शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
हिरासतमै मृत्यु

प्रहरी हिरासतमा मृत्यु : निर्घात कुटपिटपछि हत्या गरिएको परिवारको आरोप

प्रहरी भन्छ – लागुऔषधको ओभर डोजले मृत्यु भयो
सोमबार, १२ साउन २०८२, १८ : ४३
सोमबार, १२ साउन २०८२

सारांश

  • इटहरीका एक युवकको धरानस्थित प्रहरी चौकीमा मृत्यु, परिवारले हत्याको आरोप लगाएको छ।
  • प्रहरीले लागुऔषध ओभरडोजका कारण मृत्यु भएको बताएको छ, तर परिवारले कुटपिटको आरोप लगाएको छ।
  • युवकका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र परिवारले निष्पक्ष छानबिनको माग गरेको छ।

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । 

चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज भएर ब्रेन ह्यामरेज भएको पोस्टमार्टम रिपोर्ट आएको बताएका छन् । ‘हामीलाई पनि डर थियो । तर,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको पोस्टमार्टम रिपोर्टले लागुऔषधको डोज बढी भएको भनेर दिएको छ,’ तिम्सिनाले भने, ‘मृतकका आफन्त र परिवारजनलाई डाक्टरले ब्रिफिङ गरिसक्नुभएको छ ।’ 

यही साउन ९ गते साँझ युवराज निरौला र उनका साथी धरान जाँदै थिए, तर तीनकुने प्रहरी चौकीको चेकजाँच गरेको थियो । त्यसक्रममा लागुऔषध सहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । उता मृतकका भाइ सन्तोष निरौलाका अनुसार प्रहरीले सुरुमा पक्राउ गरेको र पछि घाइते भएको खबर दियो । उनी भन्छन्, ‘राति २ बजे अस्पताल पुग्दा दाइको टाउकोबाट रगत बगिरहेको थियो, उहाँ अचेत हुनुहुन्थ्यो । चिकित्सकहरूले टाउकोमा गहिरो चोट र रगत जमेका कारण मृत्यु भएको बताए । यो सरासर हत्या हो ।’ 

प्रहरीले लागुऔषध भेटिएपछि ८ हजार रुपैयाँ घुस मागेको परिवारको दाबी छ । युवराजका साथीले ३ हजार दिएका तर युवराजसँग पैसा नहुँदा विवाद भएको र प्रहरीले बुट र हातले छाती र टाउकोमा निर्घात प्रहार गरेको परिवारले भनेको छ । 

यता प्रहरीले भने यी सबै आरोप अस्वीकार गरेको छ । धरानका डीएसपी प्रकाश जवेगुले लागुऔषध सेवन गरेका युवराज पक्राउ पर्ने डरले भाग्ने क्रममा लडेर घाइते भएको दाबी गरेका छन् । तर, घटनाका एक मात्र प्रत्यक्षदर्शी र युवराजका साथी दीपक कटुवाललाई प्रहरीले झुटो हल्ला फैलाएको भन्दै नियन्त्रणमा राखेको छ ।

परिवारले भने सत्यतथ्य दबाउन प्रहरीले दीपकलाई बन्धक बनाएको आरोप लगाएको छ । न्यायको माग गर्दै परिवारजन इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप