उम्मेदवार छन्, उनीहरूलाई एकै ठाउँमा बसाएर शेरबहादुरजीले नै ‘म अब चुनाव लड्दिनँ । तपाईंहरू लड्नुस् तर मैले नेतृत्व हस्तान्तरण गर्दा सहमतीय प्रक्रियाबाट चुनिएको नेतृत्वलाई हस्तान्तरण गर्न पाए राम्रो हुन्थ्यो’ भन्दै छलफल प्रारम्भ गर्नुभयो भने सम्भव हुन्छ । सम्भावनाको कुरा हो, तर अहिले त समय बाँकी नै छ ।
- अहिले नै सभापतिमा उम्मेदवारी घोषणाको लहर हेर्दा त त्यस्तो सम्भावना होलाजस्तो देखिन्न नि ?
अहिलेसम्म कसैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । मिडियाले धेरैले सभापतिको उम्मेदवारी घोषणा गरे भनेका छन्, हामीलाई औपचारिक रूपमा कसैले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेको थाहा छैन । सभापति बन्न सबैले देशभर घुमफिर गरेर आ–आफ्नो साथीभाइसँग सरसल्लाह गर्दै हुनुहुन्छ । त्यो स्वाभाविक कुरा हो । कोसिस गर्ने हो । जतिसुकै चुनौती भए पनि सहमतिबाट १५ औँ महाधिवेशन सम्पन्न गर्नु हाम्रो पहिलो प्राथमिकता हुन्छ । सम्भव नभएमा निर्वाचनका माध्यमबाट नेतृत्व चुन्ने प्रक्रिया त छँदैछ ।
- कांग्रेस–एमाले गठबन्धनको मुख्य आधार संविधान संशोधन भनिएको थियो । सहमतिमा पनि त्यो विषय उल्लेख छ । तर ११ महिनासम्म संविधान संशोधनबारे प्रक्रिया सुरु भएको छैन । के कारणले रोकियो ?
संविधान संशोधन केपीजी (प्रधानमन्त्री केपी शर्मा ओली)ले चाहनुभएको छैन । उहाँले संविधान संशोधन २०८७ मा हुन्छ भनेर सार्वजनिक कार्यक्रममा भन्नुभयो । पटक–पटक प्रधानमन्त्रीको वक्तव्यमा आएको छ, कांग्रेसको वक्तव्यमा आएको छ । नीति तथा कार्यक्रममा आएको छ तर अहिलेसम्म संशोधनको औपचारिक प्रक्रिया सुरु भएको छैन । त्यो कसरी कहाँ रोकिएको हो, प्रधानमन्त्रीले जबाफ दिनुपर्छ ।
संविधान संशोधन राजनीतिक विषय हो । छलफल गर्दा पार्टीभित्र फरक–फरक धारणा आउँछन् ।
- विपक्षीहरू त भूमिसम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रिय सभामा बहुमत पुर्याउन नसकेपछि कांग्रेस–एमाले पछि हटे भनिरहेका छन् त ?
त्यो त दोस्रो कुरा हो । पहिलो प्रयास र सुरुवात त गर्नुपर्यो नि ! सुरुवात नै नगरी पास गर्ने विषयसम्म पुग्नु त भएन नि !
- संविधान संशोधनमा कांग्रेसभित्रै पनि मतैक्यता देखिँदैन नि ?
संविधान संशोधन राजनीतिक विषय हो । छलफल गर्दा पार्टीभित्र फरक–फरक धारणा आउँछन् । नेपाली कांग्रेस डेमोक्र्याटिक पार्टी हो । सैनिक अनुशासनजस्तै अनुशासनको पालना गर्ने कम्युनिस्ट पार्टीजस्तो होइन । कांग्रेसमा १०० थरी विचार आउँछन् । फरक–फरक विचार आउनु राम्रो कुरा हो । विचार नै नआउनु नराम्रो कुरा हो । ती विचारमाथि छलफल गर्दै ‘न्यारो डाउन’ गर्दै लैजानुपर्छ । जुन विषयमा सहमति हुन्छ, त्यसलाई अगाडि बढाउने हो । यो पार्टीभित्रको कुरा भयो । कांग्रेसमा मात्रै विचार आएर भएन । एमाले, माओवादीलगायतका पार्टीसँग पनि यसबारे छलफल गर्नुपर्यो । जबसम्म दुईतिहाइ पुग्दैन, तबसम्म संविधान संशोधन हुँदै हुदैन । दुई तिहाइ पुग्छ कि पुग्दैन भन्ने एउटा कुरा भयो । संविधान संशोधनको औचित्य र आवश्यकता के हो त्यसको अध्ययन गर्नुपर्यो । त्यसका लागि अग्रसरता लिनुपर्यो । विषयहरूको पहिचान गर्नुपर्यो । मस्यौदा गर्नुपर्यो । अनि पो सहमति जुटाउने र संख्याबारे छलफल गर्ने हो ।
छलफल नै प्रारम्भ नगर्ने अनि दुई तिहाइ पुग्दैन भनेर त हुँदैन । संविधान संशोधनको प्रक्रिया सुरु गर्ने भनेको संविधानको कुन–कुन धारामा के–के संशोधन गर्ने ? त्यो पहिलो पहिल्याउनु पर्यो । मानौँ कि कांग्रेसभित्र २५ विषयमा संविधान संशोधन गर्ने सहमति भयो भने एमालेले त्यो सहमति मान्छ भन्ने छैन । माओवादीले त्यो सहमति मान्छ भन्ने छैन । जनमत पार्टी, राप्रपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले मान्छ भन्ने छैन । तर कांग्रेसले विषय यी हुन् भनेर दलीय बैठकमा त राख्नु पर्यो नि । त्यसपछि न सहमतिका लागि कुराकानी हुन्छ ।
अहिले पार्टीभित्र पुरानो पुस्ता, नयाँ पुस्ता भन्ने थरीथरीको बहस चलिरहेको छ । म रुपान्तरणको पक्षमा छु ।
- कांग्रेसभित्र संविधान संशोधनको छलफल सुरु भएको छ कि छैन ?
अहिलेसम्म सुरु भएको छैन । व्यक्तिगत रूपमा कुराकानी भइरहन्छन् । संस्थागत रूपमा सुरु भएको छैन । मैले सभापतिजीलाई संविधान संशोधनबारे कार्यदल बनाउँ भनेर पटक–पटक भनेँ तर उहाँले केही प्रक्रिया अगाडि बढाउनु भएको छैन ।
- अन्त्यमा सोध्न छुटाएको यहाँले भन्नु पर्ने केही विषय छ कि ?
अहिले पार्टीभित्र पुरानो पुस्ता, नयाँ पुस्ता भन्ने थरीथरीको बहस चलिरहेको छ । म रुपान्तरणको पक्षमा छु । अहिले रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको छ । म भन्छु– रुपान्तरणको आधारमा नै पुस्तान्तरण र हस्तान्तरण हुन्छ ।
रुपान्तरण भएन भने हस्तान्तरण र पुस्तान्तरणको कुनै अर्थ छैन । पुस्तान्तरणसहितको रुपान्तरण होइन कि रुपान्तरणसहितको पुस्तान्तरण हो । अहिले देशमा राजनीतिक रुपान्तरण भएको छ । राजतन्त्रको ठाउँमा गणतन्त्र आएको छ । एकात्मक शासन प्रणालीको ठाउँमा संघीयता आएको छ । समावेशीको ठाउँमा समावेशी आएको छ । एउटै निर्वाचन प्रणालीको ठाउँमा मिश्रित निर्वाचन प्रणाली आएको छ । हिन्दु राज्यको ठाउँमा धर्मनिरपेक्षता आएको छ । यो रुपान्तरण हो । यो रुपान्तरणले सामाजिक, शैक्षिक, आर्थिकलगायतका सबै दिशामा थप रुपान्तरण खोज्नुपर्छ ।
अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्दै यसलाई जनताको पक्षमा देशको पक्षमा परिणाम ल्याउन थप के–के रुपान्तरण गर्नुपर्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा
-
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू
-
विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?