बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेशमा सत्ता संकट

संसदीय दलको नेता नभएपछि मुख्यमन्त्रीको वैधानिकता रहँदैन : राजन केसी

आइतबार, ११ साउन २०८२, २२ : ०६
आइतबार, ११ साउन २०८२

सारांश

  • राजन केसीले मुख्यमन्त्रीको वैधानिकता संसदीय दलको नेता नभए समाप्त हुने बताए।
  • बागमती प्रदेशमा अविश्वासको प्रस्ताव पास भए मुख्यमन्त्री लामाको पद गुम्ने केसीको भनाइ छ।
  • कांग्रेसका सांसदहरूले लामालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, केन्द्रले समाधान खोज्ने प्रयास गर्नेछ।

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नभएको खण्डमा मुख्यमन्त्रीको वैधानिकता रहन नसक्ने बताएका छन् ।

बागमती प्रदेशको सत्ता सङ्कटको चुलिँदो अवस्थामा रहेका बेला यहाँ दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडी बढाउन प्रदेश राजधानी आएका केसीले अविश्वासको प्रस्ताव पास भए मुख्यमन्त्री बहादुरसिंह लामाको वैधानिकता समाप्त हुने स्पष्ट पारेका हुन् ।

उनले प्रदेश संसदीय दलमा दर्ता गरिएको अविश्वास प्रस्ताव पास भए लामा मुख्यमन्त्री रहने नैतिक र संवैधानिक आधार सकिने दाबी गरे । ‘कांग्रेसको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट व्यवस्था छ । त्यसका आधारमा संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव पारित भए बहादुरसिंह लामा मुख्यमन्त्री रहन सक्नुहुन्न,’ केसीले भने ।

कांग्रेस प्रदेश संसदीय दलका ३७ सांसदमध्ये २१ जनाको हस्ताक्षरसहित दलको नेताबाट लामालाई हटाउने निर्णय गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेता केसीका अनुसार अविश्वास प्रस्तावबारे टुङ्गो लगाउन पार्टी केन्द्रले उनलाई प्रदेशमा प्रतिनिधिका रूपमा प्रदेशमा पठाएको हो ।

‘केन्द्रको निर्देशनमा म यहाँ आएको हुँ । छलफलका लागि सोमबार १ बजे बैठक बोलाइएको छ,’ उनले जानकारी दिँदै भने, ‘सबै सांसदसँग संवाद गरेर समस्याको समाधान खोज्ने प्रयास गरिने छ । यदि सहमति भएन भने मत विभाजनबाट टुङ्गो लाग्नेछ ।’ 

अविश्वासको प्रस्तावमा ५१ प्रतिशतको समर्थन भएमा प्रस्ताव पारित हुने र त्यसअनुसार नयाँ राजनीतिक कोर्स तय हुने उनले स्पष्ट पारे ।

उनका अनुसार अहिलेको गठबन्धन पनि केन्द्रकै पहलमा बनेको हो, त्यसैले नयाँ नेतृत्वबारे केन्द्र र अन्य दलसँगको सहकार्यमा नयाँ बाटो तय गरिनेछ । मुख्यमन्त्री लामाले भने आफू गठबन्धन सरकारको नेतृत्व गरिरहेको भन्दै राजीनामा नदिने अडान राखेका छन् । तर केसीले भने, ‘यदि उहाँ संसदीय दलको नेता नै रहनुभएन भने वैधानिक र नैतिक आधार सकिन्छ । उहाँले राजीनामा दिनु राम्रो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप