सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
सारांश
- खोटाङ जिल्ला ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट ४९ लाख ३१ हजार ५०० राजस्व संकलन गरेको छ।
- ट्राफिक नियम उल्लंघन गर्ने ५,७४७ सवारी साधन कारबाहीमा परेका थिए, जसमा अधिकांश कार, जिप, भ्यान थिए।
- सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३३ दुर्घटनामा १३६ जना घाइते भएका छन्।
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१–८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व रकम सङ्कलन भएको हो ।
जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा रु ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाइकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु पाँच लाख २० हजार, १३६ वटा बसबाट रु एक लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिए ।
यस्तै, ९८ वटा ट्रिपरबाट रु ८६ हजार ५००, ३५७ ट्र्याक्टरबाट रु दुई लाख ८२ हजार, ११७ वटा टेम्पो कारबाहीबाट रु एक लाख पाँच हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दा सबैभन्दा बढी गत वर्षको कात्तिक महिनामा रु सात लाख ५१ हजार ५०० राज्यकोषमा राजस्व सङ्कलन भएको जनाइएको छ । कात्तिक महिनामा साना–ठूलागरी ८४४ वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष ०८१–८२ मा सवारीसाधन दुर्घटनाबाट छ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रनाउ विष्टले दिनुभएको जानकारीअनुसार जिल्लाका विभिन्न ठाउँ तथा विभिन्न समयमा भएको १३३ वटा सवारी दुर्घटनामा १३६ जना घाइते भएका छन् ।
बिना अनुमतिपत्र सवारी चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, मोटरसाइकल चालकले हेलमेट नलगाएको तथा नम्बर प्लेट उल्लेख नभएको सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालक, सहचालक र सवारीधनीलाई कारबाहीसँगै दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियम पालनासम्बन्धी जानकारी दिन विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने गरिएको जनाइएको छ ।
जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारीसाधन बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ । यात्रुबाहक सानारठूला जुनसुकै सवारीसाधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडकका लागि सवारी अनुमतिपत्र) लिनुपर्ने कानूनी प्रावधान रहेको छ ।
रुट पर्मिट नभएका सवारीसाधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएको खण्डमा ती यात्रुले क्षतिपूर्ति पाउँदैनन् । बिना रुट पर्मिट सञ्चालित यातायातमा सवार व्यक्ति दुर्घटना भएर घाइते भएको खण्डमा उपचार खर्च स्वयं व्यक्ति तथा परिवारले व्यहोर्नुपर्ने सवारी नियममा उल्लेख रहेको जनाइएको छ ।
विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमा बोकेर ल्याइएको सवारीसाधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा सानारठूलागरी करिब तीन हजारको हाराहारीमा यातायातका सवारीसाधन सञ्चालनमा रहेका छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गले छोएको यो जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जिल्लामा यातायातका सवारीसाधन प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण