विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- काठमाडौँ, ललितपुर र झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- काठमाडौँमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक फरार छन्।
- ललितपुर, झापा र काभ्रेमा भएका दुर्घटनामा पैदलयात्री, साइकलयात्री र मोटरसाइकलमा सवार एक-एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । काठमाडौँ, ललितपुर, झापा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा.७५ प १९४४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सो दुर्घटनामा ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ घर भएका ३८ वर्षीय रामकृष्ण बजगाईको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।
त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.४ ख २४७७ नम्बरको मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको दमक नगरपालिका– ४ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको बसको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ घरघरे बस्ने ६० वर्षीय सोम बहादुर विकको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता काभ्रेको पनौती नगरपालिका–३ बगुवास्थित सडकमा कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा.६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण