शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्माणमा सुस्तता

सूर्यविनायक–धुलिखेल सडक : साढे दुई वर्षमा एक किलोमिटर कालोपत्र

धुलो र हिलोले सास्ती, म्यादभित्र काम सकिन गाह्रो
बिहीबार, ०८ साउन २०८२, २२ : ०७
बिहीबार, ०८ साउन २०८२

सारांश

  • सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम निर्धारित समयमा नसकिने देखिएको छ, जम्मा एक किलोमिटर कालोपत्रे भएको छ।
  • सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण घर टहरा हटाउनु र बिजुलीका पोलहरू सार्नु रहेको छ।
  • सडक खण्डलाई ६ लेनमा विस्तार गर्न भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरिएको छ।

काठमाडौँ । सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य म्यादभित्र नसकिने निश्चित देखिएको छ । अरनिको राजमार्गअन्तर्गत यो सडक ६ लेनमा विस्तार गर्न थालिएको साढे दुई वर्ष बितिसक्दा जम्मा एक किलोमिटर कालोपत्र गरिएको छ । 

निर्माणमा भएको चरम ढिलाइका कारण यो राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रु तथा स्थानीयले दैनिक धुलो र हिलोको सास्ती खेप्दै आएका छन् । आयोजना आफैँले पुससम्मको म्यादमा काम सम्पन्न गर्न गाह्रो भएको स्विकारिसकेको छ ।

यस सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले भने, ‘म्यादभित्र सकाउन अलि गाह्रो–गाह्रो देखिन्छ । पुससम्म म्याद छ । अलि गाह्रै हुन्छ किजस्तो छ । पानी कहिलेसम्म पर्छ, पेमेन्टकै काम छ । पानी पर्‍यो भने डिस्टर्ब भइहाल्छ ।’ 

  • साढे दुई वर्षमा एक किलोमिटर कालोपत्र

१५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । 

खनालका अनुसार धुलिखेल बाँसघारीदेखि धुलिखेल बजारसम्म कालोपत्र भएको छ । अरू सडकमा स्ट्रक्चर र नालीका कामहरू भइरहेका छन् । ‘अर्को एक किलोमिटरको लागि तयारी गरेर सब–बेस गरिसकेको थियौँ,’ लगातार परेको पानीले काम गर्न सकिएको छैन,’ उनले बताए । यो सडक कालोपत्र गर्न आसपासका संरचना, विद्युत्का पोल हटाउने कार्य भने लगभग सकिएको छ । 

सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनम विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । सोहीअनुसार दुई निर्माण कम्पनीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस २४ गते निर्माण सम्झौता भएको थियो ।

suryabinayak-dhulikhel-highway-(3)_U55I45QR7X

  • पुसयता काम भएन 

सूर्यविनायक–धुलिखेल सडक खण्डमा सात महिनायता काम भएको देखिँदैन । ७.५ किलोमिटर दूरी रहेको पहिलो खण्ड सूर्यविनायक–साँगा सडक विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । यो खण्ड निर्माणका लागि आशीषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का लिएको हो ।

हालसम्म यो खण्डमा ३७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । यो खण्डको प्रगति पुसमै ३७ प्रतिशत पुगिसकेको थियो । त्यसयता भने कुनै काम बढेको छैन । 

यस्तै यो खण्डमा कुल लागतको ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

  • साँगा–धुलिखेल खण्ड ५० प्रतिशत निर्माण

साँगा–धुलिखेल सडक खण्डअन्तर्गत ८.३ किलोमिटर सडक छ । यो सडक खण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो खण्ड निर्माणका लागि लामा कन्स्ट्रक्सन प्रालिले सम्झौता गरेको छ । 

suryabinayak-dhulikhel-highway-(6)_10mLMenJgP

यो सडक खण्डमा हालसम्म  ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । साथै वित्तीय प्रगतिको स्थिति हेर्ने हो भने ४५ प्रतिशत भएको देखिन्छ ।

यी दुवै खण्डमा तीन वटा पुल निर्माणधीन अवस्थामा छन् । तीन वटै पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीसँग २०७९ चैतमा ठेक्का सम्झौता गरिएको थियो । यी तीन पुलको कुल लागत करिब एक अर्ब अनुमान गरिएको छ । यीमध्ये बनेपाको पुन्यमाता खोलामा बनाइने पुलको डिजाइनमा समस्या हुँदा ढिला भएको छ । 

इन्जिनियर खनालका अनुसार जगाती खोला र महादेव खोलामा पुल निर्माण भइरहेको छ ।

  • सडकमा विस्तारमा ढिलाइ हुनुको कारण 

यो सडक खण्ड विस्तारमा ढिलाइ हुनुको मुख्य कारण घर टहरा नै भएको खनालले बताए । 

‘पहिला घर टहरा हटाउन समस्याका कारण गर्दा ढिला भयो । ढल, खानेपानी, रूखहरू काट्नुपर्ने थियो । यो रिलोकेसनको कामले ढिला भयो, अब खासै धेरै समस्या छैन,’ उनले भने, ‘ठाउँ–ठाउँमा अलिकति बस स्ट्यान्ड चाहियो, हाम्रो मागअनुसार इन्टरसेक्सन हुनुपर्छ । बनेपा बजारमा सेन्टर लाइनको कारण २ सय मिटर आसपासमा रोकिरहेको अवस्था छ ।’

suryabinayak-dhulikhel-highway-(8)_BIBaIuvCFW

अहिले लगभग समस्या समाधान भइसकेको उनको भनाइ छ । ‘घर–टहराहरू हटाउन बाँकी थियो, यो बिचमा अधिकांश हटाइयो । अब केही बिजुलीका पोलहरू छन् । पोल हटाउन हामीले पत्राचार गरिरहेका छौँ, बारम्बार ताकेता गरिरहेका छौँ,’ उनले जानकारी दिए । 

सूर्यविनायकदेखि धुलिखेलसम्म करिब ८० वटा जति टहरा हटाइएको छ । सडक सीमाभित्र बनेको हुनाले सरकारले यी घरटहराका लागि मुआब्जा नदिने निर्णय गरेसँगै विनामुआब्जा हटाइएको उनले जनाकारी दिए ।

साँगा–धुलिखेल खण्डअन्तर्गत बनेपा बजारमा बिजुलीका पोल हटाउन बाँकी छ । मनसुन अवधिभरि पोलहरू हटाएर मनसुन सकिने बित्तिकै अरू कामहरू अघि बढाउने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप