गृहमन्त्री लेखक र पर्यटन मन्त्री पाण्डेबिच मझगाउँ विमानस्थलबारे छलफल
सारांश
- गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेबीच मझगाउँ विमानस्थल पुनः निर्माणबारे छलफल भयो।
- मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सकिएको छ, र चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ।
- विमानस्थल पुनः निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारको साझेदारी रहेको छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेबिच शुक्रबार कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ ।
विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनः निर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबिच छलफल भएको हो । उनीहरूसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उप महानिर्देशक इन्जिनियर बाबुराम पौडेललगायतको सहभागिता थियो ।
विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “विमानस्थल पुनः निर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो”, गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने, “विमानस्थल पुनः सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिबद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ ।”
मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि रु पाँच करोड र रन्वे निर्माण गर्न रु १३ करोड ३० लाख बजेट सङ्घीय सरकारले विनियोजन गरेको छ ।
“बजेटको सीमितताबिच मझगाउँ विमानस्थल पुनः निर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौँ”, पर्यटन मन्त्री पाण्डेले भने, “विमानस्थल पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ ।”
मझगाउँ विमानस्थलको दीर्घकालीन महत्त्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनः निर्माण र पुनः सञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए । “ सङ्घीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ”, उनले भने, “प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनः निर्माणमा साझेदारी गरेका कारण काम द्रुतगतिमा अघि बढेको छ ।”
कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनः निर्माणमा गति पाएको हो । “दक्षिणतर्फ नेपाली सेना र रत्न पाटीकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ”, गृहमन्त्री लेखकले भने, “विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ ।”
केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनः निर्माणमा कुनै समस्या नहुने बताएका थिए। एक हजार ५ सय २५ मिटरको रन्वे निर्माण गर्ने क्रममा नेपाली सेनाले एक सय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ । रन्वे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण